
काठमाडौँ – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकार एउटा रचना तथा संगीतबाट अत्तालिएको बताएका छन् ।
प्रनितिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले लोक गायक पशुपति शर्माको गीत धम्की र दबाबमा प्रतिबन्धित गरिएकोप्रति आपत्ति जनाउँदै यसले सरकार गीतबाटै अत्तालिएको प्रष्ट भएको बताएका हुन् ।
उनले सरकारलाई चेतावनी दिँदै भने, ‘गीतमा जनताका भावना थिए । यसरी जनताका भावना सुन्न नसक्ने हो भने सरकारलाई जनताले नै ठीक पार्छन् ।’
सांसद सिंहले सांसदका रुपमा आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ गायक शर्मालाई दिने घोषणा पनि गरेका छन् । संसदको शून्य समयमा बोल्ने सांसदले गीतमाथि लागेको प्रतिबन्धबारे बोलिरहेका छन् ।
शर्माले केही दिनअघि सार्वजनिक गरेको ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गीतमाथि प्रतिबन्ध लागेपछि त्यसको व्यापक विरोध भइरहेको छ ।
सत्तापक्षका सांसदको जवाफ
कांग्रेसका सांसद सिंहले पशुपति शर्मालाई २५ हजार दिने घोषणा गरेको केही समयपछि संसदको शून्य समयमा बोलेका सत्तारुढ नेकपाका सांसद झपडबहादुर रावलले कडा जवाफ दिए ।
सांसद रावलले सांसद सिंहले पशुपति शर्माको गीत गाएमा आफूले फागुन महिनाको पूरै तलब सिंहलाई नै दिने बताए ।
उनले भने, ‘पहिले–मलाई अमेरिका यहि, जापान पनि यहि भन्ने गीत गाएका पशुपति शर्माले अहिले लुट्न कान्छा लुट भन्ने गीत गाए छन् । उनको गीतमा राष्ट्रपतिको प्रशंग तथा कुकुर र यमराज जस्ता आपत्तिजनक शब्द छन् । यो गीत गाउने शर्मालाई आफ्नो तलबबाट २५ हजार दिने घोषणा गरेका माननीयले आफै गाएमा मैले फागुन महिनाको पूरै तलब उहाँलाई दिन्छु ।’
सांसद रावलले अघि भने, ‘पशुपतिनाथले त जोगाउन नसकेको कांग्रेसलाई यस्तो लुट कान्छा गीत गाउने पशुपति शर्माले जोगाउन सक्दैनन् ।’
सांसदका कुरा सुनेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शर्माको गीतमाथि प्रधानमन्त्रीको निर्देशनमा प्रतिबन्ध लगाएको भन्ने सत्य नरहेको बताए । आफूले संसदमा दुई सांसदहरुले कुरा उठाएपछि मात्रै थाहा गीतबारे थाहा पाएको बताए ।