पोखरा महानगरपालिकाले अपाङ्गता परिचयपत्र दिन सुरु गर्‍यो, पुष्करराजले पाए रातो कार्ड

पोखरा-पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण सुरु गरेको छ।

पोखरा महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले संयुक्त रुपमा पोखरा २३ का पुष्करराज उपाध्यायलाई पूर्ण अपाङ्ताको (रातो)परिचयपत्र प्रदान गरे।

प्रक्रिया पुगेर आएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिको आधारमा परिचयपत्र वितरण गरिएको हो।

‘सरकारले अपाङ्गताको वर्गीकरण गरेको छ,’ उपमेयर गुरुङले भनिन्, ‘हामीले त्यही कार्यविधिले व्याख्या गरेका आधारमा परिचयपत्र वितरण गरेको छौं ।’ उपमेयर गुरुङले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई महानगर आउन असहज भएको बताउँदै आगामी दिनमा सम्बन्धित वडामै पुगेर वितण गरिने सुनाइन्। महानगरले पहिलो दिन ४० जनालाई परिचयपत्र वितरण गरेको छ।

महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिका मातहत आएपछि पहिलो पटक महानगरले अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरु गरेको हो । परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि र समिति नबन्दा अपाङ्गता भएका व्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न सकेका थिएनन्।

महानगरले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ पारित गरे लगत्तै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा गठित अपाङ्गता परिचयपत्र वितरण समन्वय समिति गठन गरेको थियो।

समितिले काम थालेसँगै अपाङ्गता परिचयपत्रका लागि सोमबारसम्म कार्यालयमा दर्ता भएका निवेदन माथि छलफल गरेर परिचयपत्र वितरण गरिएको सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले जानकारी दिइन्।

पेश भएका निवेदन उपर प्रत्येक महिनाको अन्तिम सोमबार छलफल गरी अपाङ्गता भएका व्यक्तिको उपस्थितिमा परिचयपत्र वितरण गर्ने निर्णय भएको महाशाखा प्रमुख शर्माले बताइन्।

सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई ४ समूहमा विभाजन गरेको छ। पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेँलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गर्ने छन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्