भेनेजुएलामा राजनीतिक संकट

सीमावर्ती कुकुतामा सहायता सामग्रीसहितका अमेरिकी सैन्य विमान, सीमाको अवरोध तोड्ने तयारीमा गुएडो

भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् ।

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो । भेनेजुएलासँगको सीमा क्षेत्रमा रहेको कोलम्बियाको नगर कुकुतामा अमेरिकी सैन्य विमान पुगेका हुन् ।

राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।

मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् ।

उनले यसअघि नै जसरी भए पनि सहायता सामग्री भित्र्याउने र वितरण गरिने बताएका थिए ।

भेनेजुएला मानवीय संकटको अवस्थामा रहेकाले गुएडोको आग्रहमा सहायता सामग्री ल्याइएको यएसएडका अधिकारी मार्क ग्रिनले कुकुतामा भएको पत्रकार सम्मेलनमा बताए ।

बालबालिका भोकमरिको चपेटामा रहेको तथा अधिकांश अस्पतालमा औषधि अभावको अवस्था रहेकाले सहयोगका लागि पहल भएको उनले बताए ।

राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरीको अन्तिम हप्ता राजधानी काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

विपक्षी नेता क्आन गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

उनलाई अमेरिका तथा युरोपियन युनियनका अधिकांश देशको साथ छ । यस्तै ब्राजिल, पेरु तथा कोलम्बियासहितका दक्षिण अमेरिकी देशको पनि उनले साथ पाएका छन् । राष्ट्रपति मादुरोलाई चीन र रुसको समर्थन छ र देशको सेना पनि अहिलेसम्म उनकै पक्षमा रहेको छ ।

गुएडोले देशमा मानवीय सहायताको खाँचो रहेको भन्दै सहयोगका लागि अमेरिकासँग आग्रह गरेका थिए ।

मादुरोको समर्थनमा रहेका भेनेजुएलाका सेनाले कोलम्बियासँगको सीमा क्षेत्रमा रहेको महत्वपूर्ण पुलमा अवरोध गरेका छन् । यसले गर्दा अमेरिकासहित अरु देशबाट आउने सहायता सामग्री रोकिएका छन् ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।

मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।

विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

फाल्गुन ५, २०७५ मा प्रकाशित