आन्दोलित विद्यार्थी गाल्न मेडिकल कलेजको दबाब

विद्यार्थीलाई थकाउँदै, फकाउँदै गण्डकी मेडिकल कलेज

पोखरा-गण्डकी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क उठाएसँगै त्यसविरुद्ध विद्यार्थीले थालेको आन्दोलनले पेचिलो बनेको कलेज प्रशासन–विद्यार्थी बीचको विवाद उत्कर्षमा पुगेको छ ।

बढी शुल्क लिन नपाइने, लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग सहित विगत १४ दिनदेखि आन्दोलित बनेका विद्यार्थीलाई दबाउन कलेजका प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ सहितको प्रशासन समूह सक्रिय भएको खुल्न आएको हो।

शिक्षण अस्पताल पृथ्वीचोकस्थित आज बुधबार आन्दोलित विद्यार्थीले पत्रकार सम्मेलन गरेर कलेज प्रशासनले आन्दोलन फिर्ता लिन र मागका विषयमा प्रवेश नै नगरी अन्य विषयमा मोडेर आन्दोलन दबाउन लागिपरिरहेको बताए।

‘वार्तामा आउन भनेर पोखराबाट झण्डै २० किलोमिटर टाढा ढिकुरपोखरी देउराली लगियो,’ विद्यार्थी रविना मिश्रले भनिन्, ‘हाम्रा माग उपर कुनै पनि विषयमा प्रवेश नै नभई आन्दोलन फिर्ता गर्न मात्रै निरन्तर दबाब दिइरह्यो ।’

कलेजको गाडीमा त्यति टाढा लगेर विद्यार्थीका मागका सम्बन्धमा छलफल नै नभएको उनले सुनाइन् । अतिरिक्त शुल्कको नाममा प्रत्येक विद्यार्थीबाट वार्षिक ७५ हजारदेखि १ लाखसम्म कलेजले उठाउँदै आएको रकम फिर्ता गरियोस् भन्ने विद्यार्थीको पहिलो मागलाई कलेजले सम्बोधन गर्न नचाहेको विद्यार्थी प्रविण गौतमले बताए ।

विद्यार्थीसँग दुई/दुई पटक औपचारिक र अनौपचारिक वार्तामा बसेपछि प्रशासनले बढि लिएको शुल्क फिर्ता दिन तयार नदेखिएपछि सहमति हुन नसकेको उनले जानकारी दिए । अनौपचारिक वार्ताकै क्रममा माघ २९ गते ७ जनाको टोलीमा गएको विद्यार्थीलाई कलेज प्रिन्सिपल श्रेष्ठ सहितको प्रशासन समूहले आन्दोलन फिर्ता लिन दबाब दिएको विद्यार्थीले आरोप लगाएका हुन् ।

विद्यार्थीका मागलाई वेवास्ता गरेको भन्दै विद्यार्थीले माघ २७ गतेबाट अस्पताल प्राङ्गणमा रिले अनसन थालेका छन् । आज चोथौं दिनसम्म आइपुग्दा समेत कलेजले विद्यार्थीका जायज मागलाई सम्बोधन गर्नुको साटो उल्टो बद्नियत तवरले आन्दोलन दबाउन खोज्नु गलत पद्दति भएको विद्यार्थीको भनाई छ ।

कलेज प्रशासनले भने विद्यार्थीले विभिन्न माग राख्दै ओपिडीमा लगाएको तालाबन्दी खोलिदिन माघ २९ गते सरोकारवाला निकायहरुसँग सार्वजनिक अपिल मार्फत आग्रह गरेको छ । बढि शुल्क लिएको विषयमा भने कलेज प्रशासनले मुख खोल्न चाहेको छैन्। विद्यार्थीको मागलाई नजरअन्दाज गर्दै अस्पताल खुलाएर नाफा कमाउन मात्रै उद्दत भएको जस्तो देखिएको भन्दै विद्यार्थीले कलेजले सार्वजनिक गरेको अपिल प्रति आपत्ति जनाएका छन् ।

कलेजले अवैधानिक तवरलबाट विद्यार्थीबाट उठाउँदै आएको शुल्कको विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमाण सहित उजुरी पेश गर्दा समेत गुनासो सम्बोधन नभएको विद्यार्थीको गुनासो छ ।

पर्ख र हेरको स्थितीमा नबसी माग सम्बोधन नभए कानुनी उपचारको बाटो समेत खोज्न सकिने विद्यार्थीले बताएका छन् । समस्याको समाधान पहिल्याइदिन समेत आन्दोलनरत विद्यार्थीले आह्वान गरेका छन् ।

‘कलेज प्रशासनका मध्यस्थकर्ताहरुसँग वार्तामा बस्दा पनि कलेज प्रशासनतर्फबाट कुनैपनि किसिमको सकारात्मक प्रतिक्रिया नआएको हुनाले हामीलाई स्तब्ध बनाएको छ। तसर्थ विद्यार्थीहरुबाट बढी असुलेको शुल्क बिना शर्त तत्काल फिर्ता गर्न वातावरण मिलाइदिनुहुन सम्पूर्ण सरोकारवाला पक्षहरुसँग जोडदार माग गर्दछौ।’ विद्यार्थीको अपिलमा भनिएको छ।

बढी शुल्क लिएको विषयमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय, महाराजगंजले चासो देखाउँदै बढी शुल्क नलिन ध्यानाकर्षण गराएको भएपनि कलेज प्रशासन सो मान्न तयार देखिँदैन।

गएको माघ २२ गते सहायक डीन प्राडा. राजेन्द्रप्रसाद शर्मा गुरागाईले ‘शुल्क सम्बन्धमा नेपाल सरकार तथा त्रिविबाट स्वीकृत शिक्षण शुल्कको अधिनमा रही विद्यार्थीबाट शुल्क लिने व्यवस्था गर्न,’ पत्रमा भनेका छन् ।

एमबीबीएस, बीडीएस, बिएनएस, बिएस्सी नर्सिङ, ब्याचलर इन फार्मेसी, बिएस्सी एमएलटिका विद्यार्थी आन्दोलनमा उत्रदा विगत १४ दिनदेखि पठनपाठन ठप्प छ । माघ २२ देखि ओपिडी, माघ २८ देखि रिसेप्सन र काउन्टरमा तालबन्दी भएपछि अस्पतालको उपचार सेवा प्रभावित भएको छ।

फाल्गुन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्