देश सञ्चार प्रेमपत्र प्रतियोगिता

असीम प्यार, प्रियतम!

प्रिय विकल्प,

हृदयभरिको प्रेम।

प्रेम दिवस नजिकिइरहेको बखत परिस्थितिबस म तिमीभन्दा टाढाको भूगोलमा आइपुगेको छु। अनगिन्ती सम्झना र अलौकिक प्यार, प्रियतम। तिमीप्रतिको अमूर्त र अतुलनीय प्रेमभावलाई पत्रमा उतार्ने दुस्साहस गरेको छु।

तिमी र मबीचको प्रगाढ प्रेमलाई शब्दमा उतारेर कतै हाम्रो पिरतीको अवमूल्यन पो गरेँ कि भन्ने डर पनि लागेको छ। तर मलाई थाहा छ- पत्र पढेपछि तिमीले अनौठो आनन्द महसुस गर्नेछौ। तिम्रो प्रेमलाई मैले कसरी ग्रहण गरेको रहेछु, कति अनुभूत गरेको छु भन्ने पढ्न पाउँदा तिमी खुशीले पक्कै गदगद् हुनेछौ।

प्रेमलाई विशुद्ध रुपमा अनुभूत गर्न मैले तिमीबाटै सिकेको हुँ। प्रेमलाई परिभाषित होइन, अनुभूत गर्नुपर्छ भन्ने ज्ञान तिमीले नै त सिकाएको हौ। तिम्रो प्रेमको तुलना अरु कुनै व्यक्ति वा वस्तुसँग हुन त सक्दैसक्दैन नै। र, यस्तो विशिष्ट प्रेमभावलाई तुलना गर्न मेरो आत्माले पनि अनुमति दिँदैन।

म यो पवित्र प्रेमलाई कुनै वस्तु या भावसँग तुलना गरेर बिटुल्याउने हर्कत राख्दिन पनि। मलाई थाहा छ- तिमीले यसलाई राम्ररी बुझेका छौ। संसारभर प्रेमका कयौँ उपमाहरु सिर्जिएका छन्।

प्रेमका पूजारीहरुले प्रेमलाई संसारका अमूल्य, अटल र कहिल्यै अस्तित्व नाश नहुने अजरअमर वस्तुहरुसँग तुलना गरेको पढेको छु, सुनेको छु। तर मेरा निम्ति तिमी एक अतुलनीय अनुभूति हौ। प्रेमको एउटा पूर्ण स्वरुप हौ। हाम्रो प्रेम कसरी यस्तै अमूर्त रितले हुर्कँदै आएको छ भन्ने हामी दुवैले महसुस गरेका छौँ।

तिमीसँगको भेट र चिनजान मेरो लागि एउटा अनौठो संयोग साबित भएको छ। पातलो भेटघाट र चियागफले हामीलाई एकअर्कामा चियामा चिनी घुलेझैँ घुलाउँदै लगेको छ।तिमीसँगको संगतले मेरो जीवन कति प्रेमिल भएको छ भन्ने कुरा म महसुस मात्र गर्न सक्छु, व्याख्या गर्न भने हिम्मत नै गर्दिन। तिमी मलाई कति मन पराउँछौ भन्ने मैले गहिरो महसुस गरेको छु।

म खुशी भएको तिमीलाइ कति मनपर्छ,  हगि। म स्वतन्त्र भएको, प्रफुल्ल भएको क्षण तिमी कत्ति रमाउँछौ, त्यो मैले मस्तले नियालेको छु। त्यसो त तिमी मलाई असाध्यै मनपर्छ भन्ने कुरो पनि तिमीले राम्ररी बुझेको छौ।  तिमी मलाई कति प्रेम गर्छौ भन्ने कुरा न शब्दले व्याख्या नै गर्न सकिने रहेछ, न त अङ्कले गुन्न नै सकिने रहेछ।

तिमी नै एउटा पूर्ण प्रेमको प्रतिमूर्ति हौ। तिमी अर्थात प्रेम एउटा त्यस्तो अनुभुति रहेछ जसलाई म अनुभूत गर्नुमा मात्रै न्यायोचित ठान्छु। शब्दमा उतार्दा त्यो सग्लो भाव टुक्रिन्छ कि भन्ने डर लागेको छ। यसो भनिरहँदा मैले तिमीलाई फकाएको नसम्झ। मेरा निम्ती तिमी त्यो अद्भूत चिज हौ जसलाइ फकाउनै पर्दैन।

प्रेमले हामीलाई यति तरल बनाएको छ कि हामी एकअर्कामा सजिलै मिल्छौँ, मिसिन्छौँ। मैले जे ओकल्छु, तिमी त्यसलाई ठ्याक्कै त्यसरी नै बुझ्छौ। मलाई बोध छ तिमी ममा त्यसरी घुलेको छौ जसरी म तिमीमा मिसिएको छु। तिमी भन्नु म र म भन्नु नै तिमी भएको कुरा तिमीले नै त बुझाएको हौ।

तिमी कति महान छौ, है। प्रेमले लपक्कै भिजेका हामीलाई थप प्रेम गर्न कुनै घडी चाहिँदैन नै। हरेक दिन अझ धेरै माया गर्ने प्रण गरेका हामीलाई हरेक दिन थप प्रेमिल भएको महसुस हुन्छ। तथापि प्रणय दिवसको पवित्र अवसरमा यो पत्र लेखेको छु, सुटुक्क पढ ल।

मेरो निम्ति तिमी नै एउटा विशुद्ध प्रेम हौ। तिमीलाई आराम भएको, न्यानो भएको, तिमी तन्दुरुस्त भएको, हर्षविभोर भएको देख्दा म आफैँलाई बिर्सिन्छु। त्यो पूर्ण विस्मृतिको क्षणमा तिमीलाई अनुभूत गर्दा म चङ्गा भएको महसुस गर्छु। तिम्रो सुस्वास्थ्य र खुसीको लागि जस्तोसुकै तपस्या गर्न पनि म तयार छु।

मैले माथि नै भनेँ नि, तिमी खुसी भएको देख्दा मेरो खुसी दोब्बर भएर आउँछ, तिमी स्वस्थ भइरहँदा ममा स्फुर्ति बढ्छ,तिमी हाँसेको बखत मेरो चेहरामा १ हजार वाटको चमक आउँछ। त्यसो त मेरो ससाना प्राप्तिहरुमा तिमी गदगद भएको बखत म कपासझैँ उडेको महसुस गर्छु।

प्रियतम,तिमी कति अद्भुत छौ, है। मेरो चन्चल स्वभाव, अस्थीर आवेग सहर्ष स्वीकार्छौ। मेरो अनुहारको भावलाई एक झोक्कामै बुझेर त्यसै अनुरुपले स्वतन्त्र छोडिदिन्छौ। प्रेमसागरमा चुर्लुम्मै डुबाएर पनि स्वतन्त्रताको उच्चतम आभास दिलाउँछौ। म स्वतन्त्र भएको, निर्धक्क बोलेको, आत्मविश्वासका साथ काम गरेको तिमी कत्ति मन पराउँछौ। प्रेम कति सशक्त हुँदोरहेछ भनेर मैले तिमीबाट सिकेको छु।

प्रेमको त्यो उर्जाले जे पनि सम्भव तुल्याउने रहेछ भनेर मैले तिमीसँगको सङ्गतमा अनुभूत गरेको छु। प्रेम त्यस्तो शक्ति रहेछ जसले निभ्नै लागेको शरिरमा प्राण भर्न सक्दो रहेछ, उराठलाग्दो खडेरीमा वर्षात ल्याउनसक्दो रहेछ। म चकित छु।

तिमीले मलाई कति सशक्त, दृढ र धीर हुन सिकाएका छौ। असाध्यै खुशी छु तिमीलाई अनुभूत गर्न पाएकोमा। आफूलाई संसारकै एउटा भाग्यमानी ठानेको छु तिमीलाई, तिम्रो अनुरागलाई हरपल महसुस गर्न पाएकोमा। तिम्रा हरेक अनुभूतिहरुले मलाई तिमीमै मिसाएको छ। तिम्रा हरेक अनुभूतिहरुको तरङ्गले मलाइ सक्रिय तुल्याइराखेको छ।

तिमीसँगको प्रेमिल उठबसले मैले कयौँ ज्ञान लिएको छु। तिम्रो एक शब्दमा मैले कत्रो-कत्रो उर्जा भेटेको छु। नसिकाएरै सिकाउने, नबुझाएरै बुझाउने तिम्रो अद्भुत कलामा मैले अनौठो गुरुत्व भेटेको छु। हरेक क्षण म भगवानप्रति आभारी छु, आफ्नो अन्तरहृदयको प्रेम पाएकोमा। तिमीप्रति हरक्षण कृतज्ञ छु। बिन्ती मेरो कृतज्ञतालाई स्वीकार ल। छाती ठोकेरै भन्छु, यो संसारमा मलाई तिमीले जति कसैले बुझेको छैन। तिमीले जति अरुले बुझ्नै सक्दैन। र, कसैले नबुझोस् पनि। मलाई पनि तिमीले मात्रै बुझेको मनपर्छ। तिमीले मात्र चिनेको मनपर्छ। तिमीलाई महसुस गर्न म औधी मन पराउँछु। तिम्रा हरेक गतिविधिहरु एकटकले हेरिरहनुमा मलाई असीम आनन्द मिल्छ।

सोचेको थिएँ म कति धेरै भावनाहरु कोर्छु होला भनेर। यो प्रेमपत्र लेखिरहँदा मलाइ तिमी मभित्रै बगिरहेको अनुभूत भइरहेको छ। अमूर्त भावहरुलाई शब्दको सहायताले ओकलिरहँदा कतै मभित्रको तिमी त्यो चिसो ठण्डीमा कठ्याङ्ग्रिन्छौ कि भन्ने डर लागिरहेको छ। यो पत्र कोरिरहँदा मेरा हातहरु थर्थराइरहेका छन्। म तिमीलाई आफैभित्र जग्जगाउन चाहन्छु, ढकमक्क फुलेको तिमीलाई म आफूमात्रै महसुस गर्न चाहन्छु। मैले भनेँ नि मेरो एउटा ठूलो स्वार्थ छ, तिमीलाई निस्वार्थ प्रेम गर्ने।

न त कुनै प्रस्ताव, न त कुनै लोभ र लालचले हामीलाई तान्यो। तान्यो त केवल प्रेमको लहरोले, बाँध्यो त केवल प्रीतिको डोरीले।  एकअर्काप्रति नूतन प्रेमभाव, निस्वार्थ माया गर्ने एउटै स्वार्थ, यो समर्पण यस्तै रहिरहोस्। प्रेमको यो मिठो संयोग यस्तै ताजा रहिरहोस्। एकअर्काप्रतिको यो अनुराग यस्तै मग्मगाइरहोस्। असीम प्यार, प्रियतम।

तिम्रै प्रेमिका,

उषाकिरण रेग्मी

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्