हाल अमेरिकाको बोस्टनमा रहेका सारङ्गी बादक सुशील गौतम ।
सारङ्गी साधकको कथा

जो सारङ्गी बजाउँछन्, सारङ्गी पूज्छन् र सारङ्गी चिनाउँछन्

सहर पढ्न बसेको छोराको बइन गाउँघरमा चल्यो । मिठू गौतमलाई छोराको बइनले अप्ठ्यारो बनाएको थिएन । मनमा भने थियो– आफ्नो सन्तानको कुरा अरुबाट थाहा पाउनु पर्‍यो, उसैले भनेको भए हुने ।

कास्कीको मार्दीखोला (हाल माछापुच्छ्रे गाउँपालिका–६) कि मिठूले क्याम्पस पढ्न पठाएकी थिइन् जेठो छोरा सुशील गौतमलाई । पृथ्वीनारायण क्याम्पसमा स्नातक तह अध्ययन गर्दै गरेका सुशील पोखराको बगरमा बस्थे ।

मिठू सुशीलका बुवा टेकनाथसहित पोखरा आइन् । गाउँमा सुनेको कुराको चुरो बुझ्न मिठूले प्रसंग कोट्याइन् । ‘बाबु तैँले त सारङ्गी बजाउँछस रे, गाउँभरि हल्ला छ–भाका हालेर गाउँछस् रे ।’

आमाको कुराले सुशीललाई केही असजिलोमा पार्‍यो र केही मनको बोझ हलुको भयो । उनले सहमतिको जनाउ दिँदै मुन्टो हल्लाए ।

आमाले सुन्न चाहिन् । सुशीलले सारङ्गी निकाले र गाउन थाले । काम छ भन्दै बाहिर निस्केका टेकनाथ छुटेको सामान लिन फर्किए । छोराले गाएको र आमाले सुन्दै गरेको देखे, अनि सुशीलतिर हरेर भने, ‘ए, गाउन थालिस्, सारङ्गी पनि बजाउने रैछस् ।’ उनी पनि बसेर सुने।

सुशीलले सुनाएपछि बुवाआमा दुवैले राम्रो भने । उनको मनको दकस फुक्यो । पहिले नै भनेको भए हुने रैछ जस्तो लाग्यो ।

प्रसंग झण्डै दुई दशकअघिको

पोखरामा २०५५–०५६ साल तिर सारङ्गी सिक्दै गरेका सुशील (बायाँबाट पहिलो)।

२०–२१ वर्षका थिए सुशील २०५५–५६ सालतिर । उनी पोखरा आएका थिए, भाइ पनि थिए । दाजुभाइ सँगै बसेर बढ्दै गरेका । बुवा गाउँको स्कूलमा हेडमास्टर, आमाले घर धानेकी । पारिवारिक अवस्था राम्रै थियो ।

मिठू र टेकनाथ सन्तानले पढेको, प्रगति गरेको देख्ने सपनामा थिए । सुशील पनि त्यही सपना पछ्याउँदै । उनले त्यहि बेला अर्को रस भेटे जीवनको, सारङ्गी ।

पोखरा आसपासमा गन्धर्ब जातिको बाक्लो बस्ती । उनको गाउँमा पनि सारङ्गी रेट्ने र जीवन–जगतका कथा कथ्नेहरु थिए । सुशील त्यही सुन्दै हुर्केका हुन् । सारङ्गीको धुनले उनलाई जहिले सम्मोहित गर्ने । तर सोचेका थिएनन्, एक दिन आफैले सारङ्गी बजाउँला । त्यसमा भाका मिलाउँला ।

तर संयोगले जुरायो मौका । त्यो बेला पोखरा नगरपालिकाले विन्धबासिनीमा स्थानीय बालबालिका तथा युवाहरुलाई सारङ्गीसहितका लोकबाजा सिकाउने अभियान थालेको थियो । सारङ्गीसहितका बाजा सिकाउनका लागि गुरु थिए र चेलाहरु पनि ।

सारङ्गीका गुरु थिए खिमबहादुर गन्धर्ब । बाटुलेचौर सिमलखोरियाका खिमबहादुर सारङ्गी संगीतलाई शास्त्रीय संगीतसँग जोड्ने मध्येका एक । सुशील उनकै शिष्य बने । बाहुनका छोरा सुशीलले विशेष गरी त्यो बेला ‘गन्धर्बले मात्रै बजाउने’ भन्ने गरेको सारङ्गी सिक्न थाले ।

सिक्ने भनेकाले छोडे, उनी जोडिए


खासमा विन्धबासिनीमा लोकबाजा सिकाईँदै छ भन्ने सुनेका सुशील अरुकै लागि बुझ्न गएका थिए । ती अरु हुन्–अहिले लोक तथा दोहोरी गायकका रुपमा प्रसिद्धि कमाएका भगवान भण्डारी ।

सुशील बसेकै घरमा भगवान भण्डारी पनि बस्थे र पिएन क्याम्पसमा पढ्थे । सुशील आफ्ना लागि नभई भगवान भण्डारीका लागि बुझ्न गएका थिए । त्यहाँ गएपछि लोर्के ठिटो सुशीललाई सारङ्गीसँग मोह बस्यो, सिक्ने मन भयो ।

भण्डारीसँगै उनी पनि सिक्न थाले । तर भयो यस्तो कि, केही दिनमा भगवान भण्डारीले छोडे । सुशीललाई भने सुनेर सारङ्गीमा बसेको मोह आफ्नो हात बस्ने सम्भावनाले थप प्रगाढ बन्यो । उनीले सिकिरहे । आखिरीमा हात बसाले, सारङ्गीमा भाका हालेर गीत गाउने भए । मन फुरुङ्ग भयो, उस्तै गुरुको पनि ।

खिमबहादुर गन्धर्बले गएको माघको मध्यतिर भनेका थिए, ‘मार्दीखोलाका बाहुनका छोरा थिए सुशील गौतम, उनले सारै रामरी सिके । औधी राम्रो लाग्छ ।’ सुशीललाई पनि दुई दशकअघि सारङ्गी सिक्दाको सबै स्मृति ताजा छ । र गुरुप्रतिको आदर झन फराकिलो ।

गन्धर्बकै बर्तबन्धमा गाएका थिए पहिलोपटक


सुशील बिहानै मर्डिङ्ग वाकका लागि भन्दै भाइलाई सत्य नबताई सारङ्गी सिक्न निस्कन्थे । आफ्नो सारङ्गी थिएन, गुरुले दिएकैले सिक्थे। किन्ने पैसा जोहो गरेको भए हुने थियो, तर के भन्लान् भन्ने मनको भयले उनी रोकिएका ।

सिक्न थालेको ६ महिना भएको थियो । खिमबहादुरसँगको सिकाइले उनमा परख पनि आएको थियो केही । धुन राम्रै निकाल्ने भएका थिए ।

मंगलधुन राम्रो बजाउने । श्लोकहरु पनि गाउने । गीत कथ्ने गुण सुशीलमा आउँदै गएको थियो । खिमबहादुरले उनलाई परखेका थिए । अनि प्रस्ताव गरे, ‘गाउँमा बर्तबन्ध छ, गाउनु पर्छ ।’

बर्तबन्ध नेपाली लोक गीतका अमर स्रष्टा झलकमान गन्धर्बका नाति वा पनातिको थियो । त्यसमा सारङ्गी बजाएर मंगल धुन निकाल्ने जिम्मा सुशीलले पाए । ठूलो अवसर हो भन्ने थाहा थियो, तर गाउँभरिका मान्छे, त्यसमा पनि अधिकांश गन्धर्बहरुकै अघि कसरी बजाउन र गाउन सकुँला भन्ने आशंका थियो । खिमबहादुरले उर्जा दिए, सुशीलले गाए ।

त्यसपछि अचम्म भयो, नसकुँला कि भन्ने भयमा रहेका सुशीललाई हौसला मिल्यो । बुढापाका गन्धर्बहरुले ‘बाबु तपाईँ बाहुनको छोरो भएर यस्तो राम्रो बनाउनु भयो, हाम्राले त छोड्दै गए, राम्रो गर्नुभयो बाबु ।’

सुशीललाई यसले थप सिक्ने चाह बलियो बनायो ।

त्यसपछि किने सारङ्गी अनि खुल्यो रहस्य


अहिलेसम्म आफ्नो सारङ्गी नभएका उनले झण्डै चार सयमा सारङ्गी किने । र कोठामा भाइलाई नभनेकाले सिक्ने ठाउँमै राखे केही महिना।

अब पालो आएको थियो औपचारिक मञ्चमा प्रस्तुत हुने । पिएन क्याम्पसमा स्ववियुको कार्यक्रमका थियो । उनलाई साथीहरुले सारङ्गी बजाउँदै गाउन आग्रह गरे । उनका लागि अवसर थियो, गाए ।

गुरु खिमबहादुरका साथमा सुशील ।

सुशीललाई अहिले पनि याद छ, त्यो बेला उनले गुरु खिमबहादुरको रचनामा रहेको स्वदेशगान सारङ्गीमा गाएका थिए । सबैले राम्रो भने ।

उनको गाउँ मार्दीखोलाबाट पनि आएका थिए कार्यक्रम हेर्न, उनीहरुले गाउँमा खबर पुर्‍याए । आमा मिठू र बुवा टेकनाथलाई थाहा भयो । भाइलाई पनि थाहा भयो । सुशीलले त्यसपछि सारङ्गी कोठामा लैजान थाले ।

पोखरा आएका बेला आमाबुवालाई सुनाएपछि उनी परिवारबाट पनि अनुमोदित भए । ढुक्कसँग सारङ्गी बादक बने ।

गाउँमा मेलापात जाँदा राम्रो गाउने भनेर कहलिएकी मिठू र युवा वयमा गितार बजाउँदै गीत गाउने टेकनाथका छोरा सुशील सारङ्गी रेट्दै मौलिक लोक गीत गाउने भए ।

दुई दशकपछि पनि उस्तै छ मोह

अमेरिकामा केही एक कार्यक्रममा सारङ्गी बजाउँदै गरेका सुशील ।

सुशील अहिले अमेरिकाको बोस्टनमा बस्छन् । अमेरिका बस्न थालेको पाँच वर्ष भयो । हामीले कुरा गर्दा सुशीलले भने, ‘अस्तिभर्खर सिकेको जस्तो लाग्छ । यत्रो वर्ष भयो । सारङ्गी हिजै जाने जस्तो लाग्छ र सिक्न त अझै धेरै छ ।’

खिमबहादुरसँग एक वर्षसम्म सिकेको सारङ्गी गुण सुशीलले त्यसपछिका वर्षहरुमा निखार्दै लगे । नेपालमा हुँदा लोक संगीत र सारङ्गीको क्षेत्रमा सक्रिय रुपमा काम गरेका उनी अहिले परदेशको बसाईमा पनि घरदेशबाट लगेको सारङ्गीमा रमाउँछन् ।

बोस्टनमा उनको नाम स्थानीय सरकारी कार्यालयले ‘रेअर म्युजिसियन’ को रुपमा सूचिकृत गरेको छ । ‘आफ्नो माटो छोडेर आए पनि त्यहीमाटोमा सिकेको बाजाले यहाँ मलाई पहिचान दिएको छ’, सुशीलले भने, ‘खिमबहादुर गुरुले सिकाएको सारङ्गी कलाले मलाई जीवनमा सपना देख्न सक्ने बनायो । शिर उचो पार्ने माध्यम दियो ।’

उनकी जीवन संगिनी सरस्वती गौतमको पनि सारङ्गीसँगको लगाव बलियो छ । ‘उनी पनि सिक्ने प्रयासमा छिन् । अलिअलि जान्ने भएकी छन् । सारङ्गी त मेरो परिवारको महत्वपूर्ण अंश बनेको छ ।’

गन्धर्ब जातिकै नयाँ पुस्ताले छोड्दै गएको र जोखिममा पर्दै गएको सारङ्गी सिकेका सुशीलले छोरी श्रुतिलाई पनि सिकाउने मन बनाएका छन् ।

मार्दीखोले सुशील अमेरिकी जीवनमा अभ्यस्त हुने प्रयासमा छन् र पनि सारङ्गीसँगको नाता अटुट छ । अहिले उमेरले दुई बिस भएका सुशील भन्छन्, ‘सारङ्गीसँग जोडेको नाता अनन्तः बनाउने छु ।’


(यो स्टोरीमा प्रयोग भएका केही तस्बिर सुशीलकी श्रीमती सरस्वती गौतम र छोरी श्रृतिले खिचेका हुन् । र केही सुशीलले आफ्नो संग्रहबाट उपलब्ध गराएका हुन् ।)

फाल्गुन ४, २०७५ मा प्रकाशित