सुदूरपश्चिम प्रदेशलाई जेठ भित्र साक्षर प्रदेश घोषणा गर्ने तयारी

धनगढी – सुदूरपश्चिम प्रदेशलाई २०७६ जेठ २० गते पूर्ण साक्षर घोषणा गर्ने तयारीमा प्रदेश सरकार जुटेको छ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा प्रदेशका ८८ वटै स्थानीय तह र जिल्ला विकास तथा समन्वय इकाई प्रमुख बीच भएको छलफल पछि जेठ २० गते भित्र जिल्लालाई साक्षर घोषणा गर्ने सहमति भएको हो।

प्रदेशको कुल जनसंख्या मध्य ४० हजार नागरिक निरक्षर रहेको तथ्याङ्क छ। सुदूरपश्चिम प्रदेश स्थित दार्चुला यस अघि नै साक्षर जिल्ला घोषणा भइसकेको छ। यसैगरी बैतडी, र कञ्चनपुरलाई फागुन महिना भित्रै साक्षर घोषणा गर्ने तयारी भइरहेको सामाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान केन्द्र प्रमुख झंकर विष्टले बताए ।

यस बाहेक बझाङ, बाजुरा, अछाम, डोटी र कैलालीमा पनि तोकेको समय भित्र साक्षर दर बढाउन प्रदेश सरकारको समन्वयमा अतिरित्त कार्यक्रम सञ्चालन गर्ने सहमति भएको उनले बताए । साक्षर दर बढाउन सामाजिक विकास मन्त्रालयले हरेक स्थानीय तहलाई ५० हजार र जिल्ला शिक्षा समन्वय इकाई लाई तीन लाख प्रदान गर्नेछ ।

‘तोकेको समय भित्र आ–आफ्नो स्थानीय तहलाई साक्षर घोषणाका लागि तयार पार्न स्थानीय तहका जनप्रतिनिधि तयार भएका छन्’ अनुसन्धान केन्द्र प्रमुख विष्टले भने–‘पहाडका केही स्थानीय तह बाहेक अरुमा खास्सै समस्या देखिँदैन, तोकेको समयमा घोषणा गर्न हामी तयार छौँ ।’

कैलालीमा दुई पटक मिति सर्‍यो


कैलाली जिल्लालाई साक्षर घोषणा गर्न लिइएको मिति दुई पटक सरेको छ । पहिलो पटक भदौमा जिल्लालाई साक्षर घोषणा गर्ने तयारी भइरहँदा दुई वटा स्थानीय तहले असहमति जनाएपछि माघ सम्मका लागि साक्षर जिल्ला घोषणा गर्ने मिति सारिएको थियो ।

सो समयमा कैलालीको पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाले तत्काल आफ्नो स्थानीय तहमा तयारी नपुगेको भन्दै मिति सराएका हुन् । माघ सम्म सारिएको मितिमा समेत दुई वटै स्थानीय तहमा साक्षर घोषणाको इण्डिकेटर पूरा नभएपछि जेठ सम्मका लागि पुनः मिति सारिएको शिक्षा विकास समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले बताए ।

पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाले लक्ष्य अनुसार काम गर्न नसकेपछि निर्धारित मिति सारिएको जिल्ला प्रशासन कार्यालय जिल्ला शिक्षा विकास समन्वय इकाइ प्रमुख भट्टले जानकारी दिए । कागजमा ९७ दशमलव २ प्रतिशत साक्षर देखिएको कैलाली जिल्ला पूर्ण साक्षर घोषणा हुन भने पटक–पटक मिति सार्नु पर्ने समस्या देखिएको हो ।

पहाडी क्षेत्रमा शिक्षा सम्बन्धी काम गर्ने कर्मचारीको टुङ्गो लाग्न नसक्नु र बालबालिकाको सहज पहुँचमा विद्यालय नहुँदा साक्षर घोषणामा समस्या देखिएको चुरे र मोहन्याल गाउँपालिकाका जनप्रतिनिधीले बताएका छन् ।

चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरले छिटपुट वस्ती हुँदा सवैको पहुँचमा विद्यालय नहुँदा साक्षर घोषणा अभियानमा समस्या देखिएको बताए । मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलले आफ्नो क्षेत्रलाई तत्काल साक्षर घोषणा गर्न नसकिने बताए । आफ्नो क्षेत्रमा अझै पनि शिक्षा अधिकारी समेत उपलब्ध नभएको हुँदा साक्षर जिल्ला घोषणा अभियानमा चुनौती बढेको अध्यक्ष रावलले बताए ।

गाउँपालिकाको २५ हजार जनसंंख्या मध्य अझै २० प्रतिशत भन्दा बढि मानिस निरक्षर रहेको भन्दै उनले उक्त समूहलाई साक्षर बनाउन विशेष कार्यक्रम सञ्चाल गर्नु आवश्यक रहेको बताए ।

२०६८ को जनगणना अनुसार कैलालीमा १ लाख ५५ हजार ५ सय ७० मानिस निरक्षरको रेखा मुनी रहेका थिए । २०७० सालमा कैलालीमा सञ्चालन गरिएको साक्षर नेपाल अभियान मार्फत १ लाख ६० हजार ७ सय ३२ जनालाई साक्षर गरिएको थियो । त्यस लगत्तै पुनः निरन्तर शिक्षा मार्फत ७२ हजार ३४ मानिसलाई साक्षर बनाई साक्षरता दर ९७ दशमलव २ प्रतिशत पुर्‍याइएको तथ्याङ्क छ ।

साक्षर घोषणा गर्दा अपनाइने सूचक


साक्षर घोषणा गर्दै निम्न सूचकलाई आधार मानिने गरिन्छ । वर्ण र अक्षर लेखपढ गर्न सकेमा, मूल्य सूचि र विल पढ्न सक्ने भएमा, परिवारका सदस्यहरूको परिचय विवरण लेख्न र पढ्न सक्ने भएमा, मोवाईल र क्यालकुलेटरको प्रयोग गर्न सकेमा, ० देखि ९ सम्मका अंक र अक्षर लेख्न र पढ्न सक्ने भएमा, लेनदेनका हर हिसाव राख्नसक्ने भएमा, चित्र, पोष्टर, साईनवोर्ड र ट्राफिक संकेत वुझ्नेसकेका आधारमा कुनै पनि व्यक्तिलाई साक्षर मान्न सकिन्छ ।

साक्षर घोषणा गर्न भने माथिका १२ वटा सूचक मध्य ६ वटा सूचकको प्रयोग गर्न सक्ने व्यक्तिलाई साक्षर मान्न सकिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले बताए ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्