पुलवामा आक्रमण

‘हिन्दुस्तानको आत्मामा आक्रमण’

जम्मू–कश्मीरमा भएको आत्मघाती आक्रमणमा ४६ सुरक्षाकर्मीको निधन भएपछि भारत अहिले शोकमा छ ।

स्थानीय चरमपन्थी समूहले बिहीबार गरेको आक्रमणमा केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४६ जवानको निधन भएको हो । भारतमा सुरक्षाकर्मीमाथि भएको यो ठूलो आक्रमण हो ।

भारतमा बारुदले भरिएको गाडी सुरक्षाकर्मीको गाडीमा ठोक्काएर बिस्फोट गराएको यो पहिलो घटना हो । बिस्फोटपछि सुरक्षाकर्मीमाथि गोली प्रहार पनि भएको थियो ।

घटनाको विस्तृत छानबिनका लागि सरकारले आदेश दिएको छ । तर घटना कसरी घट्यो भनेर विभिन्न प्रश्नहरु आइरहेका छन् । यसले सरकारको गुप्तचर निकायको असफलतालाई दर्शाउने विश्लेषण गरिएको छ ।

जम्मू–कश्मीरको पुलवामा जिल्लाको लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको हो । ३०० किलोमिटरको राजमार्ग रणनीतिक रुपले महत्वपूर्ण छ र जहिले सुरक्षा व्यवस्था कडा रहन्छ ।

जम्मूबाट श्रीनगर जाँदै गरेका सुरक्षाकर्मीका ७० मध्ये एउटा गाडी आक्रमणमा परेको हो । प्रतिबन्धित चरमपन्थी समूह जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको छ ।

घटनापछि भारतले यसमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ र पाकिस्तानसँगको सबै सम्बन्ध तोड्ने बताएको छ । तर आक्रमणकारी भारतकै बासिन्दा रहेकाले आन्तरिक राजनीतिक व्यवस्था घटनाको जडको खोजी हुनु पर्नेमा आवाज उठाइएको छ ।

घटनापछि भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशनको दर्जा फिर्ता लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार घटनामा प्रक्रिया दिँदै अब सुरक्षाकर्मीलाई कारवाहीका लागि पूरै अधिकार दिइने र पुलवामा आक्रमणका सबै दोषीले कारवाही भोग्ने बताए ।

आक्रमणमा निधन भएका सबै जवानको शव शुक्रबार राति दिल्ली लगिएको छ । उनीहरुलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धी, गृह मन्त्री राजनाथ सिंह, रक्षामन्त्री निर्मला सीतारमण पालम हवाई अड्डा पुगे । यस्तै भारतीय सेनाका अध्यक्ष विपिन रावत, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि त्यहाँ पुगे ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले आक्रमण हिन्दुस्तानको आत्मामा भएको र यसले देश पूरै शोकको अवस्थामा रहेको बताएका छन् । उनले देशलाई कसैले कुनै पनि अवस्थामा तोडन् नसक्ने भन्दै आफू तथा आफ्नो पार्टी देशका सबैभन्दा प्रिय व्यक्ति जवान, उनका परिवार तथा पूरै देशको साथमा रहेको बताएका छन् ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्