अग्युरोले बनाए ह्याट्रिकमा कीर्तिमान

म्यानचेस्टर सिटीका कीर्तिमानी स्ट्राइकर सर्जियो अग्युरोले एलन शिएररको कीर्तिमानसँग बराबरी गरेका छन् ।

अग्युरोले इंग्लिस प्रिमियर लिग फुटबलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमानमा शिएररसँग बराबरी गरेका हुन् ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ६–० ले हराउने क्रममा अग्युरोले ह्याट्रिक गर्दै कीर्तिमानमा बराबरी गरेका हुन् ।

अग्युरोले खेलको १३, १९ र ५६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले प्रिमियर लिगमा गरेको यो ११ औँ ह्याट्रिक हो । शिएररले पनि ११ वटा ह्याट्रिक गरेर कीर्तिमान बनाएका थिए ।

अग्युरोले घरेलु मैदानमा भएका पछिल्ला दुई खेलमा लगातार ह्याट्रिक गरेका छन् । यसअघि उनले घरेलु मैदानमा भएको खेलमा आर्सनललाई ३–१ ले हराउने क्रममा पनि ह्याट्रिक गरेका थिए ।

प्रिमियर लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको सूचिमा ११ ह्याट्रिक गरेका अग्युरो र शिएरर शीर्षस्थानमा छन् ।

९ ह्याट्रिक गरेका रोबी फोव्लर दोस्रो, ८ ह्याट्रिक गरेका माइकल ओवेन, ह्यारी केन र थिएरी हेनरी तेस्रो, सात ह्याट्रिक गरेका वायने रुनी चौथो तथा ६ ह्याट्रिक गरेका लुइस स्वारेज पाँचौँ स्थानमा छन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्