नेपालगञ्ज – रोल्पाका दुई महिला लागु औषध चरेशसहित भारतको रुपैडिहाबाट पक्राउ परेका छन्।

हिमाञ्चल प्रदेशको कुल्लुमनाली जान हिँडेका रोल्पाका मायादेवी र शिरकुमारीलाई रुपैडिहा बसपार्कबाट एसएसबी र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो ।

‘डेक’ भित्र ६ किलो चार सय ग्राम चरेश राखेर मुख्य चेकिङस्थल पार गरिसकेका दुई महिलालाई विशेष सुराकी पाएपछि एसएसबीले रुपैडिहा बसपार्कबाट पक्राउ गरेको थियो । नेपालगञ्जको जमुनाहा नाका र रुपैडिहाको मुख्य चेकिङस्थल उनीहरुले पार गरिसकेका थिए ।

अटोरिक्सामा नाका पार गरेका उनीहरुले खुट्टानिर डेकभित्र चरेश राखेका थिए । कपडा राखेको झोला साथमा थियो । नेपाल र भारतका सुरक्षाकर्मीले झोला चेक गरेपनि डेकलाई हात लगाएनन् ।

रुपैडिहाको मुख्य चेकिङस्थल कटेर बसपार्कमा पुग्ने बेलामा महिलाहरु अति नै उत्साहित हुँदै ‘अनौठो’ कुरा गरेपछि रिक्सावालाले नै प्रहरीकहाँ आएर शंकास्पद गतिविधिबारे बताएको बुझिएको छ । त्यसपछि थानाबाट गएको प्रहरीले उनीहरुलाई बसपार्कबाट समातेर ल्याएको थियो ।

महिलाहरुले रोल्पाबाट चरेश दुई लाखमा किनेर ल्याएको बताएका छन् । कुल्लुमनाली पुर्‍याउँदा धेरै कमाई हुने महिलाहरुको आश थियो । दुईमध्ये एक महिलाको तीन वर्षअघि डेढ किलो चरेशसहित पक्राउ परेर तीन वर्ष सजाय काटेर छुटेकी थिइन् ।

एसएसबीले दुवै महिलालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चलान गरिसकेको छ । भारतीय प्रहरीले लागु औषधमा सीधै जेल पठाउने गर्दछ ।

लागुऔषध चरेशसहित पक्राउ पर्ने नेपालीको महिलाको संख्या बहराइच जेलमा बढ्दै गएको छ । कतिपय सोझो महिलालाई तस्करले ५–१० हजार रुपैयाका लागि नाका कटाउन भरिया बनाउने गरेको पाइएपनि यी दुई महिला आफै चलाख रहेको पाइएको छ ।

फाल्गुन ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्