एक बालविज्ञले नाडी छामेका यी व्यक्तिहरु

वरिष्ठ चिकित्सक डा. मणीन्द्र रञ्जन बराल

वरिष्ठ चिकित्सक डा. मणीन्द्र रञ्जन बरालको आत्म अनुभव र अनुभूतिको पुस्तक ‘नियति र अनुभूति’ मा उनले संगत गरेका विभिन्न व्यक्ति मध्ये केहीका बारेमा लेखिएका कुरा साभार गरिएको हो ।

गणेशराज शर्मा


गणेशराज शर्मासँग मेरो भेटधाट त्यसबखत भयो जब म मेडिकल काउन्सिलको अध्यक्ष पदबाट अकारण बेकसुर निस्कासनमा परेँ ।

मैले आफूलाई घोर अपमानित भएको ठानी सर्वोच्चमा याचिका दाखिला गर्ने सुरकको उनकै सल्लाह र सहयोगको याचनाका लागि बिना कसैको सिफारिस उनलाई भेट्न उनकै निवासस्थानमा धोबीधारामा पुगेँ ।

मेरा अत्यन्त प्रिय साढुभाइ डा. विजय शर्माको उनी साख्य भिनाजु थिए । उनलाई सिफारिसका लागि अनुरोध पनि गरिनँ र उनीसँग भेट्दा सम्बन्ध पनि खोलिनँ ।

मेरो कथा–व्यथा सुनेपछि ममाथि पर्न गएको अन्यायबाट उनलाई धेरै गम्भीर तुल्यायो । चिन्नु न जान्नु उनले उत्तिनै खेर आफ्नो फैसला सुनाए–‘डाक्टर साहेब। तपाईँलाई मर्का परेको छ र अपमानित हुनुपरेको घटनाले मलाई स्वयम् दुःखी तुल्याएको छ ।

तपाईँको केस एकदम दह्रो छ । म तपाइँका लागि लड्छु, तपाईँको जित अवश्यम्भावी देखेको छु । म एक पैसा पनि लिन्न सेवाबापत । अन्यायमा परेकालाई उत्पीडितलाई न्याय दिलाउनु मेरो सिद्धान्त हो ।’

नभन्दै उनले मेरो वकालत गरिदिए । पहिलो पेशीमा परमादेश पाएँ र अन्तमा फैसला मेरो पक्षमा भयो । सहयागीको भूमिका वरिष्ठ अधिवक्ता राध्यश्याम अधिकारीले खेलेका थिए ।

गणेशराजजीको व्यक्तिबाट म धेरै प्रभावित हुन पुगेको छु । उनको रमाइलो दुरदर्शी राजनैतिक विश्लेषण गफ सुन्न म प्रायसः शनिबार निजि निवास धोविधारा पुग्थेँ । एक–दुई घण्टा बिताउँथेँ । त्यहाँ भुइँ–बैठकमा राजनेताहरु पनि कहिलेकाहिँ झुलुक्क उदाउँथे । त्यहाँ उपस्थितहरुको स्वागत चियापानले हुन्थ्यो ।

प्रशिद्ध वरिष्ठ अधिवक्ता र राजनैतिक बालकृष्ण न्यौपानेसँग वरिष्ठ अधिवक्ताहरु कुसुम श्रेष्ठ, मोतिकाजी स्थापित आदिसँग मेरो त्यहीँ परिचय भएको थियो। श्रम ऐन र नागरिकताको सवालमा छलफल गर्न बालकृष्ण न्यौपानेलाई त्यहीँ नियमित रुपमा त्यहाँ आउने गरेका देख्थेँ । त्यो परिचय दुई–चार पटक मैले उनका बालबच्चाको स्वास्थ्य परिक्षण पनि गर्ने मौका पाएको थिएँ ।

ग्रहदशाको क्रुर खेलले गणेशराजजीलाई हामीबाट असमयमै खोसेर लग्यो देशले एउटा इतिहास बोकेको राजनैतिक विश्लेषक वरिष्ठ अधिवक्ता गुमायो ।

सूर्यबहादुर थापा


सूर्यबहादुर थापासँग सामीप्य उनी प्रधानमन्त्री भएको बेला स्थापित भयो । एक मात्र छोरा सुनिलबहादुर थापा एकपटक उच्च ज्वरो आएको बेला बाल–विशेषज्ञको खोजी हुँदा वीर अस्पतालमा फेला परे ।

मलाई बालुवाटारमा हाजिर गराइयो । टन्सिल पाकेका कारणले उच्च ज्वरो आएकोले त्यसको उपचार गरेँ। त्यसपछि बराबार टन्सिलले दुःख दिने भएकोले मेरो नियमित रुपमा बालुवाटार र निजी निवासमा हाँडीगाउँ आउने–जान क्रम सुरु भयो ।

सो क्रममा परिवारका अरु सदस्यहरुको पनि बिरामी जाँच्ने अभिभारा थपियो । म मेडिकल एसोसिएसनको अध्यक्ष भएका बेला स्वास्थ्य मन्त्रीलाई स्वागत कार्यक्रममा आफू पनि आएर हामीले चिकित्सकहरु लागायत अन्य विद्यमान सदस्यहरुबारे अवगत गराउँदा सबै समस्या हल गरिदिने वाचा गरे । नेपाल चिकित्सक संघप्रति उनको ठूलो आस्था थियो । र चिकित्सकहरुपट्टि आदार र दयाभाव ।

उनकै प्रयासबाट कान्ति बाल–अस्पतालको बजेट उल्लेख्य रुपमा वृद्धि भयो र विकास समितीमा परिणत भयो । त्यसबेला मन्त्री थिए अर्जुननरसिंह केसी र महानिर्देशक थिए डा. गौरीशंकर दास । प्रधानमन्त्री र नरहँदा दसैँ, नव वर्षको उपलक्ष्यमा स्वयम फोन गरेर शुभकामना दिन्थे ।

सामाजिक कार्यहरुमा केही क्षणका लागि भएपनि आफ्नो उपस्थिति जनाउँथे। घोडेजात्राको दिन उनको जन्मदिनमा मसँगै अरु नजिकी चिकित्सकहरु जन्मदिनको रात्री–भोजमा सरिक हुन्थ्यौँ। भलाकुसारी गर्ने त्यो अवसर उनको देहावसाहनपछि हामीले गुमायौँ। घोडेजात्राको दिन उनी सम्झना आइरहन्छन् ।

कीर्तिनिधि विष्ट


कीर्तिनिधि विष्ट अर्को राजनैतिक हस्ती थिए–सिधासादा, मिलनसार, छोराछोरी, नातिनातिना भनेपछि हुरुक्क । नानू उनकी सबैभन्दा बढी मनपरेकी छोरी थिइन् र उनका नाति–नातिनाहरुका भने म चिकित्सक।

मेरो र उनको घर ज्ञानेश्वर थियो । प्रधानमन्त्री नभएकाबेला हातमा लठ्ठीस त्यही अग्लो जीउ, लमक–लमक गरी मर्निङ–वाकमा भेट हुँदा भलाकुसारी हुन्थ्यो । उनको प्रधानमन्त्रीत्व कालमा स्वास्थ्य मन्त्री थिए प्रयागराजसिंह सुवाल, जसलाई २०१७ सालमा राजनैतिक बन्दी भई नखु जेल पर्दा मैले उपचारसम्म गरेको थिएँ ।

डा. भरतराज वैद्य थिए त्यसबेलाका स्वास्थ्य महानिर्देशक, उनले बालविशेषज्ञको पदमा मेरो सरुवा गरिदिएको थिए वीरगञ्ज नारायणी अस्पतालमा । सरुवा रोक्न म आफै कीर्तिबाबूकहाँ धाएँ र उनले प्रयागराजलाई सरुवा नगर्न निर्देशन दिए तथापी मैले सरुवा–पत्र पाएँ ।

सरुवा–पत्र लिई म उनको निजी निवास नक्साल याक एण्ड यति होटल पछिल्तिर पुगेँ । त्योबेला बालुवाटार प्रधानमन्त्री निवास बनेको थिएन। त्या पत्र प्रधानमन्त्रीलाई देखाएँ ।

उनी फनफनाउँदै कोठा बाहिर स्वकीय सचिवका टेवुलछेउ आए र प्रयागराजलाई टेलिफोन लाउनू भने । टेलिफोनमा सम्बन्ध स्थापित भएपछि उनले विनम्र स्वरमा सोधे–‘प्रयागबाबू’ मैले भन्दाभन्दै किन डाक्टर बरालको सरुवा गरिदिएको? उतबाट उनले के भने कुन्नी १ मैले सुनिन, जान्न पनि चाहिनँ। ‘प्रधानमन्त्रीज्यू १ भैगो, म हिडेँ ।

तपाईँले प्रयागराजसँग कुरा गरेको मलाई चित्त बुझेन । कड्किएर, किन प्रधानमन्त्री जस्ताको आदेश पालाना भएन भनेर हप्काउनुपर्ने। ‘प्रयागबाबू’ भनेपछि उनले के टेर्थे ।’

पहिले आफ्नो असन्तुष्टि पोखेँ । उताबाट प्रयागराजले आश्वस्त पारेछन्–‘नियम पुर्‍याउन मलाई सरुवा गर्न करै लाग्यो । ४६६ दिन भन्दा एक दिन बढी पनि उसले बस्नु पर्दैन ।’ तर आश्वासन त्यसै सेलायो । पछि सुशिला थापा मन्त्री भइन् र उनैले मेरो सरुवा कान्ति बाल अस्पतालमा गराइन् ।

मनमोहन अधिकारी


२०५१ सालमा एमाले नेतृत्वको नौ महिने अल्पमतको सरकारको प्रधानमन्त्री बन्न पुगेका थिए–सादा जीवन उच्च विचारका धनी, निःस्वार्थी र निस्कलङ्क मनमोहन अधिकारी । अविश्वास–प्रस्तावको सामना गर्नुभन्दा श्रेयषकर ठानी अस्पतालको शैयाबाटै उनले राजीनामा दिएका थिए ।

मनमोहनसँग मेरो भेट उनी उपचारका लागि जापान जाने क्रममा थाइ एअरवेजको काठमाडौँ–बैंकक उडानमा जहाजको विशिष्ट कक्षमा भएको थियो ।

सो उडान अवधिभर नेपालमा व्याप्त बाल–स्वास्थ्यको दुर्दशाबारे मैले उनलाई अवगत गराएको थिएँ र कान्ति बाल–अस्पतालका बाल–स्वास्थ्यको चौतर्फी विकासका लागि देशको विभिन्न विकास क्षेत्रमा बाल–अस्पतालको स्थापना र बाल–स्वास्थ्य अध्ययन संस्थानको आवश्यकताबारे औँल्याएको थिएँ र उनी सचेत थिए ।

उनले हाम्रो वार्तालाप र बाल–स्वास्थ्यको देशमा विद्यमान अवस्था बारे बिर्सेका थिएनन् । जापानबाट फर्केपछि बाल–स्वास्थ्य अध्ययन संस्थान स्थापनाबारे मन्त्रि–परिषद्मा निर्णय गराई मेरो अध्यक्षतामा उनले कार्यदल खडा गरिदिएका थिए ।

दुर्भाग्य, यस दिशातर्फ यतिका वर्ष बितिसक्दा पनि केही प्रगति भएन । त्यो विषय प्राथमिकतामा नै परेन । डा. उपेन्द्र देवकोटा सल्लाहकारमा मनोनित थिए ।

सात महिना मन्त्रित्व–कालमा देवकोटाले उनको अगुवाईमा ‘न्याम्स’खोल्न भ्याए । बाल–स्वास्थ्य अध्ययनको पालो पर्खाइमा रह्यो ।

खुमबहादुर खड्का


खुमबहादुर खड्कासँग मेरो लोमो सम्बन्ध रह्यो । एक मित्र र उनको मायालु पुत्रको चिकित्सकको रुपमा । छोरा नहुर्किउञ्जेल मेरो घर–क्लिनिकमा टोयोटा प्राडो चढेर छोरा जँचाउन आउथे ।

अर्को टोयोटा प्राडो मोटरमा चढेर मायालु पुत्र जँचाउन आउने व्यक्ति–ह्दयेश त्रिपाठीसँग अचानक सम्बन्ध विच्छेद भयो । किन कुन्नि थाहा भएन, तर खुमबहादुर खड्कासँग भने आत्मीयता उनको जीवनपर्यन्त कायमै रह्यो । उनी गृहमन्त्री थिए र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री ।

मन्त्री शेष इदरिसको देहावसान बैंककमा भएको र उनको शव राति १२ बजे काठमाडौँ ल्याइने भएको थियो । त्यो साँझ ६ बजेदेखि राति १२ बजेसम्मका लागि मेरो घरमा उनले वाइन पान गरेर बिताएको मलाई सम्झना छ । बालबच्चा हुर्किसकेपछि पनि मित्रवत् सम्बन्ध कायमै रह्यो । पञ्चायतकालमा उनले ज्यानको बाजी लगाई बिपिलाई साथ दिएका थिए । खुको बदला खुनका उनी हिमायती थिए ।

विरोधीहरुले फलस्वरुप उनलाई खुनबहादुर खड्काको रुपमा उभ्याइदिएका थिए । कांग्रेस पार्टीमा अन्तिम जीवनकालसम्म उनको दबदबा कायमै थियो । हिन्दूधर्मपट्टि उनको ठूलो आस्था थियो र पछिल्लो समयमा हिन्दूराज्यको पक्षमा खुलेरै लागेका थिए ।

अधिराजकुमारी शोभा शाही र जुम्ल्याहा


अधिराजकुमारी शोभा शाहीको अमेरिकामा वर्षाैदेखि निःसन्तान अवस्थाको उपचारपछि त्यही जुम्ल्याहा शिशुको जन्म भयो–जेठी छोरी मनुजा शाही र कान्छा छोरा हिमवान शाहीको ।

काठमाडौँ फर्किएपछि जूम्ल्याहा शिशुहरुको नियमित स्वास्थ्य परीक्षणको गहन जिम्मेवारी मेरो काँधमा आयो मृदुभाषी शान्त, ठट्यौली अधिराजकुमारी औषधिको मामलामा ज्यादै संवेदनशील हुहुहुन्थ्यो ।

गर्भाधानका धेरै औषधि आफूले सेवन गरेका कारण सकेसम्म औषधि प्रयोग गर्न नरुचाउने, लेखिएका अत्यावश्यक औषधिहरु पनि जुम्ल्याहालाई प्रयोग गर्न हिचकिचाउने । ‘औषधि प्रयोग गर्दा केही जटिलता आइप¥यो भने म जिम्मेवार छैन’ भनी मैले उहाँलाई धम्की दिनेजस्तो र तर्साउनेसम्म गर्नुपथ्र्याे ।

दुवैजनालाई २१ वर्षको नहुञ्जेल मैले स्वास्थ्य परीक्षण र उपचार गरेको छु । अरु कुनै चिकित्सकले हात लाउनु परेन । दरबारको तरबार ममाथि परेन । परमेश्वरलाई धन्यवाद छ, शोभा–गृहमा मेरो सेवाकालभरि कहिले जटिल अवस्था आइपरेन ।

मेरो २ वर्ष वीरगञ्ज बसाइको अवधिसमेतमा मैले कुन रागको औषधि दिएको थिएँ, सोही अनुसार औषधिको पुर्जा हेरी त्यहाँ सामान्य उपचार हुने गर्थ्यो । अन्य, कसैले मेरो अनुपस्थितिमा उपचार गर्नु परेन । पेट बिग्रियो भने ‘यिनीहरु के के घिच्छन्, त्यसैले यस्तो हुन्छ’ भनी अभिराजकुमारी ठट्टा गर्नुहुन्थ्यो । पति कुमार मोहनबहादुर शाहीलाई शालिन व्यक्तित्वको रुपमा पाएँ ।

औषधि गर्ने चिकित्सकले बिरामीका यस्तो असल आमा बुवा पाउनु सौभाग्य नै हुन्छ । मेरो कान्छो छोराको बिहेमा आफ्नो उपस्थिति जनाई दुवै जोइपोईले हामीलाई कृत–कृत्य गराएका थिए ।

दरबार र तरबार भन्ने उक्ति यी घटनाक्रमले खारेज गरिदिएको छ । आज दुवै जुम्ल्याहा वयसन्धिकाल पूरा गरी बिहेपश्चात घरबार जोर्ने अवस्थामा आइसकेका छन् ।

भावुक रुञ्चे पद्मरत्न


पद्मरत्न नेपाल भाषा आन्दोलनका सशक्त खम्बा हुन् । ‘भाषा म्वाःसा जाति म्वाई’ अर्थात् भाषा बाँचे मात्र जाति बाँच्छका हिमायती हुन् । कुनै गम्भीर विषय अघि आयो भने रोइहाल्छन् । उनी धेरै पटक रोएका छन् ।

बोलेर मात्र होइन, रोएर पनि अभिव्यक्ति दिन सकिन्छ भन्ने उनको तर्क थियो । राष्ट्रिय पञ्चायतमा मातृभाषाको प्रसङ्ग आउँदा उनी रोएका थिए र रुँदा पद्मसुन्दर लावतीले ‘हाउसमा रुन पाइँदैन’ भनी नियमापत्ति गरेका थिए ।

‘थाहा’ नामबाट प्रसिद्धि पाएका रुपचन्द्र बिष्टले ‘हातले लेख्न र मुखले बोल्न नदिएपछि आँखाले बोल्छ, त्यो रुनु हो । हो कि होइन, थाहा चाहियो’ भनी अध्यक्षलाई प्रश्न तेर्स्याउँदै उनको बचाउ गरेका थिए ।

मनमोहन अधिकारीको प्रधानमन्त्रीको कार्यकालमा पद्मरत्न तुलाधर स्वास्थ्यमन्त्री भएको बेला बाल–स्वास्थ्य अध्ययन संस्थान स्थापनाबारे उनीसँग छलफल भएको थियो र उनी यसतर्फ सकारात्मक थिए, तर स्वास्थ्यमन्त्री भएर धेरै दिन बस्न पाएनन् ।

उनका छोरापट्टिका बालबच्चाहरुको मैले स्वास्थ्य परीक्षण गर्ने मौका पाएको थिएँ । उनी आफै नातिनातिना लिई मकहाँ जँचाउन आइपुग्थे ।

सडक–बालबालिकालाई सरोकारसम्बन्धी सिबिनका संस्थापक अध्यक्ष र मानव–अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधान उनका ज्वाइँ हुुन् र मेरा आत्मीय पनि ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्