मनोविमर्शकर्ता कृपा सिग्देल । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
जो नेपालमै रमाए–४

अरुलाई सजिलो बनाउँछिन् जो, कृपा सिग्देल

दुखाउनलाई कुनै धारिलो सामानले काट्नु पर्दैन, तिखोले घोच्न पर्दैन। हामीले गर्ने व्यवहार अनि बोली नै कोक्काउने पीडाको कारण बन्छ।

आफ्ना हरेक समस्यामा परिवारको साथ खोज्ने कृपाले सोचेकै थिइनन्, उनी यस्तै अनगिन्ती पीडा सुन्छिन्, बुझ्छिन् अनि चिन्दै नचिनेका मानिसको भरोसा बन्छिन्।

हुन त हामीलाई चिन्दै नचिनेको मानिसलाई दुःख परेको देख्दा ‘च्व च्व’ गर्न आउँछ। अरुको आँखामा आँसु देखे आफ्नै आँखा रसाउँछ, तर अरुलाई दुःख परेको कारण जानेर समाधान गर्ने सामर्थ्य र हिम्मत कमैमा हुन्छ। हाम्रो अर्कै खालको स्वाभाव भनेको हामी दुःखबाट भाग्न खोज्नु, पीडाबाट उम्कन खोज्नु हो। आफैलाई केन्द्रमा राखेर अगाडि बढ्दा मनमा चसक्क घोच्ने कुरालाई ‘स्किप’ गर्न खोज्छौँ।

अवसर पायो कि आफ्नो दुःखेसो अरुलाई सुनाउन खोज्छौँ, कृपा सिग्देलले अरुको पीर सुन्ने काम गर्छिन्।

कृपा सिग्देल बन्ने यात्रा


उनको जन्म नवलपरासीको गैँडाकोटमा भएको हो। २८ वर्षकी भइन्। घरकी जेठी छोरी कृपा काठमाडौँ बस्न थालेको १२ वर्ष भयो।

पेसाले शिक्षिका हुन्। गोल्डन गेट कलेज र पद्मकन्या क्याम्पसमा साइकोलोजी (मनोविज्ञान) पढाउँछिन्।

उनी साइक–विज्ञान नेटवर्क नेपालमा संस्थापक सदस्य हुन्, अहिले उनी यहि संस्थाको कार्यकारी निर्देशक भएर काम गरिरहेकी छन्।

उनले मानिसका सम्बन्धमा आउने समस्या अनि युवालाई ‘काउनसिलिङ्ग’ (मनोविमर्श) गर्छिन्। एडोलोसेन्स, माइन्ड डिप्रेशन, एन्जाइटी उनका कार्यक्षेत्र हुन्।

स्नातकोतरसम्म अध्ययन सकेकी छन्।

मनको बह सुन्ने मनोविमर्शकर्ता



पढाईमा अब्बल थिइन्। कक्षा ९–१० मा पढ्दा एकाउन्ट विषयमा उनको नम्बर एकदमै राम्रो आउथ्यो। उनलाई पनि लेखाको टेबल बनाउन, डेबिट क्रेडिट छुट्याउन सारै रमाइलो लाग्थ्यो। साथीहरुले हौसाउथे, शिक्षकले तारिफ गर्थे।

मनमनै ‘चार्टर एकाउन्टटेन्ट’ बन्ने सपनाले आकाश छुँदै थियो। सिग्देलले आफूलाई कोट पाइन्ट लगाएर हातमा ल्यापटप बोकेर एउटा अफिसमा छिर्ने ‘एकाउन्टेन्ट’ युवतिको कल्पना गरेकी थिइन्।

तर…

एसएलसीमा आएको नजिताले उनको सपना भन्दा फरक बाटो हिँडायो। ‘उत्कृष्ट श्रेणीमा उत्तिर्ण भएपछि घर तिर साइन्स पढ्नुपर्छ भन्न थाल्नुभयो।’ कृपाले सम्झिइन्, ‘त्यो बेलामा ८० प्रतिशत कटेपछि त साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता थियो।’ परिवारमा प्लस टू पछि पनि एकाउन्ट पढ्न सक्छौ भने, उनले भनेको मानिन्।

एसएलसीपछि उनको पढाई ‘ए लेबल’ मा भयो। उनलाई विज्ञानसँगै अर्को विषय रोज्न पाउने छुट पनि थियो। उनले विज्ञानसँगै ‘एकाउन्ट’ को अध्ययन गरिन्। पास हुने बेलामा विशुद्ध विज्ञान नै भयो ।

उनका बाबा आमा खुशी भए। छोरीलाई डेन्टिस्ट बनाउने सपना थियो। त्यसको लागि उनले एउटा खुड्किला उक्लेकी थिइन्।

भविष्य कसले देखेको हुन्छ र ?



स्नातकमा भर्ना हुनु अगाडि कृपाको कुराकानी उनकै एक शिक्षकसँग भयो, जो ‘साइकोलोजी’ पढ्न गएको थाहा पाइन्। विषयको नाम थाहा पाएको पनि यही बेला हो।

धेरैलाई स्नातक तह सक्काउने बेलामा के के विषय हुन्छन्, आफ्नो उद्देश्य पूरा गर्न कुन विषय पढ्नुपर्छ भन्ने थाहा हुन्छ। कृपाले ए लेबल सक्काएपछि नाम सुनेको विषको बारेमा खोजी गरिन्। चासो बढेर आयो। अनि सामाजिक कार्य र मनोविज्ञानमा स्नातकको अध्ययन गरिन्।

मुस्काउँदै उनले भनिन्, ‘म जासुस सम्बन्धी किताब पढ्थेँ, विषयको बारेमा खोजी खबर गर्न अल्छि लागेन।’
इनटर्नसीप गर्दागर्दै कामको अफर आयो, बिस्तारै अफिस खोलिन्, काउनसिलिङग गर्न थालिन्। स्नातकोत्तर सकेर आफै पढेको कलेजमा पढाउन थालिन्।

उनले १० कक्षामा पढ्दा देखेको सपना केही यथार्थमा परिणत हुँदै थिए, उनी ल्याप्टप बोक्ने भइन्, अफिस जाने पनि भइन् तर एकान्टेन्ट होइन, अब उनी काउन्सिलर भईन्।

काम बुझाउन गाह्रो


मनोविज्ञान सामाजिक विज्ञानको विषय हो। केही समय यस्ता पनि थिए, जहाँ साइन्स, म्यानेजमेन्ट बाहेक अरु विषयलाई पढ्ने विषय नै मानिदैन थियो।

‘मले सोसल वर्क पढ्दा सामाजिक विषयलाई विषवस्तु नै मानिदैन थियो, धेरै इनटर्नसीप जानुपर्ने भएकोले आफन्त भेट हुने थिएन।’ उनी भन्छिन्, ‘साइकोलोजी सोसल साइन्स हो यसमा हामी बायोलोजीको कुरा गर्छौँ, बायोलोजीको पस्पेक्टिभ मेथड्स पनि पढ्नु पर्छ।’ आफन्तले परिवारलाई सोध्थे रे छोरी गर्छे चाँही के ? सधैँ बिजी हुने छोरीको आउटपुट केही देखिएको थिएन।

पछि पत्रपत्रिकामा लेख आउन थाल्यो, त्यो लेख पढ्न थालेपछि। काममा उनी इन्गेज हुन थालेपछि अब भने सबैले उनको कामलाई अलि अलि बुझे।

उनको काम अरुको पीडा सुन्ने र त्यसलाई समाधान गर्नका लागि विकल्पहरुको खोजीका लागि सहयोग गर्ने हो भन्नेमा अब कसैलाई कन्फ्यूजन छैन।

सुन्ने र समाधानका लागि विकल्प खोज्ने सघाउने काम


कृपाले यो क्षेत्रमा काम गर्न थालेको सन् २०१४ बाट हो।

पद्मकन्या क्याम्पसको खालि चउरमा उनी पलेटी मारेर साथी सुजन श्रेष्ठसँग गफ गर्दै थिइन्। उनी आफ्नो कामको बारेमा भन्न थालिन्, ‘कति पीडाहरु साँच्चै नै अप्ठ्यारा हुन्छन्। सुन्ने मान्छे चाहिएको हुन्छ। हामी उनीहरुको सबै कुरा सुन्नलाईमात्र सुन्दैनौँ। त्यसको समाधानको बाटो खोज्नु पर्छ। तर त्यो समाधान उनीहरुकै सम्भावनाहरुबाट उनीहरुलाई नै सक्रिय बनाएर खोजिने हो। हामीले त्यसका लागि सहजीकरण गर्ने।’

कुनै कुनै समस्या असाध्यै जटिल हुन्छन्, ‘मैले इनटर्नसीपको बेलमा भेटेको एक पात्र असाध्यै अनौठो थिए, साइकोटिक केसेज भन्छौ हामी, ‘आउट फ्रम रियालिटि’ जुनियर असिस्टेन्ट भएर काम गर्दा एक महिलाले काउनसिलिङ्ग गरिराख्नुभएको म्यामलाई भनिन् ‘पछाडि खुर्पा लिएर मेरो सासु बस्नु भएको छ।’ त्यो कुरा हाम्रो लागि वास्तविक होइन, तर उनी त्यसैमा बाँचिरहेकी थिइन्। उसलाई स्किजोफेनिकको बिरामी भनिन्छ। उसलाई काउनसिलिङ्ग र औषधि दुवै आवश्यक छ।’

‘तपाईँ डाक्टर हुनुभयो है ?’

हाँस्दै उनले भनिन्, ‘पिएचडी गरे भने, पक्कै भन्न सकिन्छ।’

२०७२ सालको भूकम्पपछि मनोवैज्ञानिक समस्याको बारेमा कुरा गर्ने वातावरण केही सहज भएको छ। यो भन्दा अगाडि मनोवैज्ञानिक समस्यालाई पागलपनको नाम दिने गरिन्थ्यो। तर अहिले मनोवैज्ञानिस समस्यालाई काउन्सिलिङ् गर्दा ठीक हुन्छ भनेर विश्वास गर्नेको जमात पनि बढेको छ।

त्यसैले पहिला भन्दा अलि धेरै मानिस आउँछन्, मनको भारी बिसाउछन्। अनि खुशी अनुहार लिएर जान्छन्।

उनी पनि खुशी छन्


स्वाभाव आफ्नै आफ्नै, कसैलाई लिएर खुशी मिल्छ कसैलाई दिएर। कृपा अरुको समस्या सुनेपछि अरुलाई हलुका महशुस गराउँछिन् अनि आफू पनि खुशी हुन्छिन्।

एक दुई कामहरु भए जसले उनलाई गर्वान्वित महशुस गराएको छ।

– स्नातकमा युनिभर्सिटि टप गर्दा, उनलाई बुझेर पढ्दा सकिने रहेछ भन्ने लाग्यो।

– आफ्नो काम देखेर बाबाआमा मख्ख पर्दा,

– कोही कोही भाइबहिनीले ‘तपाईँको कारणले साइकोलोजी पढ्न गएको’ भन्छन्।

गर्नु त धेरै छ, तर उनलाई यस्ता खुसीले ‘होस्टेमा हैसे’ बनाइदिन्छ।

घरको वातावरण राम्रो हुनुपर्छ


अरुको पीडाको गाथा सुन्दा मन भारी हुनु स्वाभाविक हो। उनी दिनहुँ जसो समस्या मात्र सुनेर आउछिन्, आफूमा प्रभाव नपरोस् भन्ने प्रयास त हुन्छ तर सधैँ सफल भइँदैन। यस्तो बेलामा कृपाकी आमा साथी हुन्छिन्। आमा गृहणी हुन्।

असाधारण केसहरु आएमा उनी आफ्नो आमासँग कुरा गर्छिन्। सबै समस्याको समाधान हुन्छ। भोलिपल्ट जोश उस्तै जाँगर पनि उस्तै।

उनको परिवारमा बाबा, आमा अनि भाइ छन्। बुबाको ट्राभल एजेन्सी छ ।

भाइ अमेरिकामा मेकानिकल, एरोस्पेस इन्जिनियरिङ, पढ्दैछन्।

उनलाई लाग्छ, ‘राम्रो काउनसिलर हुन परिवार राम्रो हुनपर्छ नत्र सकिँदैन। काम पनि राम्रो हुन्न दाम पनि राम्रो हुन्न।’

सम्भावना टन्‍ने छ



ए लेबल पढ्दा उनका साथीहरुबाहिर गए, उनी पनि जान खोजिन्। तर छोरीलाई एक्लै नपठाउ भन्ने परिवारको प्रतिक्रिया आयो।

मनोविज्ञान पढेपछि उनले बाहिर सेटल हुन जाने सोचिनन्। पैसाचाँही चाहेको जत्ति हुँदैन। काममा सन्तुष्ट भएर उनले अरु पेसाबाट हुने कमाईमा आफ्नो कामलाई कम्पेयर ने गरिनन्।

प्रोजेक्ट आएको बेलामा कमाएको पैसाले व्यवहार चल्छ। अरु बेलालाई साइड काम छँदैछन्। जुन काममा लागिन् त्यसैभित्र सम्भावना खोजिन्।

पहिला पहिला जुनियर काउनसिलर, लेक्चरर अनि अहिले काउन्सिलिङ्ग पनि।

उनलाई अवसर रुखलाई ढाकेर बसेको लहरा जस्तै लाग्छ, ‘सुरुमा लहरा भेट्न गारो, भेटेपछि जति ताने पनि आइरहन्छ।

साउनको १५ मा जन्मेकी हुन् कृपा। नेपालीहरुले त्यो दिन खिर खान्छन्। आफ्नो काम पनि पनि खिर जस्तै मिठो मान्दै उनी अगाडि बढ्दैछिन्।

(स्वदेशमै मेहनत गर्ने युवाहरुको परिश्रम कथाको शृङ्खला हो–जो नेपालमै रमाए । सम्भावनाहरुको बाटोमा रमाएका युवाको सकारात्मक प्रयासलाई सम्मान गर्ने उद्देश्यसहित प्रतिनिधि युवाका ‘कर्म–कथा’ यो शृङ्खलामा प्रस्तुत गरिरहेका छौँ । शृङ्खलाको यो चौथो कथा हो । )

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

फाल्गुन २, २०७५ मा प्रकाशित