टिममा ७ खेलाडी, प्रशिक्षक छैनन्

२०–० को हार, पहिलो हाफमै १६ गोल

एउटै खेलमा २० गोल खानु र एक गोल पनि फर्काउन नसक्नु टिमका खेलाडीलाई लाजको कारण त हो नै, यस्तै लाजको कारण टिमका समर्थकका लागि पनि बन्छ ।

इटालियन सिरी सी अर्थात इटालीको तेस्रो डिभिजन अन्तर्गत आइतबार अपराहन्न भएको खेलमा प्रो पिएचेन्सा २०–० ले पराजित भयो । सिरी सी अन्तर्गत समूह ए मा रहेर संघर्ष गरिरहेको पिएचेन्सा लिगको प्रतिद्वन्द्वी कुनिओसँग पराजित भएको हो ।

प्रो पिएचेन्साले पहिलो हाफमै १६ गोल खाएको थियो । कुनिओका इसन कानिसले पहिलो हाफमा ६ गोल गरे । इड्वार्डो डिफेन्डीले पाँच गोल गरे । प्रो पिएचेन्साको डिफेन्स निकै खराब रहेका कारण धेरै गोल खाएको हो ।

सिरी सी को पुछारमा रहेको इटालीको उत्तरी क्षेत्रको क्लब प्रो पिएचेन्सा गम्भीर आर्थिक समस्यामा छ । यसअघि यो टिमको ८ अंक कटौती भएको थियो ।

क्लबले गएको अगस्टदेखि खेलाडीलाई पारिश्रमिक दिन सकेको छैन । यसका कारण टिमका पहिलो रोजाइका अधिकांश खेलाडीले राजीनामा दिएका छन् ।

आइतबार अघिका तीन खेल यो टिमले खेल्न सकेको थिएन । आइतबारको खेलका लागि टिममा पूरा खेलाडी थिएनन् । अवे मैदानको खेलका लागि प्रो पिएचेन्सा सात खेलाडीसहित भएको थियो । टिममा ६ खेलाडी किशोर थिए ।

टिममा कोचिङ्ग स्टाफ थिएनन् । १८ वर्षका कप्तान निकोला चिर्रिग्लियानोले प्रशिक्षकको भूमिका पनि निर्वाह गरेका थिए ।

खेल चलिरहेका बेला एक किशोरले आफ्नो कागजात पूरा गर्न सकेका कारण प्रो अन्तिममा एक थप खेलाडी उपलब्ध भएको अवस्थामा पुगेको थियो ।

कुनिओले आइतबारको खेलअघि सिरी सीमा २४ खेलमा १८ गोल गरेको थियो । तर उसले ९० मिनेटको खेलमा लिगका २४ खेलमा गरेको भन्दा दोब्बरबाट पनि बढी गोल गरेको हो ।

प्रो पिएचेन्साको अवस्थाका बारेमा इटालियन फुटबल फेडेरेशनमा आउँदो मार्च ११ मा सुनुवाई हुँदैछ।

फेडेरेशनका अध्यक्ष गाब्रिएले ग्रेभिनाले आइतबारको नतिजा खेलकै उपहास रहेको बताएका छन् । टिम र शुभचिन्तकको सद्भावलाई जीवित राख्न प्रयास गरिने उनले बताएका छन् ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्