सेवा, सुविधा कटौतिविरुद्ध सरकारी चिकित्सकहरु सडकमा

काठमाडौं- संघीय सरकारको मातहत रहने गरी समायोजन गर्न सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले सोमबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन्।

सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को आह्वानमा सोमवार पनि सरकारी चिकित्सकहरुले काठमाडौंको वीर अस्पतालबाट रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मूलगेटसम्म र्‍यालीसहितको प्रर्दशन गर्दै आफूहरुको माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिएका हुन।

सरकारले आफूहरुको वृत्ति विकास तथा सेवा, सुविधा कटौति हुने गरी प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी विधेयक ल्याएपछि त्यसको विरोधमा प्रर्दशन गर्नु परेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिए।बढुवा हुने, अध्ययन गर्नेलगायतका सेवा, सुविधा कटौति हुने गरी सरकारले समायोजनमा लगेकोमा सरकारी चिकित्सकहरुको आपत्ति छ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सरकारी चिकित्सकहरुको माग अनुसार समायोजन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले सरकारी चिकित्सकहरुको माग सम्बोधन हुनेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनु भएको हो।

उनले सञ्‍चारकर्मीमाझ सरकारी चिकित्सकहरुको वृत्ति विकासलगायतका विषयमा अवरोध आउन नदिन मुख्यसचिव लोकदर्शन रेग्मीको पनि आफूले ध्यानाकर्षण गराइएको पनि बताए।

सरकारी चिकित्सकहरुले संघीय सरकार मातहत राखेर आफूहरुलाई समायोजन गर्न माग गर्दै आईतबार स्वास्थ्य मन्त्रालय घेराउ गर्दा प्रहरीले धरपक्कड गरेको थियो।

प्रर्दशनमा उत्रिएका सरकारी चिकित्सकहरुले आफूहरुको शान्तिपूर्ण विरोध प्रर्दशन गर्न पाउने अधिकारबाट पनि बञ्चित गराउने प्रयास सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्