भ्याक्सिन उत्पादन गर्ने कम्पनी संचालनमा, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं– कुखुरादेखि अन्य चौपायाहरुलाई आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने कम्पनी संचालनमा आएको छ।

गोल्छा संगठन र हेस्टर बायोसाइन्सेज लिमिटेड इन्डियाको संयूक्त लगानी रहेको हेस्टर बायोसाइन्सेज नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका हुन्।

उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले हेस्टर बायोसाइन्सेज नेपालको संचालनले किसानहरुलाई पशुपालनमा मद्दत पुग्ने र अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। हेस्टर बायोसाइन्सेज नेपाल निजी क्षेत्रद्वारा सञ्चालित अग्रिम हेल्थ केयर कम्पनीको रुपमा परिचित भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो। यसले ९० प्रतिशत भन्दा बढि भ्याक्सिनहरु निर्यात गर्छ।

त्यस्तै उद्घाटन अवसरमा पुगेका अर्थमन्त्री युवराज खतिवडाले यस्त प्रकारका उद्योगहरु सञ्चालनमा प्राथमिकता दिनुपर्ने बताए।

हेस्टर बायोसाइन्सेज नेपालका सीईओ तथा प्रबन्ध निर्देशक राजीव गान्धीले यस उद्योगसँग पशुहरुका रोग निको पार्न आवश्यक पर्ने भ्याक्सिन उत्पादन गर्ने उन्नत प्रविधि रहेको जानकारी गराए। कम्पनीले सहुलियत मूल्यमा गुणस्तरीय उत्पादन गर्ने र पशुपालनमा भोग्दै आएको समस्याहरुलाई निर्मूल पार्नेमा आफु विश्वस्त रहेको बताए।

गोल्छा संगठनका कार्यकारी निर्देशक शेखर गोल्छाले नेपालमा पशुजन्य उत्पादन वृद्घि भइरहँदा सरकारले पशुहरुको हेल्थ केयर कम्पनीलाई प्रवद्र्घन गर्न उच्च प्राथमिकता दिनुपर्ने माग गरे।

उनले नेपाललाई पशुहरुका लागि आवश्यक पर्ने भ्याक्सिन उत्पादनमा आत्मनिर्भर बनाउन र भेडा र बाख्राहरुमा लाग्ने पीपीआर रोगलाई हटाउन सरकारले सहयोग गर्नुपर्ने बताए। यस उद्योगको संचालनले नेपालमा रोजगारी सृजना गर्ने र राजस्व पनि वृद्वि गर्ने बताए।

यस कम्पनीको वार्षिक कुल उत्पादन क्षमता १ दशमलव २४ विलियन डोज लाइभ र सक्रिय भ्याक्सीन हो। हाल कम्पनीको २० भ्याक्सिनका लागि लाइसेन्स प्राप्त गरिसकेको छ । २७ भ्याक्सिनहरु लाइसेन्स्को तयारीमा छन् । कम्पनीले २ करोड डोज भ्याक्सीनहरु निर्यात गरिसकेको छ।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्