रियल मड्रिडको अप्रत्यासित हार, रेड कार्डमा कप्तानको कीर्तिमान

पछिल्ला खेलमा राम्रो गर्दै आएको रियल मड्रिड स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा अप्रत्यासित रुपमा पराजित भएको छ ।

रियल मड्रिड तुलनात्मक रुपमा कमजोर मानिएको टिम जिरोनासँग आफ्नै मैदानमा २–१ ले पराजित भएको हो । पहिलो हाफमा अग्रता लिएर पनि रियलले त्यसलाई कायम राख्न सकेन

। २५ औँ मिनेटमा कासेमिरोको गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता लियो । तर दोस्रो हाफमा उसले दुई गोल खायो र आफ्ना कप्तानलाई रातो कार्डका कारण गुमायो ।

६५ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियन स्तुआनीले जिरोनाका लागि बराबरी गोल फर्काए । पोर्तुगेस मातानेराले ७५ औँ मिनेटमा गोल गर्दै जिरोनाका जित निश्चित गरे ।

रियलका कप्तान सर्जियो रामोस ९० औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । रामोसकै ह्याण्ड बलका कारण जिरोनाले पेनाल्टी पाएको थियो ।

ह्याण्ड बलकै बेला रामोसले पहिलो पहेँलो कार्ड पाएका थिए । यस्तै अन्तिम समयमा ओभरहेड किक गर्ने क्रममा जिरोनाका पेड्रो एलकालालाई समातेका कारण दोस्रो पहेँलो कार्ड पाए र मैदान छोड्न बाध्य भए ।

रामोसको खेल जीवनमा उनले ला लिगामा पाएको यो १९ औँ रातो कार्ड हो । स्पेनको शीर्ष लिगमा सबैभन्दा धेरै रातो कार्ड पाउने खेलाडी रामोस नै हुन् ।

हारपछि रियल मड्रिडले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । उसको २४ खेलबाट ४५ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ४७ अंक रहेको छ । लिग लिडर बार्सिलोनाको ५४ अंक छ ।

ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा भिल्लारियलले सेभिल्लालाई ३–० ले हरायो भने भ्यालेन्सिया र स्पानियोलले गोलरहित तथा रियल बेटिस र एलाभेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्