गीत गाउँदा मेरो पनि कुनै समय जागिर गएको थियो: दीपकराज गिरी

फाइल तस्बिर

काठमाडौं- बिहीबारमात्र चर्चित लोकगायक पशुपति शर्माले निकालेको गीत ‘लुट्न सके लुट् कान्छा’ माथि सरकारले प्रतिबन्ध लगाएकोप्रति हास्य कलाकार दीपकराज गिरीले आपत्ति जनाएका छन्।

देशमा अभिव्‍यक्ति स्वतन्त्रताको अधिकार संविधानले नै व्‍यवस्था गरेको बेला सरकारले कलाकारको गीतमाथि प्रतिबन्ध लगाई मौलिक हकलाई कुल्चिएर हातमा लिएको जिकिर गरेका छन्। उनले भने, ‘देशमा नेताहरुले यत्रो लुट मच्चाइरहँदा हुने? हामी सधैं सहेर बस्न बाध्‍य भएका छौँ। तर आज एउटा कलाकारले यथार्थलाई गीतमा ल्‍याउनु के उसको पाप हो ?’

उनले समाज, परिवेश र देशमा दिनानुदिन भ्रष्टाचार, बलात्कार र बेथितिविरुद्ध नेपालीको जनजिब्रोमा झुण्डिएको लोकलयमा गाएर जनतासमक्ष पुर्‍याउने गीतलाई सरकारले जबर्जस्ती हटाउन दबाब दिनु नै निरंकुशताको प्रतीक भएको औँल्याए। उनले प्रश्‍न गर्दै भने,’हामीले राष्ट्र र राष्ट्रियतामा खलल पुग्‍ने गीत गाउनु हुँदैन। तर के भ्रष्टाचार, बलात्कार र सरकारी कर्मचारीको गलत रबैयाविरुद्ध बोल्‍नु गलत हो? कि पहिला नै यो यो विषयमा गाउन र बोल्‍न पाइदैन भनेर सरकारले आचार संहिता बनाउनु पर्‍यो। होइन भने हामी कलाकारले व्यंग्यात्मक गीत गाउन पाउनु पर्छ।’

उनले कुनै बेला आफूले पनि गीत गाउँदा जागिर नै गएको अनुभव रहेको बताउँदै भने, ‘हो मैले पनि कुनै बेला गीत गाउँदा जागिर गएको अनुभव छ। तर त्‍यतिबेला परिस्थिति त्‍यस्तै थियो। अब त लोकतान्त्रिक गणतन्त्र आइसक्‍यो। बोल्‍न, लेख्‍न र गाउन पाउनु पर्नेमा सरकार उल्टै अंकुश लगाउन थाल्‍यो। यो त भएन?’

राष्ट्रको सार्वभौमिकतामाथि प्रश्‍न उठाउन कसैले नमिल्‍ने तर अदालतमा दिनहुँ भ्रष्टाचार भएको, सरकारी कार्यालयमा घुस प्रकरण सार्वजनिक मिडियामा आइरहेको साथै नेताहरुले करोडौँ र अर्बौको हवाइजहाज मात्रै होइन केके खाएको कुराहरु त आएको सबैलाई थाहा भए पनि बोल्न नसक्‍ने स्थिति नरहे उनले बताए। भने, ‘ हाम्रो देशमा त अझै स्वतन्त्र भनेको त उल्टोतन्त्र पो आयो गाँठे !’

के अब गीत परिमार्जन गरेर ल्‍याउनु पर्छ भन्‍ने प्रश्‍नमा उनले भने, ‘ हो राष्ट्रपति देशको अभिभावकत्व सम्हालेको व्‍यक्तित्व हो। उहाँको भूमिका कार्यकारी प्रधानमन्त्रीको जस्तो हुँदैन। हामी सबैले पदलाई सम्‍मान गर्नुपर्छ। पशुपतिले केही राष्ट्रविरुद्धको शब्दलाई सच्‍याएर भ्रष्टाचार, बेथितिलाई राखेर गीत भने ल्‍याउनु पर्छ। यो नेपाली जनताको माग हो। किनकी नेपाली लोक लयका गीतसंगीत/स्रिजनालाई मर्न दिनु हुँदैन।’

फाल्गुन ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्