सम्पादकीय

अख्तियारमै भ्रष्टाचार!

गतः साता राष्ट्रिपति विद्यादेवी भण्डारीले एउटा मार्मिक चेतावनी दिएकी थिइन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक जयन्तीका अवसरमा। भ्रष्टाचारले संस्थागत स्वरुप लिन थालेको अभिव्यक्ति दिएर उनले आम जनताको मौन चिन्ता बाहिर ल्याएकी थिइन्।

आम व्यक्ति जिम्मेवार देखिन आरोप लगाउन प्रमाण आवश्यक हुन्छ। आफैँले भोगेको पीडा पनि वयान गर्न पाइन्‍न ‘भौतिक प्रमाण’को अभावमा। भ्रष्टाचार अहिले नेपालको सबैभन्दा पारदर्शी यथार्थ र भोगाइ हो।

विज्ञापन

धुमधामसँग अख्तियारले वार्षिकी मनाएसँगै या ‘सुशासन’ को रट लगाएसँगै एउटा अब सामान्य लाग्‍ने, तर असामान्य प्रकृतिको घटना घट्यो। एउटा शैक्षिक संस्थाभित्रको चलखेलमा भ्रष्ट पक्षलाई साथ दिने प्रतिवद्धताका साथ उनले झण्डै ७८ लाख रुपैयाँ घुस लिए। त्यो सञ्चार माध्यममार्फत सप्रमाण सार्वजनिक जानकारीमा आएपछि उनले राजीनामा दिए। महाअभियोगबाट बच्‍न उनले अग्रिम राजीनामा दिएको अनुमान छ। राजीनामाले भ्रष्टाचारमा उन्मुक्ति दिँदैन भन्‍ने अख्तियारका ती आयुक्त राजनारायण पाठकलाई थाहा छैन भन्‍न मान्‍न सकिन्‍न।

यो घटनाको अर्को पक्ष पनि छ। प्रधानमन्त्री केपी ओलीले चार महिना पहिला नै घुस काण्डको ‘भिडियो’ हेरेको समाचार आएपछि मात्र पाठकले राजीनामा गरेका छन्। चार महिनासम्म संशयमा दुई तिहाई बहुमत प्राप्त दलका नेता तथा प्रधानमन्त्रीले यसबारे सार्वजनिक रुपमा कुनै अडान किन लिएनन् या उक्त दलले महाअभियोगको तयारी किन गरेन पाठकविरुद्ध ?

यसले प्रधानमन्त्री के बारबार भन्दै आएको भ्रष्टाचार विरुद्धको ‘शून्य सहनशीलता’ को नीति पनि ओलीका अरु मिठा ‘उखान टुक्का’ भन्दा फरक नभएको सन्देश दिएको छ।

तेस्रो अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयम् पनि कर्मकाण्डमा त सीमित छैन भन्‍ने प्रश्‍न उठेका छन्। जसबाट लिइने अधिकांश कारबाही ‘घुस स्वीकार गर्दै गिरफ्तारमा परेका तल्लो या मध्यम तहका सरकारी कर्मचारी हुने गर्छन्।’

‘घुस दिन्या र लिन्या’ दुवै अपराधि हुन् भन्‍ने मान्यता विपरीत आयोगले यसलाई नियमित प्रकृयाका रुपमा अपनाई आफू अविश्‍वसनीय बनेको छ। भ्रटाचार मुलुकको सबभन्दा ठूलो रोग हो, तर त्यसको मुहान सत्ताको उपल्लो तह नै हुन्छ र त्यो शून्य नहुँदासम्म अरु कारबाही ‘टालटुले’ मात्र साबित हुन्छ। यो कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो सार्थकता स्थापित गर्न सक्नेछ।

फाल्गुन ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्