भारतमा टिकटकमाथि प्रतिबन्ध लगाउन माग

एजेन्सी– टिकटकका कारण पछिल्लो समयमा विभिन्न घटना भएको र अश्लीलता फैलिएको भन्दै तमिलनाडु सरकारले टिकटक एपमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारसँग कुरा गर्ने बताएको छ।
तमिलनाडु राज्यका सूचना तथा प्रशारण मन्त्री एम. मणिकन्दनले टिकटक एपले तमिल संस्कृतिलाई होच्याउने काम गरेको भन्दै तमिलनाडु सरकारले टिकटक एपमाथि प्रतिबन्ध लगाउने बारेमा सोचिरहेको बताएका छन्।
उनले तमिलनाडु राज्यका अन्य राजनीतिक दलले समेत यस विषयमा आफ्नो चिन्ता व्यक्त गरेको बताए। व्लू व्हेल गेम जसरी नै टिकटकमाथि पनि प्रतिबन्ध लगाउने उनको भनाइ छ।
मन्त्री मणिकन्दनले यस एपबाट बच्चा तथा युवाहरु गुमराहमा रहेको र यसलाई प्रतिबन्ध लगाउन केन्द्र सरकारसँग माग गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
एआइडीएमका नेताले टिकटकबाट कानुनी व्यवस्थामा समेत समस्या देखिएको बताएका छन्। उनले मानिसहरु यस एपको प्रयोग गरेर आफ्नो ज्यानलाई खतरामा हालिरहेको र अहिलेसम्म यस्ता कैयौँ घटनाहरु अगाडिआएकाे बताएका छन्। जसका कारण केहीले ज्यानसमेत गुमाएकाे उनको दावी छ।
सांसद थमीमुन अन्सारीले टिकटक एपमा धेरैले अश्लील गतिविधि गरेको भन्दै केन्द्र सरकारसँग कुरा गरेर तमिलनाडुमा यस एपमाथि प्रतिबन्ध लागाउनु पर्ने बताएका छन्।
‘टिकटक’ चीनियाँ कम्पनी ‘बाइट डान्स’ को एक एप हो। यसको माध्यमबाट १५ सेकेन्डसम्मको भिडियो बनाएर शेयर गर्न सकिन्छ। यसलाई सन् २०१६ सेप्टेम्वरमा सार्वजनिक गरिएको थियो। २०१८ मा ‘टिक टक’ को लोकप्रियता तिब्र गतिमा बढ्यो। यो एप अमेरिकामा सबैभन्दा बढी डाउनलोड हुने एप भएको छ।