गीतमाथि प्रतिबन्ध लगाएर प्रजातन्त्र दिवस मनाउनुको के अर्थ?

पशुपति शर्मा नामसँगको मेरो परिचय धेरै पुरानो छैन। लोकदोहोरी भाकाका संगीतसँगको सम्मोहन अलि ढिलै भयो।

यस्तै कुनै तीज कार्यक्रममा हुनपर्छ सायद- पशुपति शर्माका गीतहरु बजिरहेका थिए, केटाकेटीले दोहोरी गाएजसरी गाइएका ती गीत सुरुवाती रुपमा उति मन परेनन्।

‘तीजको लहर आयो बरिलै’ बाहेक अरु पनि तीजका गीत हुन्छन् भन्ने मलाई अलिपछि मात्र थाहा भयो। सायद पहिलोपटक सुनेको भएर होला। पछि बानी पर्दै जाँदा ‘बत्ती बाल्न पर्दैन त्यो गाउँमा” गीत रमाइलो लाग्यो।

त्यसपछि खुमन अधिकारी, विष्णु माझीहरु जस्तालाई सुन्न थाले, शब्दहरुको संकलन, गीतमा बुनिएका कथाहरुले मन मस्तिष्कमा डेरा जमाउन मलाइ धेरै बेर पनि लागेन।

लोकभाकाका गीतहरु सहज र सरल रुपमा प्रस्तुत गर्ने उनको शैलीसँग परिचित हुँदैजाँदा उनको गीतहरुमा नयाँपन भेट्न थाले। भाका उस्तै भए पनि कथा फरक हुन्थ्यो, सन्देश नयाँ हुन्थ्यो, अनि सामाजिक विसंगतिलाई एउटा मिठो चोट हुन्थ्यो।

सबैको संगीतको स्वाद उस्तै हुँदैन त्यसैले त बजारमा हरेक प्रकारका संगीत भेटिन्छन्। कुनै गीत सन्देशमूलक हुन्छन्, कुनै विशुद्ध मनोरञ्जनका लागि हुन्छन् भने कुनै राजनीतिक।

कलाका विधाहरुसँग म परिचित छैन, कलाका विधाहरुलाई केलाउने सामर्थ्य पनि मसँग छैन। तर गीत संगीत, सिनेमा, हास्यव्यंग्य, टेलिभिजन सो आदि मेरा तनाव बिर्साउने र केही समय निर्धक्क रमाउने आधार हुन्। म चलचित्रका गीतहरु पनि सुन्छु, आधुनिक गीत पनि सुन्छु, एउटै खाले गीत मात्र सुन्न मलाई मन पर्दैन, त्यसैले पाए भेटेसम्म सबै खाले संगीत चाख्न कुनै कसर बाँकी राखेको छैन।

पशुपति शर्माका श्रोता आफ्नै होलान्। नियमित श्रोता त म पनि पक्कै हैन तर केही गीत सुनेको छु। ‘बुहारी सुत्केरी भैछे आमालाई दुई मैना खुल्यो काम’ भन्ने गीतले कति यथार्थ बोकेको छ? आफ्नो स्वार्थ पूरा गर्न आमाहरु आफ्नै सन्तानबाट अहिलेसम्म प्रयोग भइरहेका छन्। विदेश बस्ने कति परिवारले बाउआमालाई बेबी सिटर को रुपमा प्रयोग गर्छन्? कती तितो यथार्थ लुकेको छ यो गीतमा।

उनको अर्काे ‘मलाई अमेरिका यही’ गीतमा देशप्रतिको प्रेम झल्कन्छ। यद्यपि यो मेरो रोजाइको गीत भने होइन। समग्रमा म उनको विशुद्ध श्रोतामा पर्दिन तर कलाकारले कलाद्वारा राज्य र राज्य सञ्चालनको जिम्मेवारी लिएकाहरुलाई खबरदारी गर्न पाउने व्यक्तिगत अधिकारको समर्थन गर्छु। राज्यको यो नैतिक जिम्मेवारी पनि हो कि जनताको बोल्न पाउने अधिकार सुनिश्चित गरियोस्।

विश्वभर गीतद्वारा प्रोटेस्ट गर्ने चलन चलिआएको छ। कलाकारले कलाद्वारा नै विरोध गर्ने हो। कविले कविता, चित्रकारले चित्र र गायकले आफ्नो गायकीद्वारा विरोध प्रदर्शन गर्छन्। नोरमान व्हीटफिल्ड र बार्रेट स्ट्रङ ले ‘वार’ नामक गीत लेखेर भियतनाम युद्धको खुलेरै विरोध गरेका थिए।

सन् १९७२ मा ब्रिटिश पाराट्रुपर्सले १३ आइरिस नागरिकलाई मारेको विरोधमा ‘सण्डे बल्डी सण्डे’ यु टुले गाएको राजनीतिक गीत हो। त्यस्तै शाम कुके को ‘अ चेन्ज ईज गना कम’ सिभिल राईट्स मुवमेण्टको समर्थनमा लेखिएको गीत हो।

पञ्चायत कालमा मह जोडीका कैयौँ गीतले जनतामा चेतना फैलाएको थियो भनेर मैले घरमा आमाबुवा, काका, हजुरबुवाहरु कुरा गरेको सुनेकी छु, म त सानै थिएँ त्यति बुझ्ने बेला भइसकेको थिएन। ‘दुई चाउरेले चश्मा लाए’, ‘बम पड्केर बुद्धको छाती चरर’ जस्ता गीतहरु खुलेआम बजाउन पाइन्थ्यो।

आज आएर फेरि त्यही समयको अनुभूति दिन सरकार लागेको छ- ‘लुट्न सके लुट कान्छा’लाई प्रतिबन्ध लगाएर। कलाकारको अधिकारको लागि उभिनुपर्ने सरकार, आफ्नै भ्रातृसंगठन प्रयोग गरी आक्रमणमा उत्रियो। हुन त पछिल्ला केही समयदेखि सामाजिक सञ्जाल बन्द गर्ने, सरकार विरुद्ध बोल्नेलाई पक्राउ गर्ने, धम्की दिने जस्ता अभिव्यक्ति दिएर सरकार अलोकप्रिय हुँदै गइरहेको छ।

आफ्नो असहिष्णुता निर्मला हत्याकाण्डमा देखाएको जगतलाई सर्वविदितै छ। पोलपोलबाट पोस्टर च्यात्दै हिँड्ने सरकार आफैँ पोलमा चढेको सम्झनामा ताजै छ। त्यही समयमा पनि कविहरूले सम्मेलन गरेर आवाज उठाएका थिए। चित्रकारहरुले चित्र बनाएर निर्मलाको निम्ति न्याय मागेका थिए। पूरै देश न्याय माग्दै उर्लिएको थियो।

निदाएको अभिनय गर्ने सरकार एउटा गीतले झस्कियो। सरकार चलाउनुअघि गाउँगाउँ नाच्दै गाउँदै तत्कालीन सरकारको विरोध गरेर नै प्रजातन्त्र आएको हो। अनि त्यसैगरी गणतन्त्र आएको हो भन्ने झझल्को पनि बाँकी नरहेको हो कि भन्ने भान जनतामा परेको छ।

यो त्यही कम्युनिष्टको सरकार हैन र? उसको आफ्नै जनसांस्कृतिक परिवार रहेको हुन्थ्यो। त्यही परिवारकी चुनु गुरुङ ‘यो मेरो प्यारो जलजला’ गीत गाएर नै सेनाद्वारा मारिएकी हैनन् र? अहिले पशुपतिमाथिको प्रहारलाई चुनुको आत्माले कसरी नियाल्यो होला?

चुनु गुरुङ लगायत ती तमाम कलाकार जस्ले मादल बजाएर सेनाको दमनका विरुद्ध गीत गाँउदै गर्दा मारिए, तिनका आत्माले के भनेका होलान्? मलाई अझै पनि एउटा युट्युबमा हेरेको भिडियो याद छ, जहाँ प्रचण्ड ड्वाँड्वाँ रोएका छन्, कलाकारहरुले सरकारी दमनलाई गीतिकथामा देखाएका थिए।

अहिलेको सरकारले विगत बिर्सेको छ। जनताका आवाज छेक्नु भनेको आगोको लप्का छेक्न भुस खन्याएजस्तो हो। एकैछिनलाई आगो निभेको भान होला तर धुवाँ उठ्न थालेपछि थाहा हुन्छ आगो त झन बेस्सरी दन्किसकेको हुन्छ।

पहिला पहिलाका शासकले जसरी कलाकारलाई दुश्मन देखे, अहिलेका पनि त्यही देखेका हुन्। नयाँ कुरा त केही हैन, तर अचम्म लाग्दो रहेछ, क्रान्तिकारी कुरा गर्नेहरु सत्तामा पुगेपछि झनै ठूलो शोषक हुने रहेछन्, तानाशाही जर्जर हुने रहेछ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्