नौमती बाजा संरक्षणमा युवा र बुढापाकाको सहकार्य

नौमती बाजा संरक्षणमा जुटेका स्थानीय। तस्बिरहरु –दशरथ घिमिरे/देश सञ्चार

दाङ– परम्परागत पहिरनमा सजिएकी मिना मगर दमाहा बजाउन व्यस्त छिन्। सहनाइ र नरसिंगाको तालमा ताल मिलाउदै मिना दमाहा बजाउँछिन्। उनले दमाहा बजाउन सिकेको धेरै भएको छैन्। गाउँमा विवाह, पूजाआजा हुँदा भाडामा नौमती बाजा ल्याउनुपथ्र्याे।

एकदिन गाउँमा भएको सामूहिक भेलामा एउटा जुक्ती फुर्‍यो। पुरानो संस्कृतीसँग जोडिएको लोपाेन्मुख नौमती बाजा संरक्षण गर्ने। यही जुक्तीले गाउँमा लोपाेन्मुख बाजा नौमती आईपुग्यो।

बाजा संरक्षणमा युवा र बुढापाका दुवै सक्रिय भएर लागेका छन्। बाजा बजाउन अरुको साहारा खोज्ने राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका मगर समुदायका बासिन्दा लोपन्मुख बाजा संरक्षणमा आफै सक्रिय भएर लागेका छन्। आजभोलि मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रममा मगर समुदायको खोजी हुन थालेको छ।

‘अरुले बजाएको बाजामा नाचिन्थ्यो, अब आफ्नै गाउँमा बाजा आयो, आफै बजाएर समूहमा नाचगान गर्ने गरेका छौँ’ मिनाले भनिन्–‘एकातर्फ बाजाको संरक्षण भएको छ भने अर्काेतर्फ मगर समुदायको लोपाेन्मुख नाँचको पनि जगेर्ना भएको छ।’

मगर समुदायले विभिन्न ११ प्रकारका बाजा संरक्षण गरिरहेको छ। दमाहा, झ्याली, ट्याम्पु, सहनाई, नर्सिङ्गा, कर्नाल लगायतका बाजा संरक्षण गरिएको हो। परम्परागत कला–संस्कृिति संरक्षणका लागि समूह बनाएर स्थानीय अघि बढेका छन्।

‘नयाँ पुस्ताले परम्परागत बाजा देख्नै नपाउने भयो। गीत संगीत डिजिटलमा रुपान्तर भएपछि पुराना लोक बाजा हराउँदै जान थाले’, बाजा संरक्षण समूहका कोषाध्यक्ष रेशमबहादुर विरकट्टा मगर भन्छन्, ‘छोराछोरीले नौमाती बाजा कस्तो हुन्छ, कसरी बजाईन्छ भन्ने बारेमा थाहा नै पाएनन्’ उनले भने– ‘हाम्रो पुरानो बाजा उनिहरुले पनि थाहा पाउन् भनेर उनिहरुसंगै मिलेर संरक्षण थालेका हौँ।’

लोक बाजाको संरक्षणमा समुदायका नागरिक आफै सक्रिय भएपछि सबैको नजर परेको छ। मेला, महोत्सवमा झाँकीको रुपमा निमन्त्रणा गरेर बोलाउन थालिएको छ। ‘बाजा र नाच दुवै संरक्षण गरेपछि झाँकीको लागी बोलाउनुहुन्छ, हामी पनि पुग्ने गरेका छौँ’ अमृता पुनले भनिन्–‘बाजा संरक्षण भए मात्रै हाम्रो कला संस्कृति जोगिने हो । हामी कला संस्कृति जोगाउन लागेका छौँ।’ एक लाख रुपैयाँ भन्दा बढिको लगानीमा नौमती बाजा किनेर संरक्षण अभियान शुरु भएको छ ।

 

फाल्गुन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्