भेनेजुएलामा राजनीतिक संकट

ट्रम्पले दिए भेनेजुएलाको सेनालाई चेतावनी, राष्ट्रपतिको समर्थन छोड्न अपिल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलश मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् ।

ट्रम्पले सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता क्आन गुएडोलाई साथ दिन आग्रह गरेका हुन् ।

मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

उनलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उनकै पक्षमा छ । अन्तर्राष्ट्रिय दबाब बढे पनि सेनाको साथ पाएकाले मादुरो सत्तामा कायम छन् ।

गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले मायामीमा गरेको सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी दिएका हुन् ।

मादुरोको पक्षमा रहेकाहरुले आफ्नै भविष्य र जीवनलाई नै जोखिममा पारेको ट्रम्पले चेतावनी दिएका छन् । भेनेजुएलाका राष्ट्रपति मादुरोले सत्ताबाट बाहिरिन वा नयाँ चुनाव गराउन अस्वीकार गर्दै आएका छन् ।

भेनेजुएलाका लागि मानवीय सहायता सामग्री बोकेका अमेरिकी सैन्य विमान कोलम्बियाको सीमावर्ती नगर कुकुता पुगेका छन् । भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएका बेला आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोको आग्रहमा अमेरिकाले मानवीय सहायता सामग्री पठाएको हो ।

राष्ट्रपति निकोलश मादुरोले अमेरिका सहायता सामग्री भित्र्याउने नाममा आफ्नो देशमा सैन्य हस्तक्षेप गर्ने ध्यानमा रहेको बताउँदै आएका छन् । सहायता सामग्री मात्रै बहाना रहेको मादुरोको भनाई छ ।

मादुरो सरकारले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । तर विपक्षी नेता गुएडोले भने कुकुता आइपुगेका सहायता सामग्री भोलेन्टिर्यसले फेब्रुअरी २३ मा भेनेजुएला भित्र्याउने बताएका छन् ।

राष्ट्रपति निकोलश मादुरो विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका गुएडोले गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनको क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।

मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् ।

मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए । विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए ।

विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

फाल्गुन ७, २०७५ मा प्रकाशित