तिलोत्तमा गोल्डकप

दार्जिलिङलाई पाखा लगाउँदै नेपाल पुलिस सेमीफाइनलमा

बुटवल–विदेशी टोली दार्जिलिङ युनाईटेड क्लब भारतलाई पाखा लगाउँदै विभागीय टीम नेपाल पुलिस क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

४७ औं मिनेटमा रवि पासवान र ६८औं मिनेटमा मिलन राईले गरेको गोलको मद्दतले पुलिसलाई सेमीफाईनल प्रवेश गरायो। बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा पहिलो हाफदेखि नै दबाबमा राखेको पुलिसले दार्जिलिङलाई गोल गर्ने मौका दिएन। दार्जिलिङलाई दबाबमा राख्न महत्वपूर्ण भूमिका खेल्ने रवि पासवान म्यान अफ दि म्याच भए।

‘यो हामीहरु खेलिरहेको मैदान हो, हाम्रा खेलाडीहरु केहि नयाँ भएपनि टीमबीचको तालमेल र अट्याकिङ प्लान सफल भयो।’ पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले भने–‘आउँदो खेलमा अरु राम्रो गरेर फाइनल पुग्नेछौं।’

दार्जिलिङको आपसी समन्वय र तालमेल नमिल्दा पाएका राम्रा अवसरहरु पनि गुमेका थिए। पहिलो हाफ र दोश्रो हाफमा निस्केका मुभलाई दार्जिलिङले गोलमा परिणत गर्न सकेन।

‘हाम्रो टीममा तालमेल र पर्फमेन्स मिल्न सकेन, दार्जिलिङका कप्तान अनिश लिम्बुले भने– ‘सक्दो प्रयास गरेका हौं, टीमले सक्दो मेहनत गरेको हो, पुलिस राम्रो टीम हो त्यसैले पनि हाम्रा अट्याकहरु सफल हुन सकेनन्।’

पुलिस क्लब च्यासल युथ क्लब र मनाङ मर्स्याङ्दीबीचको बिजेतासँग ११ गते सेमीफाईनलमा भिड्नेछ। च्यासल र मनाङ ९ गते सेमीफाइनलका लागि भिड्नेछन्।

यसअघि समूह ‘क’ बाट सुनसरी ११ लाई पाखा लगाउँदै आयोजक रुपन्देही ११ सेमीफाइनलमा प्रवेश गरिसकेको छ। समूह ‘क’को अन्तिम क्वाटरफाइनल खेल बुधबार हुँदैछ।

सेमीफाइनलका लागि वाई पाएर क्वाटरफाईनल प्रवेश गरेको विदेशी टोली दाफिन्स फुटबल क्लब क्यामरुन र एपीएफलाई पराजित गरेको झापा ११ बीच भिडन्त हुनेछ।

फाल्गुन ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्