देशसञ्चार प्रेमपत्र प्रतियोगिता

माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि

प्रिय,

प्रेमको कुनै धर्म र जात हुँदैन। भूगोल हुँदैन। त्यसैले होला प्रिय, तिमीलाई मैले धेरै माया गरेको छु। म जहाँ गए पनि मेरो यात्राको सहारा र सहयात्री तिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि। मानसपटलमा आइरहने धेरै कुराहरुमध्ये तिम्रो याद भने निकै प्रस्ट भएर आइरहेको हुन्छ?

हरेक साँझ पर क्षितिजमा सुन्तला रङको अवशेष छोडेर घाम अस्ताउँछ तर मेरो मन भने झन् गुलाबी भएर तिमीलाई सम्झिरहन्छ। त्यसै पनि हुनसक्छ तर, किनकिन आज तिम्रो याद झनै बढेको छ। हुन त, तिमीलाई सम्झिन यो दिन घुमिरहनुपर्दैन। मसँग त्यस्तो कुनै पल छैन, जहाँ तिम्रो याद नहोस, त्यो सास पनि अपुरो हुन्छ, जहाँ तिम्रो याद मिसिएको हुँदैन। हाम्रो प्रेमको अस्तित्व त्यही हो।

मन्दिर जानुभन्दा अघिल्लो दिन थियो, बिहान सबेरै छ, घामका धर्साहरु तन्नेरी हुँदै थिए। मनसँग मनको रङ मिलेपछि नै माया बस्ने हो। धेरै पहिलादेखि नै रङहरु मिलेको मन आधिकारिक रुपमा जब हामी एक भयौँ, तब हाम्रो प्रेमको दियो झनै बल्यो। जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ, त्यसरी नै हृदयलाई प्रेमको प्यास हुन्छ। जो प्रेमको अभावमा जिउन बाध्य छन्, उनीहरुको शरीर जस्तोसुकै देखिए पनि आत्मा भोकै हुन्छ र अन्तर्मनले शतत् प्रेम मागिरहेकै हुन्छ।

तिमीलाई थाहा पनि होला, प्रेम बिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ। प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ रे। त्यसैले पनि मैले तिमीलाई माया गरिरहेको छु, हिमाली जडिबुटी जस्तै अर्गानिक माया, आऊ हामी माया गरौं। प्रेम गरौं। विकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ भ्यालेन्टाइन्स डे मनाऔं र प्रेमको सम्मान गरौं।

हल्का मुस्काएँ, यथार्थ त्यही थियो। त्यो अबोध बोलीले तिम्रो याद झनै बढाएको छ। तिम्रो माया छ अनि मात्रै मैले मेरा हरेक अस्तित्व पाएको छु। तिम्रो मायाबिना त म शून्य हुनेछु। थाहा छ, सायद यो हदभन्दा बढी नै माया हो। किनकि मेरा सारा अस्तित्वहरुसँग तिम्रो माया गाँसिएको छ।

मेरा नजरमा तिम्रो आकर्षण कतै टाँसिएको छैन। म तिमीलाई प्रेम गरिरहेको हुन्छ, हरपल याद गरिरहन्छु। तिमी यति धेरै पवित्र छ्यौ कि भगवानले पनि तिमीमाथि अपवित्रताको दाग लगाउन सक्दैन। प्रेमलाई केवल प्रेमी प्रेमीकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ।

यहाँका सबै प्राणीहरुबीचमा मायाको शीतल आँचल लहराइरहोस, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि। माया र आफ्नो मायालुप्रति बफादार बनौं पनि। माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताइदिनुहोस, तपाईँ कति माया गर्नुहुन्छ भनेर? भेट्न सम्भव छ भने भेटिदिनुहोस, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला। मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौँ- यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ।

प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो। मायाका नाममा कुनै दुर्व्यवहार नगरौं, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔं। बलजफ्ती प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो।

त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टौं घोरिएर शब्द रोजी रोजी पठाएका एसएमएसहरु, रातिराति लुकेर गरेको च्याट, रिप्लाइ कुर्दै अनिँदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू। आज लुकीचोरी धेरैजनाले आफ्ना मायाका भावनाहरु साटासाट गर्नेछन्, धेरै प्रेमकथाहरु सफल भएर जीवनको गोरेटोमा सहयात्राका कथाहरू लेखिएलान् भने कति त्यस्ता प्रेमकथाहरुमा ब्रेक पनि लाग्लान् तर यसको अर्थ संसार सक्किएको होइन, तपाईँलाई माया गर्ने पात्रको खडेरी परेको हैन, शायद! तपाईँलाई धेरै माया अर्कै पात्र अन्त कतै छ.. कुरिबसेको छ।

एउटा अचम्मको तथ्य के छ भने, ‘संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन।’ अर्थात माया सहज छैन, उदाहरणका लागि भगवान श्रीकृष्ण अनि राधाबीच समेत विवाह भएको थिएन, मुनामदन, हिर र राँझादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन् तर यी प्रेमी जोडीलाई आज पनि संसारले आदर र महत्वकासाथ प्रेमील मनमा अमर राखेका छन् केवल चोखो मायाका कारण। मनै त हो, स्विकारिए पनि या अस्वीकार भए पनि आत्तिने अनि मात्तिने नगरौं। आफूले एकोहोरो चाहँदैमा त्यो माया प्राप्त हुनैपर्छ भन्ने जरूरी छैन, मूल कुरो हो एकअर्काबीच अचानक जुट्न पुग्ने मनको तार, जुन जब बज्छ थाल्छ तब सबै प्रेमील सङ्गीत अपूरा लाग्न थाल्छन्, दिनभरिका कुराहरू अधूरा लाग्न थाल्छन्।

प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो। मायाका नाममा कुनै दुर्व्यवहार नगरौं, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔं। बलजफ्ती प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो। आकर्षण त फेरि सक्किएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जुगौँजुग अमर भई बाँच्नेछ। प्रेमलाई केवल प्रेमीप्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ।

यहाँका सबै प्राणीहरुबीचमा मायाको शीतल आँचल लहराइरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्