कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खोले प्रेमको पोको

‘म सहित कविताका तीन छोराछोरी छन्’

प्रेमलाई जीवन जिउने आधार मानिन्छ। भनिन्छ, कुनै पनि मानिस प्रेममा पर्दा त्यसको वास्तविक प्रभाव वा जादु उसको मुटुमा मात्र नभई मष्तिस्कमा समेत पर्छ ।

र, व्यवहारिक हिसाबकिताब पनि सँगसँगै खोज्छ, त्यसले । अनि दीगोपनको आस पनि बढ्छ । प्रेमबाट प्राप्त आर्जित शक्तिले नै असिम खुशी, सन्तुष्टीसँगै सफलतासमेत दिलाउँछ । अझ प्रेमलाई गृहस्थीमा परिणत गरी सुखानुभुत गर्नु त चानचुने मामिला होइन ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्माले सायद त्यही खोज्ने प्रयास गरे कविता शर्माबाट र सफल पनि भए जीवन र प्रेम दुवैमा।

प्रेममा सफल हुनु र सार्थक तुल्याउनु युद्ध जिते सरह नै मानिन्छ । युद्ध जित्न नसक्दा अधिकांश प्रेम कथाहरुको अन्त्य दुखद हुने गर्छ । विभिन्न अवरोधका कारण अनायसै टुंगिन्छन् ।

विश्वप्रकाश र कविताका अघिल्तिर पनि थुप्रै पर्खालहरु थिए। उमेरले विश्वप्रकाशभन्दा करिब १० वर्षले कान्छी कविता। जिल्ल एउटै भए पनि पारिवारको राजनीतिक पृष्ठभूमि नै फरक । कविताका दाइ कम्युनिष्ट, विश्वप्रकाश भर्खर कांग्रेसमा जम्दै गरेका ।

‘काँचो माटोको राम्रो मूर्ति बनाउन माटो पनि त्यही अनुसारको छान्नुपर्छ’ । यो विश्वप्रकाशकै भनाई हो। विश्वप्रकाशको छनौट पनि त्यस्तै रह्यो । ‘हाम्रो एकै नजरमा माया बसेको पक्कै हैन । चलचित्र शैली जस्तो। मैले आफ्नो सपना र गृहस्थीबारे गहिरो विश्लेषण गरेँ र त्यसका लागि कविताको साथ चाहिने निष्कर्षमा पुगेँ । उनी असल र सरल लाग्यो सामान्य चिनजानबाटै पनि,’ आफ्नो प्रेमकथाको पोयो फुकाउँदै उनले भने ।

करिब एक दशकअघि अंकुरण भएकोे प्रेमलाई सफल बनाउन आफूले अठोट, लगाव र चार्तुयको समेत सहारा लिएको उनी स्वीकार्छन् । अहिले आफ्नो प्रेमप्रति त्यत्तिकै गर्व छ उनलाई । र, कविताप्रति सम्मान पनि त्यतिकै ।

सानेपास्थित पार्टी कार्यालयमा राजनीतिक व्यस्तताबाट करिब आधा घन्टा विश्राम लिएर आफ्नो प्रेमका बारेमा गफिँदै उनले भने, ‘म एक जिम्मेवार प्रेमी हुँ जस्तो लाग्छ ।’ कसरी त ? ‘प्रेम गर्दै जाँदा मेरो राजनीति र गृहस्थीका लागि उपयुक्तपात्रका रुपमा मनोवैज्ञानिक हिसावकिताव गरेँ । उनका पनि खुशी, सपना र रहरको सम्मान गरेँ’, विश्वप्रकाशको जवाफ थियो ।

विश्वप्रकाशले चाहेको प्रेम र व्यवहार गर्न सफल उनकी पत्नी कविताको पनि अनुभव भिन्न छैन । विश्वप्रकाशले जसरी प्रेम गरे उनले पनि त्यही गरिन् । अनि त प्रेमलाई उदाहरणीय गृहस्थी जीवनमा परिणत गर्न सफल भए उनीहरु । तर, यो गृहस्थी जीवनलाई सफल बनाउन यो जोडीले अपनाएको व्यवस्थापनको सूत्र पनि त्यत्तिकै लोभलाग्दो छ ।

मिठो बोली र व्यवहारमा अल्झिएको मन


झापा शनिश्चरेकी कविता शर्मा नर्सिङ सकेर धुलाबारी स्वास्थ्य केन्द्रमा तालिम गर्दै थिइन । बिरामीलाई कसरी राम्रो सेवा दिन दिन सकिन्छ भन्नेमा उनको ध्यान केन्द्रीत थियो । तर कुनै बिरामी लिएर पुगेका मेचीनगर निवासी नेविसंघका राष्ट्रिय अध्यक्ष विश्वप्रकाशको आँखा त्यहीँ बिरामीको सेवामा तल्लीन कविताका आँखामा परे ।

राजनीतिको संघर्षका क्रममा विश्वप्रकाश काठमाडौँ छिरेको केही समयमै कवितालाई पनि राजधानी आउने मौका जु¥यो एउटा स्कुलको शिक्षिका, होस्टेलको वार्डेन लगायतको भूमिकासहित ।

चावहेलको डंगोल परिवारको घरको एउटा सानो कोठामा विश्वप्रकाशले राजनीतिक दौडको योजना बुन्थे । राजनीतिक भागाभागबीच पनि उनलाई बेलाबेखत कविताको झल्को आइरहन्थ्यो । उनको हेराई, बोली र हाँसोले विश्वप्रकाशलाई घरघरि झस्काउन थाल्यो ।

विश्वप्रकाशको पटकपटकको आग्रह र पछि लाग्नाले उनीहरुको भेट बाक्लियो । राजनीतिमा पकड जमाउँदै गरेका विश्वप्रकाशले कविताको मनमा समेत पकड बनाउन थाले । कवितालाई पनि विश्वप्रकाशसँग भेटेपछि सुरक्षित अनुभव हुन्थ्यो । भन्छिन्, ‘म उमेरले कान्छी भएर होला अलि अपरिपक्कै थिएँ। बालपन हटेको थिएन । तर जव उहाँलाई भेट्थे र कुरा सुन्थे आनन्द मात्रै होइन केही कुरा सिक्थेँ।’

प्रेम प्रस्तावको शैलीमा भिन्नता


प्रेम र युद्धमा जे पनि मान्य हुन्छ । कविताको प्रेम पाउन विश्वले पनि एकपटक त्यस्तै ‘अनफेयर’ काम गरे । र त्यो उनी हाकाहाकी स्वीकार्छन् ।

प्रसंग हो–२०५६/५७ साल, पुस १६ गतेको । सन्दर्भ थियो राष्ट्रिय मेलमिलाप दिवस । विश्वप्रकाशले उक्त कार्यक्रममा कवितालाई पनि बोलाए । कार्यक्रम समाप्त भएसँगै एउटा रेस्टुरेन्टमा विश्वप्रकाश र कविता खाजा खान छिरे ।

‘संसारमा सबैभन्दा मिठो चिज के हो ?’ राजनीतिक सभा र कार्यक्रमहरुमा विरोधीहरुलाई तिखातिखा प्रश्न प्रहार गर्ने विश्वप्रकाशले कवितालाई सोधे। सोझी कविताबाट जवाफ आयो ‘चाउमिन’ ।

विश्वप्रकाश हाँसे र भने सबैभन्दा मिठो चिज ‘बोलीवचन’ । ‘मलाई तपाईँको बोली मन पर्छ,’ विश्वप्रकाशले थपे । कविताले पनि विश्वप्रकाशको बोलीवचन नै मन पर्थ्यो तर मौन समर्थन गरिन । त्यो छोटो वार्तालापबाट कविता पनि विश्वप्रकाशसँग बढी निकटता अनुभव गरिन् । वास्तवममा एकअर्काको मनमा बस्न सफल भइसेकेका थिए उनीहरु।

प्रसंग फेरियो । को को बस्नुहुन्छ यहाँ ? अब प्रश्न सोध्ने पालो कविताको । जवाफमा विश्व प्रकाशले भने, ‘म र मेरो श्रीमती तर हामी छिट्टै डिर्भोस गर्दै छौँ ।’ कविता एकाएक छानाबाट खसेझैं भइन् । किनकि विश्वप्रकाशले प्रेम प्रस्ताव राख्छ भन्ने सोच कवितामा आइसकेको अवस्था थियो। । र उनले विश्वका प्रायः सबै आफन्त र साथीहरु चिनिसकेकी थिइन् । तर, उनलाई विश्वप्रकाशले बिहे गरेको पत्तै भएन ।

अब प्रश्न सोध्ने पालो कविताको । ‘किन केही भन्नु भएन त ?’ एकछिन मौन भएकी कविताले सोधिन । ‘आमा बिरामी परेर अचानक बिहे गर्नुपर्‍यो तर म खुसी छैन र उनी पनि मसँग सन्तुष्ट छैनन् । मेरो संघर्ष र राजनीति बुझ्न सकिनन् उनले’ विश्वप्रकाशको जवाफ आयो। मन खिन्न भए पनि कविताबाट प्रश्नहरु तेर्सिने क्रम बढे ।

‘कोसँग बिहे गरेको ?’ कविताबाट प्रश्न आयो । विश्वप्रकाशले अञ्जना सुवेदी भनेँ । कविताका आँखा एकाएक टोलाए । कविता होस्टल जाने समय भयो । बाटो भरि उनी मौन रहिन् । तर कवितालाई होस्टेलको गेटमा छाड्दै गर्दा विश्वप्रकाशले भने,’ कविता एक पटक अञ्जना सुवेदीको ठाउँमा राखेर हेर्नु भरे फेरि फोन गर्छु ।’ विश्वप्रकाशले भनेको कुरा झन बुझिनन् ।

मन भारी बनाएर बिदा भइन् । होष्टल भित्र पस्नासाथ दिदीलाई सबै घटना सुनाइन् । ‘को हुनु र अन्जना? त्यो त तिमीले सामान्य महिलाको जस्तो अपेक्षा नगरोस, उनको राजनीतिज्ञको जीवन बुझिदियोस भनेर घुमाएर भनेको हो ? सिधै भन्दा तिम्रो मन दुख्न सक्छ या सुरुमै आफ्नो चाहना प्रकट गर्दा तिमीलाई निर्देशन दिए जस्तो हुन्छ भनेर विश्वप्रकाशले चलाखी गरेका हुन् ’ दिदीको यस्तो जवाफले कविता ओठ एकाएक मुस्कुराए। विश्वप्रकाशको करिअरप्रति सम्मान जाग्यो।

कवितासँग त्यस्तो ‘अनफेयर’ हुनुका कारण खोतल्दै उनले भनेँ, ‘मसँग विवाह गर्ने महिलाले कुनै दिन म मन्त्रालयको फाइल पल्टाउँदै गरेको देखेर भन्दा पनि राजनीतिका क्रममा सहादत प्राप्त गरे भने गर्व मानुन । घरमा राजनीतिक भेटघाट चल्दा या ढिलो आउँदा कुनै दुःख नमानुन । योजना अनुसार काम हुन नपाए पनि पछुतो नमानुन भन्ने थियो।’

अर्थात् आफ्नो पेशाको मर्म पूर्णरुपमा बुझ्ने र सम्मान गर्ने जीवन साथी चाहिएको थियो उनलाई । तर, राजनीतिज्ञहरुको पारिवारिक जीवनका बारेमा उनका कानमा कमै मात्र राम्रा दृष्टान्त ठोकिएका थिए । ‘मलाई नेताहरुको पारिवारिक जीवन सामान्यतयाः तनावपूर्ण नै हुन्छ भन्ने लाग्थ्यो र त्यस्तै सुनेको पनि थिए । आफ्नो त्यस्तो नहोस भनेर सुरुमै चलाखी गरे’ उनले सम्झिए ।

विश्वप्रकाशको त्यो परीक्षाले उनीहरुबीचको प्रेम एकाएक झांगियो । आपसी विश्वास पनि त्यतिकै बढ्यो। विश्वप्रकाशप्रति कविताको सम्मान थप चुलियो । त्यसपछि ‘म तिमीलाई मन पराउँछु’ या ‘आई लभ यु’ भन्नुपर्ने आवश्यकता नै खड्किएन उनीहरुबीच ।

विवाह गर्ने निधो र प्रण


प्रेम झाँकिदै गएपछि विश्वप्रकाश र कविता विवाहको योजना बुन्न थाले । विवाहको प्रण गर्न मनकामना मन्दिर पुगे । सँगै एक हजार बत्ती बाले र मन्दिर अघि कहिल्यै नछुटिने वाचा गरे । त्यसको करिब चार वर्षपछि एउटै घरमा भित्रिए उनीहरु ।

कविता भन्छिन्, ‘हामीसँग अरु साथीभाइ पनि थिए। रमाइलो गर्दै मनकामना पुगेका थियौँ । एकछिन छुट्टै बसेर सल्लाह गर्यौँ बिहेबारे । मैले बारम्बार उहाँलाई सोधे मसँग दुःखी हुनुहुन्छ की ? बिहे अघि नै सोच्नुहोस । तर म नै दुःखी नभएपछि तिमी कसरी दुःखी हुन्छेउ भन्नु भयो । त्यो वाक्य सारै मन पर्यो अनि बत्ति बाल्दै बिहे गर्ने निधो गर्यौँ ।’

चुस्त गृहस्थी व्यवस्थापन र बलियो आत्मविश्वास


राजनीति आफैमा कठोर र चुनौतिपूर्ण पेशा । यसैलाई जीवनभर पेशा बनाउँछु भन्दा व्यक्तिगत र पारिवारिक अवस्था सोचेजस्तो हुँदैन कि भन्ने भय र चिन्ता दुवै थियो विश्वप्रकाशमा पनि। तर कविता उमेरले कान्छी भए पनि व्यवहारिक थिइन् उनी। सिकाएको कुरा मनन गर्थिन्।

कति कुरा विश्वप्रकाशबाट पनि सिकिन अनि कति कविताबाट उनले सिके । कविता भनिन्छ्, ‘राजनीतिककर्मीको श्रीमती हुन र कर्तव्य पूरा गर्न त्यति सहज त छैन । तर त्यो असहजतामा सहजता खोजिरहेका छौँ हामीले । किनकी त्यहाँ प्रेम छ।’ प्रवक्ताको जिम्मेवारी काँधमा परेपछि विश्वप्रकाशको बसाई राजधानीमा बाक्लिएको छ । झापामा कविता र दुई छोराछोरी एक्लै बस्छन् ।

तर घरको व्यवस्थापनदेखि सामाजिक सेवामा तल्लिन छिन् कविता । ‘मैले घर व्यवस्थापनमा ३ प्रतिशतमात्रै दिएको हुँला । बाँकी सबै कविताकै जिम्मामा छ । ९७ प्रतिशत घरको जिम्मेवारी सकेर उनले बाहिर पनि काम गर्न भ्याएकी छन् । छोराछोरी काविल छन्’, विश्वले भने ।

केही विशेष दिन आफ्नाका लागि मात्रै


विश्व प्रकाशले अठोट गरेका थिए जतिसुकै व्यस्त बनेपनि वर्षका केही विशेष दिन परिवारका लागि मात्रै छुट्याउने । आफ्नो अठोटबाट अहिलेसम्म डगेका छैनन् उनी । खासगरी भ्यालेन्टाइन डे, विवाह वर्षगाँठ, कविता र छोराछोरीको जन्मदिन र चाडपर्वहरुमा उनी परिवारसँगै हुन्छन् । सँगै घुम्न निस्कन्छन् । त्यस्ता विशेष दिनमा कहिले उनीहरु रक्तदान गर्छन् । कहिले बेसाहारालाई घर बनाउन पैसा दिन्छन् । त्यसले कवितालाई अत्यन्तै खुशी दिन्छ ।

‘मे जे काम गर्छु सतप्रतिशत तनमन दिएर गर्ने प्रयास गर्छु । वर्षभरि बाहिर भए पनि विशेष दिनमा म घर पुग्छु जसरी पनि अनि जहाँबाट भए पनि । त्यसले मलाई मात्र होइन कविता र छोराछोरीलाई खुसी दिन्छ’, विश्व प्रकाश भन्छन् ।

वर्षभरि विश्वप्रकाशसँग बिछोड या गृहस्थी सम्हाल्न कठिन भए पनि दुई चार दिनको भेटमा आफूलाई पूर्ण महशुस गर्छिन् कविता पनि । साता दिनको अस्पतालको बसाई पछि कविताले छोरीलाई जन्म दिएकी थिइन संघर्षकाबीच । त्यो पल विश्वप्रकाशको मानसपटलबाट कहिल्यै हटेन । खुसी जोडिएको त्यो दिन झनै विशेष लाग्छ उनलाई ।

घरभित्रै माइन्युटिङ्गसहितको समीक्षा बैठक


झगडाबिनाको के प्रेम ? प्रश्न गर्नेहरु पनि छन् । त्यसमाथि पतीपत्नीबीचको झगडा, परालको आगो भन्ने चलन छ तर हरेक दिनजसो पर्ने झगडाले उनीहरुको पेशा र सफल जीवनमा कति प्रभाव पर्छ भन्ने लेखाजोखा हुन्न । ससानो कुरामा चित्त नबुझेपछि एकअर्कासँग रिसाउने र फकाउने प्रवृति पनि छ दम्पतीबीच।

तर विश्वप्रकाश र कविताको घरमा त्यो नौलो अभ्यास छ जुन सम्बन्ध सुमधुर बनाउने कडीका रुपमा देखा परेको छ । परिवारका चार जनाले एकअर्कासँग चित्त नबुझेका कुरा आआफ्नो डायरीमा टिपोट गर्छन् र सम्भव भएसम्म एक महिनामा घरभित्र बैठक बस्छ । गहन समीक्षा गरिन्छ एकअर्काको बानी, व्यवहार र प्रगतिबारे अनि सुधार गर्नु पर्ने कुरामा हस्ताक्षर गरिन्छ । अघिपछि चित्त बुझेन भनेर अध्यारो अनुहार लगाउन पाईदैन ।

‘मलाई कहिलेकाँही चित्त बुझदैन उहाँसँग तर हाँसेर ढोका खोल्छु अनि डायरीमा टिपेर राख्छु र बैठकका बेला भन्छु’, कविता भन्छिन् ।

दुई छोराछोरीले पनि त्यो नियम पालना गरेका छन् । दिदीभाइबीच चित्त नबुझेका कुरा होस या बुवाआमासँग । उनीहरुले पनि खुलेर समीक्षा गर्छन् ।

कविता भन्छिन्ः छोरीले पनि हामीलाई भन्छिन् तपाईँहरुको यहाँ सुधार गर्नु पर्ने कुरा छ । सानै उमेरमा पनि परिपक्कता छाएको छ उनमा । चार कक्षामा पढ्छिन तर एफममा बालकार्यक्रम चलाइछिन्।’

विवाह वर्षगाँठको अघिल्लो दिन विश्व प्रकाश र कविताको एक्लै बैठक बस्छ जहाँ आफ्ना सम्बन्ध र चित्त नबुझेका कुराबारे छलफल हुन्छ ।

एकअर्काका प्रेरणाका स्रोत र अभिभावक


विश्व प्रकाशले राजनीतिमै जीवन सर्मपित गरेका छन् । उनको भागदौड जारी छ । कविताले आमा बनेपछि काम छोडिन् तर केही वर्षपछि विश्वप्रकाशले घच्घचाए, तिमीले घरबाट निस्केर जे सक्छौ त्यो गर्नु पर्छ भन्दै । कविता पुनः सक्रिय भइन महिलाको नेतृत्व विकासमा ।

मेचीनगर जेसिसको अध्यक्ष भइन् । र अहिले थुप्रै सामाजिक काममा सक्रिय छन् उनी । गीतसंगीतले यो जोडीलाई थप नजिक बनाएको छ । विश्वप्रकाश गीत लेख्छन् धुन बनाउँछन् । कविताले मिठो स्वरमा गाउँछिन् । दुवैले कविता कोर्छन पेशाका अलवा । तर कवितालाई चिन्ता छ विश्वप्रकाशका सिर्जनाहरु छरिएर मात्रै रहने हुन् कि उनको व्यस्त राजनीतिक जीवनका कारण ।

‘मेरो स्वास्थ्यदेखि सिर्जनाको चिन्ता छ उनलाई । मलाई उनले माया मात्रै गर्दिनन हरेक काम राम्रो गर्न प्रेरित गर्छिन् । शक्ति प्राप्त भएको छ उनको साथबाट,’ विश्वप्रकाशले हसिलो अनुहारका साथ भने । कविता विश्वप्रकाशलाई प्रेमी र पती मात्रै होइन अभिभावक समेत ठान्छिन् ।

कविताप्रति विश्वप्रकाशको धारणा पनि ठ्याक्कै उस्तै छ । ‘कविताका तीन छोराछोरी छन् मसहित’ विश्वले मुस्कुराउँदै भने ।