अतुलनीय मुस्कानमा मिसिको मल्ल । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
जो नेपालमै रमाए–२

रेस्टुरेन्टमा आएका हरेक पाहुनासँगै रमाउँछिन् मिसिको मल्ल

दिउँसो दुई बजेतिर हात्तीसारको एउटा अग्लो भवन अगाडि उनी आइपुगिन् । सिद्धार्थ बैंकसँगै रहेको ठूलो भवनको पहिलो तलामा स्काइ लाउञ्ज छ।

आज अलि हतार छ उनलाई, सरासर भर्‍याङ्ग उक्लिएर लाउञ्जमा छिरिन्। छिर्ने बित्तिकै दायाँ पट्टि बसेका एक टोलीलाई देखेर उनी मुसुक्क हाँसिन्। अंकमाल गर्दै हालखबर सोधिन्, नम्र भएर बोलिन्।

मिसिको मल्ल, उनी हरेक दिन यसरी नै स्काई लाउञ्जमा आउछिन्, पाहुनालाई स्वागत गर्छिन्, पाहुनासँगै हाँस्छिन्, खुशी हुन्छिन्। मल्ल भन्छिन्, ‘उहाँहरु आउँदा आउँदै मेरो साथी हुनुभएको हो।’ त्यो टोलीभन्दा अगाडि बसेको अर्को टोलीलाई देखेर पनि मिसिको मुस्कुराइन्। उनको व्यवहारले सबै खुशी देखिन्छन् त्यसैले सम्झी, सम्झी आउँछन्।

ठ्याक्कै एक वर्ष भयो, मिसिकोले हस्पिटालिटीको व्यवसायमा आफूलाई जोडेको, यसैलाई आफ्नो करियर बनाउने अठोट गरेको। भारतमा बिएसडब्लुको पढाई सक्दा सक्दै उनले हस्पिटालिटिमा आफ्नो भविष्य देखाउने सपना मनमनै बुनेकी थिइन्।

भनिन्छ नि ‘सपनाको कुनै आकार हुँदैन’ अनि सपना सारै मिठा हुन्छन्। चाहे निदाएको बेलामा देखेको सपना होस् अथवा खुला आँखाले देखेको, थाहै नपाई मिठो स्वाद चखाएर गएको सपना विपनामा रहर बन्छन्। अनि सुरु हुन्छ त्यसलाई पूरा गर्ने दौडधूप । बाटो जतिसुकै कठिन हुन्, जोश चढेपछि जसरी पनि पूरा भइछाड्छन्।

२४ वर्षकी मिसिको मल्लको जन्म जापानमा भएको हो। उनका परिवार जापानमा बस्दा उनी र उनको दाजु जन्मिएका हुन् । जापानमा नै जन्मिएकोले उनको नाम मिसिको भयो । जापानको अहिलेकी महारानीको नाम पनि मिसिको हो । भन्छिन्, ‘मिसिको सन् १९५० मा महिलाहरुको एकदमै चलेको नाम हो । किनभने जापानको राजकुमारले सामान्य महिला मिसिकोलाई विवाह गरेपछि यो नाम एकदमै चर्चित भएको थियो ।’

जन्म जापानमा भए पनि उनको पढाई लेखाई भारतमा भयो । साथीभाइ भेट हुने, घुम्न जाने उनको धेरै शोख मध्येको एक । बाहिर घुम्न जाँदा उनलाई रेष्टुरेन्टमा गरिने आदर सत्कार एकदमै मन पथ्यो । आफूलाई पनि यस्तै काम गरौँ जस्तो लाग्थ्यो तर पढाईले सामाजिक सेवा सम्बन्धी विषय रोजेको थियो ।

अहिले उनको परिवार संयुक्त राज्य अमेरिकामा बस्छ। परिवारले पढाई सक्काउ, अनि यतै सेटल होउ भन्छ, तर उनलाई आफ्नो सपना खोज्न अमेरिका जान मन लागेन । भारतमा पढाई सक्काउने बित्तिकै उनी नेपालमा आइन् र आफ्नो रहरलाई पूरा गर्ने यात्रा सुरु गरिन् ।

‘स्काई लाउञ्ज सुरु गर्दा म यहाँ थिइनँ, साथीहरु यहाँ बसेर काम गर्न थालिसकेका थिए । कलेजपछि म नेपाल फर्के, फ्रेब्रुअरी ९ बाट म पनि पार्टनरसिपमा काम गर्न थाले । लगानी गर्नलाई परिवारको सहयोग पाए, नपुगेको आफन्तसँग लिए। अहिले रिटर्न गरिसकेको छु । तर परिवारमा छोरीमान्छे भएर हस्पिटालिटि सेक्टरमा के गर्ला ? छोरी मान्छेलाई गारो हुन्छ भन्ने कुरा भइरहन्थ्यो, त्यसैले मैले पढ्न पाइन ।’

सानोमा बाबाममीले रेष्टुरेन्टमा लैजाँदा उनको आँखा त्यहाँको लाइट, इन्टेरियर डिजाजइन सारै मन पर्थ्यो र मनै मनले ठूलो भएपछि यस्तो ठाउँ बनाउँछु भन्ने सोच आउँथ्यो । तर उनलाई किन यस्तो सोच आयो भन्ने थाहा भएन ।

काम जब सुरु भयो, तब उनका दुई खालका संघर्ष सुरु भए, घर परिवारलाई मनाउन । अनि आफ्नो करियरलाई अगाडि बढाउन । किनभने कामको सुरु सुरुमा उनको दिनरात एकै थियो ।

‘एक त काम नयाँ, यहाँ भिज्न, काम सिक्न मलाई सारै गारो थियो। अर्को परिवारलाई मैले गरेको काम पटक्के मन परेको थिएन। कन्भिञ्ज गर्न सारै गारो भयो । तर बिस्तारै बिस्तारै सबै समाधान हुँदै गयो । मैले गरेको काम उहाँहरुले देख्नुभयो । अहिले मलाई सपोर्ट गर्नुहुन्छ ।’

यो क्षेत्रमा आएपछि उनले कमाएको भनेको सम्बन्ध छ । पेशाले उनलाई अलि परिपक्क बनाएको छ । घरमा केही परि आयो भने, उनी अगाडि सर्ने भएकी छन् । समाधान गर्न पाउँदा परिवार खुशी हुन्छिन्। यहि नै मिसिकोको लागि गर्वको कुरा भएको छ ।

शिक्षित परिवार भए पनि उनलाई केही यो पेशामा लाग्नलाई प्रोत्साहन थिएन । उनी छोरी भएकोले नै अहिले समाजले के भन्छ अनि भविष्यमा के भन्लान् भन्ने विचारले उनलाई बारम्बार घोचिरह्यो । त्यसैले उनलाई परिवारलाई राजी गर्न गारो भयो । सम्झँदा चलचित्रको दृश्य जस्तै लाग्छ मिसिकोलाई ।

‘तर मलाई म माथि विश्वास छ, मेरो यात्रा के हो। जुनसुकै क्षेत्रमा पनि राम्रो नराम्रो पाटोहरु त छन् । मलाई थाहा छ म कसरी अगाडि बढ्ने हो । मलाई अरुलाई पनि देखाउन मन छ। म आफै आफ्नो सर्तमा हिँडिरहेकी छुँ, म एकदमै खुशी छु ।’

उनले रेष्टुरेन्टलाई रक्सी, मोज रमाइलोको रुपमा मात्र हेरेकी छैनन्, परिवारको लागि राम्रो समय बिताउने ठाउँको रुपमा लिन सकिने उनको विचार छ । यस्तै, रेष्टुरेन्टले खानेकुराको संस्कारलाई पनि विकास गरेको हुन्छ । नराम्रा कुराहरुलाई हेर्दै नहेरेर उनी राम्रो पाटो औल्याउँदै अगाडि बढिन् ।

नेपाली एक उखान अहिले मिसिकोको जीवनसँग मिलेको छ, ‘त आँट म पुर्‍याउँछु।’

स्काई लाउञ्जमा उनी हरेक दिन दिउँसो १ बजे आउँछिन् । बेलुका १२ बजे हिसाब किताब गरेर जान्छिन् । हुन त उनका पार्टनरहरु छन् त्यहाँ तर उनी साथीहरुसँग बसेर सबै काम सकाएर जान्छिन् । उनको रेष्टुरेन्ट क्षेत्रको करियरमा उनलाई साथीभाइको सहयोग धेरै छ, त्यसैले उनी सधैँ उनीहरुको साथ दिइरहन्छिन् ।

बाबा आमा अमेरिका बसेको तीन वर्ष भयो, यता आएको बेलामा उतै जाम भन्नु हुन्छ । उनी बाहिर जान्छिन्, उताको सजावट, तरिकाहरु सिकेर आउँछिन् । दुवई, भारतका विभिन्न ठाउँमा सिकेको कुरा एक्सप्लोर गर्छिन्। बाहिर सेटल हुने उनको परिवारको आग्रह उनले मानेकी छैनन्।

किनकी मिसिकोको गन्तव्य, लक्ष्य अब नेपालमा नै छ। साथी सर्कल, कामको कन्ट्याक्ट नेपालमा नै भएकोले अब उनलाई बाहिर जानु छैन । बरु सबै भनेको जस्तै भए, चाँडै नै अर्को व्यवसाय पनि सुरु गर्नु छ उनलाई ।

रहर त अनेक हुन्छन्, अन्त्यमा मिसिको भन्छिन्, ‘सबै सोचेको जस्तै हुँदै गयो भने आफूले पढेको विषयको उपयोग गर्दै वोल्ड होम खोल्ने रहर छ।’


(स्वदेशमै मेहनत गर्ने युवाहरुको परिश्रम कथाको शृङ्खला हो–जो नेपालमै रमाए । सम्भावनाहरुको बाटोमा रमाएका युवाको सकारात्मक प्रयासलाई सम्मान गर्ने उद्देश्यसहित प्रतिनिधि युवाका ‘कर्म–कथा’ यो शृङ्खलामा प्रस्तुत गरिरहेका छौँ । शृङ्खलाको यो दोस्रो कथा हो । पाँच दिनसम्म यस्तै एक पात्रको कथा प्रस्तुत गर्दैजानेछौँ ।)

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

माघ २९, २०७५ मा प्रकाशित