कामले जीवन सहज बनाएका सहजनाथ । तस्बिर : बर्षा शाह/देश सञ्चार

‘परिश्रमको फल मिठो हुन्छ’

तर, कति मिठो हुन्छ अनि चाख्नलाई कति कसरत गर्नुपर्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ।

महाराजगञ्जको ‘द स्ट्यान्डर्ड नर्सरी’ को एक कुनामा हल्का खैरो रंगको स्वीटर अनि फर्मल प्यान्ट, जुत्ता लगाएका एक युवक बँगैचामा खसेका न्याफ्किन पेपर टिप्दै थिए। ‘मिटिङ्ग हल’ को टेबलको खुम्चिएको कपडा (टेबल पोस) तन्काउदै थिए।

बेलाबेलामा पाहुनाले खाजा खाएको प्लेट पनि उनको हातमा देखिन्थ्यो। को आयो, कसलाई के चाँहिएको छ सबै ख्याल राख्दै थिए। त्यहाँ आउँने जति सबैलाई बस्न, खानलाई सहज बनाउँदै थिए।

सहजनाथ खड्का

वर्ष २६

पेशा – हस्पिटालिटी

‘अराउन्ड द कर्नर’ का एक मालिक।

यो रेस्टुरेन्ट ‘द स्ट्यान्डर्ड नर्सरी’ भित्र २ रोपनी जग्गामा छ।

व्यवसायी बन्ने यात्रा


२६ वर्षका सहज हस्पिटालिटी बिजनेश गर्छन्। उनको पुर्खौली घर दोलखा हो। उनी सानैमा काठमाडौँ आएका हुन्। विद्यालयपछि प्लस टू भिएस निकेतनमा अनि स्नातक सिल्भर माउनटेन स्कूलमा होटल म्यानेजमेन्टमा गरेका हुन्।

‘एस एलसी पछि पढ्न खोज्दा कि ‘बुम’ कि हस्पिटालिटी पढ्न पाइन्थ्यो। मलाई यही पढौँ जस्तो लाग्यो।’ सहजलाई एस एलसी पछिको पढाई अगाडि बढाउँदा अरु अप्सन थिएन। उनी भन्छन्, ‘जे लिएर पढेछु ठीकै भएछ।’

स्नातक अध्ययनको क्रममा उनी मलेसिया र दुबई इनटर्नसीपको लागि गएका थिए। नेपालका केही होटलमा पनि उनले इनटर्नसीप गरेका छन्। त्यसपछि २०७२ सालको भूकम्पपछि उनले आफ्नै व्यवसाय सुरु गर्ने अवसर पाए।

अहिले अराउण्ड द कर्नरको आफ्नै ब्रान्च सुकेधारमा छ। यो कर्नर विशेषगरी कफीको लागि बनाइएको सहजले बताए। उनले यो दुई बाहेक अरु पाँचवटा व्यवसायमा पार्टनरसीप गरिसकेका छन्।

अराउण्ड द कर्नरको प्रपोज


५० रोपनीमा फैलिएको स्ट्याण्डर्ड नर्सरीमा पहिलादेखि नै ‘अराउण्ड द कर्नर’ रेस्टुरेन्ट थियो। जापनिज एक महिलाले सञ्चालन गरिरहेकी थिइन्। बिचमा बन्द भयो।

भूकम्पपछि सामाजिक काममा हिँड्दै गर्दा उनलाई चिन्नेले रेस्टुरेन्ट फेरि सञ्चालन गर्ने प्रस्ताव राखे, अनि सुरु भयो उनको व्यवसायिक यात्रा। उनलाई प्रस्ताव आउँदा उनी मलेसिया थिए। सुरुमा पाँच लाख लगानी गरेका थिए, अहिले सिजनको बेलामा पाँच देखि ८ लाख आम्दानी हुन्छ।

उनी प्रस्ट अंग्रेजी बोल्छन्। उनीमा नेतृत्वको क्षमता छ। अनि कहिले काहिँ सामाजिक काममा पनि हिँड्ने गरेकोले उनी केही व्यक्तिहरुबिच परिचित छन्, सम्बन्ध राम्रो छ। उनी यो सबै सीप उनमा ‘हस्पिटालिटी’ को अध्ययनले विकास गरेका बताउँछन्।

सामाजिक काम गर्न उनलाई मन लाग्छ। उनले केही समय ओमन फर पिस डेमोक्रेसी नेपाल भन्ने गैरसरकारी संस्थामा काम गरेका छन्। भूकम्पमा उनी र उनका टोली मिलेर उद्धार अनि राहतको काम गरेको थियो। उनी कुकुर प्रेमी हुन्।

उनको रेस्टुरेन्ट अनि घरमा गरेर जम्मा १३ वटा कुकुर छन्। अराउण्ड द कर्नरमा ‘टाइगर र माया’ नामका कुकुर बाहिर देखिन्थे।

फागुन २ गते उनी आफ्नो रेष्टुरेन्टबाट केही युवाहरुको सहयोगमा गल्लि वरपरको कुकुरलाई खाने कुरा खुवाईरहेका थिए।

मेहनतको काम


सहजले काम गर्ने अवसर पाउँदा उनी मलेसिया थिए। यहाँ आएर नयाँ काम सुरु गर्नु उनको लागि चुनौति र अवसर दुवै थिए। खड्काले सुरु सुरुमा रेष्टुरेन्टमा प्रचारको लागि धेरै इभेन्टहरुको आयोजना गरेका थिए।

‘यो गार्डेन रेस्टुरेन्ट हो। मलाई बन्द भइसकेको ठाउँमा फेरि छ भनेर थाहा दिन गारो भएको थियो।’ सहज भन्छन्, ‘सुरुमा तीनजनालाई लिएर काम गरेको थिए। खाना पकाउने, सरसफाई, डेकोरेशन अनि व्यवस्थापनको काम आफै हेर्नुपर्थ्यो।’

अहिले उनको व्यवसाय ठूलो भयो। काम गर्ने मान्छे थपिए। उनलाई रेस्टुरेन्टको प्रगतिको बारेमा सोच्ने समय मिलेको छ। तर जब जब अलि ठूलो इभेन्ट हुन्छ, उनलाई निन्द्रा लाग्दैन। कसरी कार्यक्रमलाई परफेक्ट बनाउने भन्नेमा उनको ध्यान जान्छ। बिहान उठ्नलाई अलार्म चाहिँदैन।

फागुन २ गते उनको रेस्टुरेन्टमा ठूलो इभेन्ट भएको थियो। उनलाई बिहान पाँच बजे नै आँखा खुल्यो। अध्यारो नै भएकोले आधाघण्टा सुतेर रेष्टुरेन्ट आएको उनले भने।

परिवारलाई नै हस्पिटालिटी क्षेत्रमा लगाए


घरको जेठा सन्तान हुन् सहज। जिम्मेवारी पनि छ। उनको दुई बहिनीहरु छन्। सहजका बुवा आर्मीमा छन् भने आमा अहिले घरमा नै बस्नुहुन्छ।

खड्काले सुकेधाराको कफी सपको जिम्मा एक बहिनीलाई दिएका छन् भने अराउन्ड द कर्नरमा अर्की बहिनीले उनलाई सघाउछिन्। धेरै कार्यक्रमहरु एकै दिनमा परे भने आमा पनि आएर सघाउनुहुन्छ। बिस्तारै पारिवारिक व्यवसाय हुन लागिसकेको छ।

कामसँग मोह


उनको दिमागमा एउटा भनाई सधैँ आइरहन्छ, ‘काम गधा जस्तरी गर’। जोश जाँगरको बेलामा काम ग¥यो भनेमात्र पछिलाई सञ्चय गर्न सकिन्छ। मरीमेटेर काम गर्‍यो भनेमात्र राम्रो आम्दानी हुन्छ।

कुनै पनि निर्णय लिइसकेपछि त्यसलाई पाउने चाहना पूरा गर्नको लागि मानिस जे गर्न पनि तयार हुने सहजको विश्वास छ। नेपालमा आइडियामात्र भएर हुँदैन, त्यसलाई एक ठाउँसम्म पुर्‍याउन आफैँ लागिपर्नुपर्ने हुन्छ। त्यसैको पछाडि छन् सहज।

इनटर्नसीपको समयमा उनले सिकेको, देखेको कुराले उनलाई चस्स मन घोच्छ, नेपालमा कति सम्भावना छ तर मानिसको लगनशिलता छैन। चाँडै नै कामको प्रतिफल खोज्ने बानी पनि कमजोरी हो भन्छन् सहज। इनटर्नसीपमा उनी २० घण्टा काम गर्नुपर्छ। यहाँ त्यति मेहनत गर्न मन लाग्दैन।

हामी नेपाली युवा बिग्रीरहेका छौँ।

‘हामी नेपालीहरु सारै धनी। बाँहिर १६ वर्षदेखि आफ्नो लागि आफै कमाउन हिँड्छन्। हामीलाई २४ वर्षसम्म बाबुआमाले पाल्छन्।’ सहजले आफ्नो अनुभव सहित सुनाए, ‘मलेशियामा २० वर्षको केटा सेफ थियो। दुई चार वर्षमा उ सिनियर सेफ हुन्छ। अनि उसको भविष्य कहा हो कहाँ।’

सीपमा आफूलाई पोख्त बनाउनु पर्छ, अनि काम चाँडै थाल्नुपर्छ भन्छन्। नेपाली युवाहरु ढिलो गरी काम सुरु गर्छन्, अनि सीप सिकेर पोक्त हुने बेलासम्म समय बितिसक्छ। यसले गर्दा निराशाजनक अवस्था आउँछ। प्रगति हुन सक्दैन।

सहजलाई यहाँ नै धेरै सम्भावनाको खोजी गर्नु छ। उनले थालेका कामहरु सफल भइरहेका छन्। अब आउँदो दिनमा उनलाई आफूजस्तै युवालाई उत्प्रेरणा दिनु छ।

नयाँ सोचको विस्तार गर्नु छ। एक्सप्लोर गर्नु छ।

रेस्टुरेन्ट सुरु गरेको एक वर्षसम्म उनलाई परिवारले बाहिर सेटल हौ भन्थे। ‘दुई जनालाई खुवाएर के हुन्छ ?’

अहिले बिस्तारै भएको प्रगति अनि आम्दानीले यो कुरा आउँन छोडेको छ। सुरुदेखि नै बाबाले उनलाई सहयोग गरेका थिए। त्यसैले सजिलो भयो।

अहिले उनले धेरै संभावना देखेका छन्। अवसर आइरहेका छन्। उनलाई अझै फोकस हुनु छन्। र भविष्यमा आफ्नै ठूलो, राम्रो रिसोर्ट पनि खोल्नु छ।

यही लक्ष्यको पछाडि उनी अहिले हिँडिरहेका छन्। उनले आफ्नो कामलाई नामजस्तै ‘सहज’ बनाएका छन्।

(स्वदेशमै मेहनत गर्ने युवाहरुको परिश्रम कथाको शृङ्खला हो–जो नेपालमै रमाए । सम्भावनाहरुको बाटोमा रमाएका युवाको सकारात्मक प्रयासलाई सम्मान गर्ने उद्देश्यसहित प्रतिनिधि युवाका ‘कर्म–कथा’ यो शृङ्खलामा प्रस्तुत गरिरहेका छौँ । शृङ्खलाको यो पाँचौँ तथा अन्तिम कथा हो । )

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

फाल्गुन ३, २०७५ मा प्रकाशित