पोखराका दुई स्थानमा आकाशे पुल, १० चोकमा ट्राफिक लाइट

पृथ्वीचोकमा निर्माण हुने पुलको इन्जिनियरिङ डिजाइन। स्रोत-पोखरा महानगरपालिका

पोखरा-व्यस्त मानिने पोखराको दुई मुख्यचोकमा महानगरपालिकाले १५ महिनामा काम सक्ने गरी आकाशे पुल निर्माणको काम थालेको छ।

महानगरले करोडौं लागतमा पृथ्वीचोक र सिर्जनाचोकमा पैदलयात्रीहरुलाई सहज आवागमनका लागि आकाशे पुल निर्माणका लागि टेण्डर प्रक्रियामा जाने कामको प्रक्रिया अघि बढाएको हो।

बन्ने पुलको टेण्डर प्रक्रियामा जानु अगावै महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काले सोको लागत स्टिमेट, डिजाइन र निर्माण अवधि बारे एक कार्यक्रमका बीच जानकारी दिए।

‘सृजनाचोकमा बन्ने पुलको टेण्डर प्रक्रियामा जानको लागि सबै काम सकिसकेका छौं,’ उनले भने, ‘अबको केहिदिनमा टेण्डर आह्वान गरेर निर्माणको काम सुरु हुनेछ।’ कम्पनीमा पुलका सामग्री निर्माण गरेर एकैपटकमा चोक ल्याएर फिटिङ गरिने भएको छ।निर्माण अवधिभर चोकमा ट्राफिक व्यवस्था नबिगार्न यस किसिमको प्रविधि प्रयोग गरि पुल निर्माण हुने जनाइएको छ।

सृजनाचोकमा बन्‍ने आकाशे पुलको लागत झण्डैं साढे दुई करोड रुपैयाँ अनुमान छ। १५ महिनामा पुल निर्माण भइसक्ने इन्जिनियर खड्काले जानकारी दिए। चालु आर्थिक वर्षको बजेटले मात्रै नथेग्ने भएकाले हुँदा आगामी आर्थिक वर्षको अन्तसम्ममा काम सक्ने गरी प्रक्रिया थालिएको उनको भनाई छ।

३ करोड रुपैयाँ अनुमानित लागतमा पृथ्वीचोकमा आकाशे पुल निर्माण गर्न सकिने प्रस्तावित बजेट तयार सहित इन्जिनियर अध्ययनको प्रक्रिया अघि बढिरहेको इन्जिनियर खड्काले बताए।

पैदलयात्रीहरुलाई बाटो काट्न बनाइएको जेब्राक्रस मौसमी प्रभावका कारण छिटै मेटिने भएकाले जथाभावी बाटो काट्न बाध्य बटुवालाई राहत मिल्ने विश्वास लिएको मेयर मानबहादुर जिसीले सुनाए। पुल निर्माण भएपछि पोखराको ट्राफिक व्यवस्थापनमा समेत थप सहज हुने मेयर जिसीले बताए।

सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलका लागि कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सांसद एवं हालका पर्यटन, संस्कृति एवं नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले संसद विकास बजेट कार्यक्रम अन्तर्गत ५० लाख विनियोजन गरिसकेका छन्।बाँकी रकम महानगरले खर्च गर्ने भएको छ।

चालु आर्थिक वर्ष २०७५÷०७६ मा ओभरहेड पुल, सब-वे अध्ययन डिजाइन र निर्माण शीर्षकमा महानगरको पूर्वाधार विकास कार्यक्रममा १ करोड रुपैयाँ विनियोजन भएको छ।महानगरले वि.सं. २०६६ सालदेखि पोखरामा आकाशे पुल निर्माणका लागि नगरपरिषद् बैठकद्वारा निर्णय गर्दै आएको भएपनि जनप्रतिनिधि चुनिएर आइसकेपछि मात्रै यस एजेण्डाले गति लिएको हो।

१० चोकमा ट्राफिक लाइट राख्‍न सर्भे


सडक डिभिजन कार्यालय र पोखरा महानगरपालिकाको समन्वयमा पोखराका १० ठाउँमा ट्राफिक लाइट राख्न सर्भे गरेको छ।सडक डिभिजन कार्यालयले, अमरसिंह, पृथ्वीचोक, जिरो किलोमिटर, बिरौटा चोक र सिर्जना चोकमा २४ सै घन्टा ट्राफिक लाइट राख्‍ने गरी सर्भे भएको महानगरका डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए।

सडक डिभिजन कार्यालयबाट सर्भे गरिरहेको टोलीलाई पोखरा महानगरपालिकाले पनि समन्वय गरी सर्भेको काम अगाडि बढाइरहेको हो। मुख्य राजमार्गसँग जोडिएका चोकमा सडक डिभिजन र अरु चोकमा पोखरा महानगरपालिकाले ट्राफिक लाइट जडान गर्ने योजना छ।

महानगरपालिकाले चिप्लेढुंगा चोक, महेन्द्रपुल, सभागृह चोक, राष्ट्रबैंक चोक र हलनचोकमा ट्राफिक लाइट जडान गर्ने योजनासहित सर्भे अगाडि बढाएको मेयर मानबहादुर जिसीले जानकारी दिए।

सर्भेपछि डिपिआरसहित रिर्पोट आउने र त्यसपछि ट्राफिक लाइट जडानको काम अघि बढ्ने मेयर जिसीको भनाई छ।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्