डिपिएल क्रिकेटमा पहिलो दिन : रुपन्देहीसँग दुई रनले हार्‍यो महेन्द्रनगर

काठमाडौँ- धनगढीमा सोमबारदेखि सुरु भएको धनगढी प्रिमियर लिग-डिपिएल क्रिकेटमा रुपन्देही च्याले‍न्जर्सले दुई रनको जित हात पार्दै विजयी सुरुवात गरेको छ। रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई झिनो अन्तरले हराएको हो। पहिला ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ११ रन जोडेको थियो।

महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ९ रनमात्र जोड्न सक्यो। महेन्द्रनगरका सुब्रमनियन आनन्दले सर्वाधिक २५ रन जोडे। रोहित पौडेलले २४ र मोहम्मद नाविदले १२ रन बनाए। विकेटकिपर दिलिप नाथले ८, कप्तान शरद भेषावकरले चार, कुशल मल्ल ९ र आरिफ शेख पाँच रनमा आउट भए। सिद्धान्त लोहनीले खाता खोल्न सकेनन्।

विक्रम सोबले ३, पुनित मेहराले दुई तथा ललितसि‌ंह भन्डारी,कृष्ण कार्की र बसन्त रेग्मीले एक एक विकेट हात पारे। विक्रमले ३ ओभरमा २४ रन र पुनितले ४ ओभरमा १३ रन खर्चिए। बसन्तले ४ ओभरमा एक मेडन राखेर ८ रनमात्र दिए। त्यसअघि रुपन्देहीका सुमित महर्जनले २७, विनोद भन्डारीले १९, सोबले १६, सन्दीप सुनारले १५ र बाबर हायातले १४ रन बनाए। अलराउन्ड प्रदर्शन गरेका बिक्रम प्लेयर अफ दी म्याच घोषित भए।

सोमबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले हरायो। पहिला ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३२ रन जोडेको थियो। अमित श्रेष्ठले ५०, सन्दीप रजालीले २८, सौरभ खनालले २५ र पवन सर्राफले १९ रन बनाए। काठमाडौँले एक बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

काठमाडौँका अ‌ंकित दबासले २९,गौरव तोमारले २८ र अनिल शाहले २४ रन बनाए। विक्रम भुसालले १४ र मेहबुब आलमले १२ रन बनाए। धनगढीका रोहन मुस्ताफा एक्लैले चार ओभरमा २७ रन खर्चिएर चार विकेट हात पारेपनि टोलीको हार टार्न सकेनन्। अलराउन्ड प्रदर्शन गरेका दबास प्लेयर अफ दी म्याच घोषित भए।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्