लुगामा आफ्नो कला देखाउन सिपालु रविन परियार । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

गएको मंसिर २५ गते धुमधामसँग चलचित्र मारुनीको घोषणा भयो। नायिका साम्राज्ञी राज्यलक्ष्मीदेवी शाह, नायक पुष्पल खड्का लगायत चलचित्रका कलाकार र्‍याम्पमा उत्रिए।

अभिनयमा पोख्त भनेर प्रशंसा बटुलेकी साम्राज्ञीतर्फ सबैको ध्यान आकर्षण हुनु समान्य थियो । त्यसैले त उनी पुगेको हरेक सभा समारोह उनको चर्चा हुन्छ ।

मारुनीको सेटमा रातो लेहेँगा चोलीमा पुगेकी साम्राज्ञीका कपडाको खुब चर्चा भयो । रातो रंगको खुलेको चोली अनि फरर परेको लेहेँगा लगाएर र्‍याम्पमा उनी टकटक हिँड्दा सबैको क्यामरा अनि मोबाइल उनैतिर सोझिए, सञ्चारमाध्यममा समाचार आयो, ‘रातो लेहेँगामा सजिएकी सुन्दरी साम्राज्ञी’।

‘यो समाचार पढ्दा मलाई धेरै खुशी लाग्यो । कामको प्रशंसा हुँदा रमाइलो हुन्छ नि ।’ रविन परियारले खुशी बाँडे ।

उनी मारुनी बनेकी साम्राज्ञीले लगाएको लेहेँगाको डिजाइनर हुन् । बानेश्वर शान्तिनगरको केही भित्रको एउटा घरमा उनी यस्तै यस्तै कपडाको डिजाइन गरिरहेका हुन्छन् ।

घरी इन्टरनेटमा हेर्छन्, कपडालाई ओर्काइ फर्काइ पनि गरिरहन्छन्, काममा एकोहोरो लागिरहन्छन् । उनले डिजाइन गरेको कपडा कसले बनाएको भनेर सोधिखोजी हुने भएकोले नै उनी धेरै ध्या दिन्छन् ।

यात्रा यसरी सुरु भयो


२४ वर्षको खोटाङ्गे ठिटो, चुलबुले, भइरहेको चिजमा नयाँ कुरा थप्न मन लाग्ने उनको बानी। घरमा सबैभन्दा कान्छो सन्तान । बाबा पुलिसको जागिरे, आमा घरमा सिलाईबुनाई ।

रविनको एक दाई अनि चार दिदीहरु छन् । फुर्कनु स्वाभाविक हो, घरको जस्तो आर्थिक अवस्था, क्षमता थियो त्यही अनुसार इच्छा पूरा गरिदिन्थे। पुर्ख्यौली पेशामा उनले त्यति रुचि देखाएका थिएनन् । यद्यपी उनलाई मेसिन चलाउन भने राम्ररी आउँथ्यो ।

एलसलसी पछि उनले व्यवस्थापन अध्ययन गरे। होटेल म्यानेजमेन्ट पढ्ने भूत चढ्यो अनि उनी कलेज जान थाले । उनी करातेमा शोख राख्थे रे ।

‘प्लस टू सम्म पनि सिके, खेले’ आफूले राष्ट्रिय टोलीबाट तालिम समेत लिएको बताउने रविनले आफू ब्ल्याक बेल्ट भएको बताए । हामीलाई भेट्दा ट्राउजर र ज्याकेट लगाएका रविन खेलाडि जस्तै देखिएका थिए । तर बिस्तारै उनको बाटो मोडियो ।

‘प्लस टूको खाली समयमा म डिजाइन सिक्न गएको थिए’ रविन सम्झन्छन्, ‘त्यति बेला नै रस बसेछ, होटल म्यानेजमेन्ट पढ्न जाँदा जाँदै बिचमा नै छोडे।’

उनको परिवार पुर्खाले गर्दै आएको सीप हो सिलाई। घरमा सिलाई मेसिन घर–घर नचलेको होइन। उनले मेशिनमा धागो हाल्न, उध्रेको कपडालाई ठीक पार्न नजानेका होइनन्, उनले कक्षा ८–९ मा पढ्दा नै कपडा सिलाएको अनुभव छ ।

तर प्लस टू पछिको खाली समय उपयोग गर्नको लागि उनीले लिएको तालिमले उनलाई नयाँ काम सिकायो। ‘नयाँ भनेर कपडाको नाम नै फरक भन्ने हुँदैन, भइरहेका कपडालाई आकर्षक बनाउने हो।’

रविन भन्छन्, ‘समय कस्तो छ, चलिरहेको फेसन के हो र यसलाई नेपाल सान्दर्भिक कसरी बनाउन सकिन्छ भन्नु नै चुनौतिपूर्ण कुरा हो।’

सानो ठाउँमा प्रतिस्पर्धा हुने कुराबाट उनी अपरिचित छैनन्। तर जति डिजाइनर छन्, उनीहरु भन्दा फरक सोचेर काम गर्न डराउँदैनन्, उनको प्रयासलाई उनको क्लाइन्टले मन पराइरहेका छन् ।

यसको उदाहरण ‘मारुनी’ चलचित्रको कस्ट्युमको जिम्मा उनले पाए, यो भन्दा अगाडि उनले साइनो, शुभ लभ, ऐश्वर्य, कान्छि, ड्रिम गर्ल लगायतका चलचित्रमा काम गरिसकेका छन् । म्यूजिक भिडियो उनले गनेका नै छैनन्।

बदलिएको जीवनशैली


नयाँ नयाँ जिम्मेवारी थपिएसँगै उनको जीवनशैली पनि बदलिएको छ । उनी चलचित्र हेर्दा पहिला मनोरञ्जनको लागि हेर्थे अहिले कपडाको डिजाइनमा ध्यान जान्छ । उनको कुनै स्टाइल त छैन तर उनी अन्तर्राष्ट्रिय डिजाइनरहरुलाई पछ्याउँछन् ।

उनी आफ्नो कामलाई खुशी पोर्ने काम भन्छन्, ‘वाउ ! सुन्न मन लाग्छ अनि घोटिन मन लाग्छ।’ उनले फेसन डिजाइनमा नै भविष्य देखेर लागि परेको दुई वर्ष भयो।

डिजाइनिङ्गको कोर्ष सकेपछि उनी फटाफट काममा लागे, बाटो त्यहीबाट कोरियो। राम्रो काम गर्‍यौ भनेर हौसाए, कामको लागि हात खाली पनि भएन अनि नजानेरै अगाडि बढे। उनलाई अब साथी साथीबाट पनि क्लाइन्ट पाइन्छन्।

सुरु सुरुमा उनको कामको बारेमा परिवारका धेरैले थाहा पाएनन्। रबिनको आमा ५५ वर्षकी हुनुभयो, अहिलेसम्म कपडा सिलाउँदै हुनुहुन्छ। उनी सम्झिन्छन्, ‘घरमा सेलिब्रेटि आउँदा आमाले चिन्नुहुने थिएन। पछि टेलिभिजनमा देख्दा जिल्ल।’

उनले अहिलेसम्म अशिष्मा नकर्मी, दीपिका प्रसाई, श्वेता साम्राज्ञी लगायत धेरैजनासँग काम गरिसकेका छन् ।

उनले पहिलो पटक ¥याम्पमा उक्लेको अहिलेसम्म भुलेका छैनन्। ‘म कसरी भुल्न सक्छु’, एकदम डर लागेको थियो’, रबिन सम्झन थाले, ‘बच्चाहरुको बिउटी प्याजेन्ट थियो, म जज बनेर गएको थिए।’

विदेश जान पासपोर्ट बनाएका थिए


मानिसलाई आफ्नो वरपरको वातावरणले प्रभाव पार्छ । प्लस टू पढिसकेपछि उनका साथीहरु भटाभट बाहिर जान थाले । आमाले रविनलाई पनि आग्रह गरिन्, बाहिर जाने । हो कि लाग्नु रविनलाई स्वाभाविक थियो त्यसैले उनी पासपोर्ट बनाउन गए । जाम जाम जस्तो लाग्यो ।

त्यही समय डिप्लोमा गरीरहेका रविनलाई बिउटी प्याजेन्टको कन्ट्रयाक आयो । अनि त्यसपछि यात्रा निरन्तर चलिरहेको नै छ ।
बिस्तारै बिस्तारै काम आउन थाले, र्‍याम्पमा उनी पनि हिड्न थाले । रविन भन्छन्, ‘र्‍याम्पमा मलाई हिँड्न थालेको देखेर आमा एकदमै भक्कानिनुभयो ।’

आमाको खुशीको आँसु नै रविनको प्रेरणा बन्यो । त्यसैले त एक जनाले गर्ने काममा उनले ४ जना सहयोगी राखेका छन्, छुट्टै पसल पनि बनाइसकेका छन्।

अहिले बिस्तारै कन्ट्याक्ट बढेका छन्, सबै राम्रो भयो भने महिनामा एक, डेढ लाखको कमाई पनि हुन्छ । त्यसैले उनमा बिदेश कमाई गर्न जाने सोच नै आएको छैन ।

(स्वदेशमै मेहनत गर्ने युवाहरुको परिश्रम कथाको शृङ्खला हो–जो नेपालमै रमाए । सम्भावनाहरुको बाटोमा रमाएका युवाको सकारात्मक प्रयासलाई सम्मान गर्ने उद्देश्यसहित प्रतिनिधि युवाका ‘कर्म–कथा’ यो शृङ्खलामा प्रस्तुत गरिरहेका छौँ । शृङ्खलाको यो तेस्रो कथा हो । )

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

फाल्गुन १, २०७५ मा प्रकाशित