सीमा पर्खाल

ट्रम्पले शक्ति प्रयोग गर्ने निश्चित, सीमा पर्खालका लागि राष्ट्रिय आपतकाल लाग्ने पक्का

मेक्सिकोसँगको सीमा क्षेत्रमा आफूले लामो समयदेखि प्रतिबद्धता जनाउँदै आएको सीमा पर्खाल बनाउनका लागि राष्ट्रिय आपतकाल लगाउने निश्चित भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

यसअघि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सीमा पर्खालका लागि राष्ट्रिय आपतकाल लगाउने तयारी भएको जानकारीसहितको वक्तव्य जारी गरेको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसको औपचारिक पुष्टि गरेका हुन् र सीमा पर्खाल बनाउनका लागि आफ्नो अधिकारको प्रयोग गर्दै आपतकाल लगाइने उनले बताए ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा सीमा पर्खाल बनाउनु ट्रम्पको प्रमुख चुनावी वाचा हो । तर डेमोक्र्याटिक पार्टीका सिनेटरको अवरोधका कारण ट्रम्पले कंग्रेसबाट सीमा पर्खालका लागि बजेट बिनियोजन गराउन असफल रहे ।

यस्तो अवस्थामा उनले कंग्रेसलाई बाइपास गर्नका लागि आपतलकाल लगाउने आफ्नो शक्ति प्रयोग गर्ने भएका हुन् । ट्रम्पले आपतकाल लगाएर सेनाको बजेटबाट पर्खाल बनाउने तयारी गरेको छन् ।

पर्खालका लागि ८ बिलियन अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने बताइएको छ ।

ट्रम्पले संघीय सरकारको कार्यसञ्चालन बजेट सम्बन्धी विधेयकमा नै ५.७ बिलियन रकमको व्यवस्था निश्चित हुनु पर्ने अडान लिएका कारण गएको डिसेम्बरदेखि जनवरीसम्म ३५ दिन आंशिक सरकारी कार्यालयका काम ठप्प भएका थिए ।

त्यसपछि तीन हप्ताका लागि बनेको सहमतिको समय १५ फेब्रुअरीमा सकिनुअघि ट्रम्पले रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबिच भएको सहमति अनुसारको विधेयकमा हस्ताक्षर गरे ।

त्यसमा ट्रम्पको माग अनुसार सीमा पर्खालका लागि बजेट थिएन । यहि कारण उनले राष्ट्रिय आपतकाल लगाउने भएका हुन् ।

ट्रम्पले राष्ट्रिय आपतकाल लगाउने बताएपछि डेमोक्र्याटिक पार्टीले यसलाई शक्तिको बृहत दुरुपयोग भनेको छ ।

ट्रम्पले कंग्रेसले बजेट नदिएपछि आफूले आपतकालको बाटो रोज्न बाध्य भएको बताएका छन् । डेमोक्र्याटिक पार्टीका शीर्ष सिनेटरले ट्रम्पको कदमविरुद्ध अदालतको ढोका ढकटक्याउने बताएका छन् ।

ट्रम्पले आपतकाल लगाउने आफ्नो निर्णयबारे जानकारी दिँदै ह्वाइट हाउसको रोज गार्डेनमा भनेका छन्, ‘अब सीमा पर्खाल बनाउनका लागि ८ बिलियन अमेरिकी डलर खर्च गर्न पाइने छ ।’

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्