जानकी आँखा अस्पतालमा कागजी विवाद, ओपीडी टिकटमा व्‍यापक अनियमितता

धनुषाको जनकपुरधाम वडा-८ स्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्‍चालित जानकी आँखा अस्पताल। तस्बिर-देश सञ्‍चार

जनकपुरधाम-जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा विगत केही दिनयता कागजी विवाद जारी रहेको समयमा ओपीडीको टिकट छपाईमा अनियमितता भएको खुलेको छ।

धनुषाको जनकपुरधाम वडा-८ स्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्‍चालित जानकी आँखा अस्पतालमा कार्यरत कर्मचारीहरुले अवकाश पाइसकेका कर्मचारीलाई विदाइ गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेको बेलामा अवकास प्राप्त कर्मचारीले फर्जी बिल बनाएर लाखौंको अनियमितता गरेको रहस्य बाहिर आएको हो।

अस्पतालका कर्मचारीहरुले ओपिडी टिकट छपाईमा भएको अनियमितता, अवकाश प्राप्त कामु प्रशासक रामनरेश पाण्डेलाई बिदाइ गर्नुपर्ने लगायतका माग राख्दै कर्मचारीहरू विगत दुई साता देखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आईरहेको छन्। तर मागको सम्बन्धमा व्यवस्थापन पक्षले सुनुवाई नगरेपछि माघ २४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापन पत्र बुझाएको थियो।

यता अषाढ ५ गते मै अवकाश प्राप्त भइसकेका कामु प्रशासन रामनरेश पाण्डे अवैद्यानिक तरिकाले हाजिरी गर्दै आएपनि नेपाल रेडक्रस सोसाईटीका सभापति डा. विजय कुमार सिंह र अस्पताल प्रमुख डा. हेमचन्द्र झाले कुनै चासो नलिदा कर्मचारीहरले बिरोध गरेका थिए।

सोही क्रममा माघ २९ गते विभिन्न नेपाली काँग्रेसको भातृसंगठन तरुण दल र राजपाका केही नेताहरु पाण्डेको हाजिरीका लागि दबाब सृजना गर्न पुगे। सोही क्रममा उनीहरुले अस्पतालको प्रशासन फाटमा तालाबन्दी समेत गरेका थिए।

राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य सतिसलाल कर्ण, कोषाध्यक्ष रामविनोद चौधरी (पप्पु), सचिव धिरेन्द्र बहादुर सिंह, तरुण दलका पंकज महतो लगायतको टोलीले अस्पतालमा ताला लगाएको थियो।

तालाबन्दीका कारण सेवाग्राहीहरु प्रभावित भएपछि बुधवार प्रदेश-२ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको सक्रियता तथा धनुषाको प्रजिअ कणेलको सक्रियताले स्थानिय प्रशासनको पहलमा ताला फुटाइएको थियो।

यता, तालाबन्दी कर्मचारीहरुको आन्दोलनलाई भाँड्ने षड्यन्त्र भएको तथा कामु पाण्डे निकट व्यक्तिले बचाव गर्ने प्रयास गरिरहेको कर्मचारी दिपेन्द्र सिंहको दाबी छ।

पाण्डेको नियूक्ति र अवकास पत्र


अस्पतालका तत्कालिन सभापति मकेश्वर प्रसाद सिंहको पालामा रामनरेश पाण्डे कार्यालय सहायकको रुपमा मिति २०४४ बैशाख १ गते अस्थायी नियूक्ती पाएका थिए । २०४५ असार ६ गते उनले स्थायी नियूक्ती प्राप्त गरे। उनले ३० बर्ष सेवा अवधी पुरा गरिसकेको भए पनि अझै हाजिरी गर्ने गरेका छन्।

प्रशासनिक तथा कर्मचारी नियमावली २०५४ (२०६३) संशोधन सहितको परिच्छेद ६ को दफा (६.१) को उपदफा १ अनुसार अस्पतालमा ३० बर्ष सेवा अवधी पुरा भएको कर्मचारीलाई अनिवार्य अवकास दिने व्यवस्था गरिएको छ।

यसै व्यवस्था अनुसार कामु प्रशासकको रुपमा कार्य गर्दै आएका पाण्डेलाई अवकास दिनुपर्ने कर्मचारीहरुको माग छ। यस दफा उपदफाको आधारमा पाण्डेले नै कर्मचारीहरु क्रमशः राजेन्द्र प्रसाद गोइत, राधा कापर र बैजु सुफललाई अवकास पत्र थमाएका थिए।

यद्यपी आफ्नो प्रसंगमा भने उनले यो कानुनलाई लागू गर्न मानेका छैनन। चलानी नं. ९४/०७५–७६ रहेको अस्पतालद्वारा पठाइएको अवकास पत्र लिन पाण्डेले निरन्तर इन्कार गर्दै आएका छन्।

अस्पतालको ओपिडि टिकट छाप्ने जिम्मा पाएका जानकी अफसेट प्रिन्टिङ्ग प्रेसको सञ्‍चालक समेत रहेको भनिएका राजपा नेपाल धनुषाका कोषाध्यक्ष पप्पु भनिने रामबिनोद चौधरी र अवकास प्राप्त कामु प्रशासक रामनरेश पाण्डेले छपाइमा अनियमितता गरेको खुलेको छ।

कर्मचारीहरुको आन्दोलन चलिरहेकै बेला अस्पतालमा तालाबन्दी समेत गर्न पुगेका पप्पु र प्रशासक पाण्डेबीच छपाईको टेण्डर सम्बन्धि सेटिङ्ग रहेको र सोही कारण पाण्डेको बचावमा पप्पु लागि परेको कर्मचारी मनोज तिवारीको दाबी छ।

२.९५ पैसाको टिकटलाई ९.५० पैसामा बिलिङ्ग


गतवर्ष २०७४ फागुन १० मा जानकी अफसेट प्रिन्टिङ्ग प्रेसले १ लाख प्रति ओपिडी टिकट छापेको थियो। गत वर्ष २ रुपैया ९५ पैसाको दरले भ्याट बाहेक २ लाख ९५ हजार रुपैया प्रेसलाई भुक्तानी गरिएको छ।

सोही ओपिडि टिकट यस वर्ष ९ रुपैयाँ ५० पैसाका दरले छापिएको छ । प्रेसले २०७५ माघ १३ मा १ लाख २० हजारप्रति ओपीडी टिकट वापत ११ लाख ४० हजार र ५ हजार प्रति नगदी रसिद वापत १ लाख ५० हजार रुपैयाँ गरी भ्याट सहित जम्मा १४ लाख ५७ हजार ७ सय रुपैयाँको बिल पेश गरेको पाईएको छ।

एक वर्ष भित्रै छपाई शुल्कमा झण्डै तेब्बर भन्दा बढी बृद्धि भएको छ। प्रिन्टिङ्ग प्रेसले पेश गरेको दुबै बिलको बिजक नं. १ रहेको छ। वर्षको अन्त्यतिर बिजक नं. १ हुनु र त्यो दुवै बिल एउटै संस्थामा पेश हुनुले पनि पाण्डे र पप्पु बीचको कनेक्शनलाई प्रमाणित गरेको अस्पतालका कर्मचारी नुतन झा बताउँछन्

उता,अवकास प्राप्त कामु प्रशासन रामनरेश पाण्डेको नियुक्ति सम्बन्धमा जिल्ला प्रशासन कार्यालय धनुषाले ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई पत्रचार गरेपनि छानबिन हालसम्म शून्य अवस्थामा छ।

सत्य तथ्य बुझेर प्रतिवेदन पेश गर्न मिति २०७५ माघ २४ गते नै जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपनि ९ दिन वितिसक्दा समेत जनस्वास्थ्य कार्यालयले प्रतिवेदन बुझाएको छैन।उक्त प्रतिवेदन पेश गर्ने जिम्मा पाएका संयोजक दिपेन्द्र रायले कार्यसम्पादन नगरेका कारण अहिले सम्म प्रतिवेदन बन्न सकेको छैन्।

संयोजक राय कामु प्रशासक रामनरेश पाण्डेको नातेदार रहेको हुँदा प्रतिवेदनमा ढिलाई गरिएको आँखा अस्पतालका कर्मचारी सुभद्र मण्डलको आरोप छ।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्