नेपालगञ्जमा ४५ करोडको सभा हल शिलान्यास

नेपालगञ्ज – नेपालगञ्जमा सभा हल बन्ने भएको छ । ४५ करोडको लागतमा आठ सय सीट क्षमताको सभा हल निर्माण हुने भएको हो । नेपालगञ्ज–१४, भवानीयापुरमा बनाउन थालिएको सभा हलको सोमबार शहरी विकास मन्त्री इस्तियाक राईले शिलान्यास गरे । सोही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका राईले चालु आर्थिक वर्षमा बाँकेमा सात सय करोडका योजना अघि सारेको बताए ।

‘प्रधानमन्त्री केपी ओलीको क्षेत्रमा चौध सय करोडको योजना अगाडि सारिएको कुरा छ । प्रचण्डको निर्वाचन क्षेत्रमा चार सय करोडका योजना परेका छन्,’ शहरी विकास मन्त्री राईले भने, ‘मेरो निर्वाचन क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा दुई सय करोडको योजना छन् । सबैले मिलेर काम गर्नुपर्छ ।’

विज्ञापन

उनले सभा हल, बाल उद्यान, पिकनिकस्थल, भेरी अञ्चल अस्पताललाई अत्याधुनिक बनाउने, मन्दिर, मस्जिद, गुरुद्वाराका लागि बजेट छुट्याएको बताए । भेरी अञ्चल अस्पताललाई पाँच सय शैयामा बृद्धि गरी वातानुकित अस्पतालको रुपमा विकास गरिदैछ ।

मन्त्री राईले नेपालगञ्जलाई नमूना शहरको रुपमा विकास गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले शिलान्यास गरेको सभा हल समयावधि भन्दा चाडै सकेर पुरस्कारसमेत लिन ठेकेदार कम्पनीलाई आग्रह गरे । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले विकासमा कुनै प्रकारको बाधा अड्चन आउन नदिने उद्घोष गरे ।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू