म्यानचेस्टर सिटी पुग्यो अन्तिम ८ मा

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अवे मैदानमा शनिबार राति भएको पाँचौँ चरणको खेलमा न्युपोर्ट काउन्टीलाई ४–१ ले हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा सिटीका लागि ५१ औँ मिनेटमा लिरोय सानेले गोल गर्दै अग्रता दिलाए । फिल फोडिनले ७५ र ८९ औँ मिनेटमा गरी गोल गरे ।

फोडिनको दोस्रो गोलअघि न्युपोर्टका लागि पोरेग एमोण्डले ८८ औँ मिनेटमा एक गोल फर्काए । सिटीका लागि इन्जुरी समयको चौथो मिनेटमा रियाद महरेजले गोल गरेपछि टिम ४–१ ले विजयी भयो ।

चौथो डिभिजनको न्युपोर्टले उत्कृष्ट प्रदर्शन गरे पनि हार टार्न सकेन र सन् १९९० यता एफए कपको क्वाटरफाइनलमा पुग्ने चौथो डिभिजनको पहिलो क्लब बन्ने मौका गुमायो ।

शनिबार राति नै भएको खेलमा डर्बीलाई २–१ ले हराउँदै ब्राइटन तथा विम्बल्डनलाई १–० ले हराउँदै मिलवाल पनि अन्तिम ८ मा पुगेका छन् ।

फाल्गुन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्