लुट्न सके लुटमाथि सरकारको प्रतिबन्ध!

सरकारलाई किन यति भारी भयो एउटै गीत?

सिर्जनामा सत्तालाई आत्थु–आत्थु पार्ने शक्ति हुन्छ वा त्यो ताप हुन्छ भन्ने कुराको पछिल्लो उदाहरण पशुपति शर्माको लोक गीत ‘लुट्न सके लुट कान्छा’ बनेको छ ।

‘भ्रष्टाचारमा शून्य सहनशीलता’ भन्ने नारा अहिलेको सरकारले मात्रै होइन यसअघिका सरकारले पनि रट्दै आएका थिए । तर भ्रष्टाचार रोकिने होइन, भ्रष्टाचारविरुद्ध काम गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चोखो रहन सकेन ।

राज्य कोषको दुरुपयोग, आफ्नो हितका लागि राज्य कोष खर्च गर्ने तथा तस्करी एवम् घुसकाण्डहरु बिस्तार हुँदै गए । यहि परिवेशलाई चित्रित गरेर पशुपति शर्माले व्यंग्यात्मक शैलीमा सिर्जना गरेको गीत थियो, ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाईँदैन नेपालमै हो छुट’ ।

तर लुट र छुटको गाथाको रुपमा दर्शक–स्रोताले मन पराएको गीत सरकारका लागि भने गम्भीर आपत्ति र आफ्नो वास्तविकताको चित्रण बन्यो सायद । यहि कारण सरकारले पशुपति शर्माको गीतमाथि प्रतिबन्ध लगायो । गायक–सर्जक शर्मा युट्युबबाट गीत हटाउन बाध्य भए ।

भन्न त उनले परिमार्जन गरिएको गीत चाँडै ल्याउने भनेका छन् । तर अब आउँदा यो गीतमा व्यंग्य गर्न खोजिएका विषयहरु सायद ओझेलमा पर्ने छन् ।

तर सरकार एउटै गीतबाट आत्तालिएको जस्तो देखिएको विश्लेषण भने भएका छन् । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यो गीतबारे प्रधानमन्त्री निवास बालुवाटारमै छलफल भएको र हटाउन दबाब दिइएको बताइन्छ ।

पछिल्लो समय एकपछि अर्को भ्रष्टाचार काण्ड, तस्करी तथा बलात्कारका पीडक लामो समयसम्म पनि पक्राउ पर्न नसक्नुसहितका सामाजिक विकृति बढ्दै गएका बेला त्यसको चित्रको रुपमा गीत बनेको थियो । यहि गीत समाजको चित्र भन्दा पनि सरकारका लागि आफ्नो वास्तविकताको कारण बनेको देखिएको छ ।

गीतमाथि प्रतिबन्ध यसअघि पनि विभिन्न समयमा लाग्दै आएका हुन्, तर यसअघि प्रायः रेडियो नेपालले प्रशारणमा प्रतिबन्ध लगाउने गरेको थियो ।

यस्तै कलाकारलाई सार्वजनिक कार्यक्रममा गाउन वा प्रस्तुत गर्न नपाउने गरी रोक लाग्ने गरेको थियो । सम्भवतः यो पहिलो घटना हो, जसमा सीधै सरकारले गीतमाथि प्रतिबन्ध लगायो र सर्जक त्यसलाई हटाउन बाध्य भए ।

गीतमा प्रयोग भएका केही शब्दहरु असहज हुन सक्छन्, त्यसलाई सुधारका लागि भन्नु र भन्न खोजेका कुरालाई आफ्ना लागि सुझावका रुपमा लिनु सरकारको समझदारी हुने थियो । तर प्रतिबन्धले सरकार एउटै गीतबाट डराएको प्रष्ट देखिएको छ ।

स्मरण गर्नु पर्ने यो पनि छ कि, अहिले प्रतिबन्धित भएको गीतका सर्जक पशुपति शर्माले नै केही वर्षअघि गाएको ‘मलाई अमेरिका यहि’ गीत हो ।

यो गीत सरकारकै कति मन्त्रीहरुले नै आफ्ना कुरा बुझाउन र विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा प्रयोग गरेका थिए र अब पनि गर्ने छन् ।

फाल्गुन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्