मादल बनाउने नन्दकलीको प्रश्न

हामीले त बनायौँ, अब कसले बनाउँछ मादल?

मादलमा खरि हाल्ने । बर्ता कस्ने । स्वर भर्ने काममा खप्पिस छिन् नन्दकली कुमाल । चाड बाडको समयमा उनलाई फुर्सद नै हुन्न ।

अहिले भने मादल बनाउने काम अफ–सिजन भित्र पर्छ । तर, पनि उनी मादल बनाउने काममा व्यस्त नै छिन् । उनका श्रीमान् टंकबहादुर कुमालले मादल बनाउन सिकाएका हुन् ।

२०५१ सालमा टंकबहादुरसँग नन्दकलीको विवाह भयो । विवाह अघि नन्दकलीलाई मादल कसरी बनाउने ? कुनै ज्ञान थिएन । ‘विवाह अघि केही थाहा थिएन, मादल बजाएको मात्रै देखेको थिएँ ।

कसरी बनाउछन् थाहै थिएन्’उनले भनिन्–‘विवाह भएर म यहाँ आएपछि श्रीमान्ले सिकाउनु भोे । मादल बनाउने कामले अहिले घर धन्दा चलेको छ ।’

नन्दकलीका ससुरा टोलबहादुर कुमाल मादल बनाउने बाजेको रुपमा प्रख्यात थिए । टोलबहादुर बितेपछि मादल बनाउने पेशाको पूर्ण जिम्मेवारी टंकबहादुर र उनको श्रीमती नन्दकलीको काँधमा छ । दुवै जना मिलेर मादल बनाउछन् । नयाँ मादल बनाउने, पुरानो मादल मर्मत गर्ने दुई थरी काम हुन्छ । मादलको घम, बाख्राको छाला, खरी सबै किनेर राख्ने गरेका छन् ।

मादल बनाउन चाहिने सबै सामाग्री अन्यत्रबाट ल्याउने गरिएको छ ।‘मादलको घम किन्नु पर्छ । बाख्राको छाला महंगोमा किन्नु पर्छ । खरी ल्याउन हापुर जानुपर्छ’नन्दकलीले भनिन्–‘मादलको मूल्य हेरि हेरि पर्छ । सानो मादलको थोरै मूल्य, ठूलो मादलको ठूलै मूल्य पर्छ ।’

लमही बजार देखि केही भित्रको गाउँ । जहाँ कुमाल समुदायको बसोबास छ । ऐलानी बस्ती भएकाले पुर्जा छैन । त्यही बस्ती भित्र खरको छानो हालेको । निलो रंगले भित्ता पोतिएको, रातो माटोले किनार भरिएको घर छ । यही घरमा नन्दकली र उनका श्रीमान् टंकबहादुर बस्छन् ।

ढोकाबाटै कोठा भित्र मादल देखिन्छ । नयाँ र पुराना मादलले चाड बाडको बेला कोठै भरिन्छ । तर, केही मादल छन् । चाड बाडको बेलामा नन्दकलीलाई उनका छोराहरुले सघाउने गर्छन् । ‘छोराहरुले जान्न त जानेका छन् । हामीलाई बनाउन गाह्रो भएको बेला मात्रै सहयोग गर्छन्’नन्दकलीले भनिन्–‘छोराहरुले मादल बनाउने पेशालाई नै अंगाल्छन् जस्तो लाग्दैन् ।’

मादल बनाउने पेशालाई जोगाई राख्न मुस्किल छ । एक त डिजिटल गीत संगीतको कारण मादल नै संकटमा पर्न थालेको छ । जसले गर्दा लोक गीत संगीतमा असर परिरहेको छ ।

लोक गीत संगीत ओझेलमा पर्दा मादल बनाउने पेशा अंगालेका व्यक्तिको व्यवसाय नै संकटमा पर्ने देखिएको छ । लोक बाजाको संरक्षणमा स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले नीति निर्माण तहबाटै समाधान खोज्न जरुरी छ ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्