प्रधानमन्त्री ओली भन्छन्

‘सरकारको कामकारबाही ठीकठाक छ, स्वार्थ समूहले निराशा फैलाइरहेको छ’

काठमाडौँ-सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मत भेद सार्वजनिक भएका बेला त्यसका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा ठीकठाकै भए पनि स्वार्थले ओतप्रोत केही समूहले जनतामा निराशा फैलाएर उनीहरुको भावनात्मक पक्षमा खेलवाड गर्न थालेको अभिव्यक्ति दिएका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका पाँच प्रभावशाली नेताहरुको झम्सिखेलको गौप्य बैठकदेखि भेनेजुयला प्रकरणमा दाहालले दिएको अभिव्यक्तिबाट रुष्ट बनेका प्रधानमन्त्री ओलीले सरकारको कामकारवाही जनताले मन पराए पनि उनीहरुलाई निराश बनाउन स्वार्थी समूह जुटेको बताएका छन्।

विज्ञापन

गृहमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीलाई जनताले राम्रो काम गर्ने अवसर प्रदान गरेका छन् र उनीहरुको त्यो अवसरलाई हामीले उच्च सम्मान गर्दै अघि बढेका छौँ तर पनि उनीहरुलाई निराश बनाउने र अमर्यादित काम गर्ने प्रयास केही स्वार्थी समूहबाट भएको छ। त्यसलाई परास्त गर्नुको विकल्प छैन।’

प्रधानमन्त्री ओलीले विकास निर्माण र शान्ति सुरक्षा सरकारको पहिलो प्राथमिकता भएपनि त्यो नबुझेको जस्तो गरी जनतालाई भाँड्ने काम भएको बताए । तर त्यो स्वार्थी समूहबारे पनि उनले कुनै किटान गरेनन्।

लामो संक्रमणकालपछि नेपाललाई आफूहरुले उज्यालो बनाउने सपना देखेको तर अन्धरकारमा धकल्ने प्रयास पनि केही समूहबाट भइहरेको प्रधानमन्त्री ओलीको भनाई थियो।

नेपालमा आगामी एक महिनापछि अर्थात चैत्रको दोस्रो साता हुन लागेको लगानी सम्मेलनलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने,‘त्यही सम्मेलन पनि हुन नदिन षड्यन्त्र भइरहेको छ।’

प्रधानमन्त्री ओलीले बढीभन्दा बढी लगानी भित्र्याउने र विदेश पलायन भएका युवालाई स्वदेश फर्काउने योजना सरकारको भए पनि त्यसमा खलल पुर्‍याउने कोशिस भएको बताए। उनले अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने जस्ता अनैतिक प्रवृति मौलाएको भन्दै त्यसलाई रोक्ने सरकारले पनि उचित कदम चाल्ने बताए।

एक अर्को प्रसंगमा सरकारी स्वच्छ र पारदर्शी ढंगमा अघि बढेर जनताको सेवामा  लाग्‍न सम्बन्धित सबैलाई  निर्देशन समेत प्रधानमन्त्री ओलीले दिएका छन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्