डा. केसीको चेतावनी

‘भ्रष्टाचारमा मुछिएका पाठक, पराजुली र कार्कीलाई कारवाही नभए जतिबेला पनि अनशन बस्‍न सक्छु’

काठमाडौँ– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई राजीनामा गर्न लगाएर भ्रष्टाचारलाई प्रबद्र्धन गरेको भन्दै पाठकलाई महाभियोग नलगाए कुनै पनि बेला अनसन बस्‍ने चेतावनी डा. गोविन्द केसीले दिएका छन्।

त्योसँगै सर्वोच्च अदालतका पूर्व प्रन्यायाधीध गोपाल पराजुली र अख्तियार तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै त्यसो नगरे जुनसुकै बेला अनसन बस्ने चेतावनी समेत डा. केसीले दिएका हुन्।

घुस प्रकरणमा मुछिएका पाठकमाथि छानबीन गर्नुका साटो राजीनामा दिन लगाएर सरकारले उनलाई उन्मुक्ति दिएको आरोप लगाउँदै डा.केसीले देशमा भ्रष्टाचार विरुद्ध लड्ने आफ्नो पूर्वप्रतिबद्धता पुरा गरेरै छाड्ने बताएका छन्।

बुधबार प्रेस विज्ञप्ति मार्फत  उनले भनेका छन्,‘चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरी दुई वर्ष अगाडि नै हामीले महाभियोग लगाउन माग गरिएका अख्तियार आयुक्त राजनारायण पाठकलाई सो समयमा कारवाही नगरिएकाले हालको अवस्था सिर्जना भएको हो।’ डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पाठकको घुस प्रकरण चार महिना अगाडि नै थाहा पाएर पनि गुपचुप राखेको आरोप समेत लगाएका छन्।

‘प्रधानमन्त्री ओली लगायत सत्तासिन दलका नेता र सांसद भ्रष्ट पदाधिकारीलाई महाभियोग लगाउने विषयमा मौन हुनुले उनीहरु जनताका लागि नभएर भ्रष्ट, माफिया, बिचौलियाका लागि काम भन्ने प्रमाणित भएको छ’ डा. केसीले उल्लेख गरेका छन्।

उनले भ्रष्टचारका सम्बन्धमा प्रधानमन्त्री ओलीले दोहोरो चरित्र देखाएको आरोप समेत लगाएका छन्।

डा. केसीले यसअघिको १६ औँ अनशन विशेष कारण स्थगित गरेको भन्दै अव त्यसलाई निरन्तरता दिन तयारी अवस्थामा रहेको समेत जानकारी गराएका छन्। उनले पाठक, कार्की र पराजुलमाथीको कारवाहीको माग त अघि सारेकै छन् साथै चिकित्सा शिक्षाका सम्बन्धमा सरकारसँग भएका पूर्ववत सम्झौता कार्यान्वयको माग समेत गरेका छन्।

डा. केसीले सरकारबाट निर्धारित शुल्क भन्दा बढी रकम विद्यार्थीबाट असुल गर्ने गण्डकी मेडिकल कलेज सञ्चाकलाई कारवाहीको माग गरेका छन्।

साथै उनले संसदमा दर्ता भएको शान्ति सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पनि आपत्ती जनाएका छन्।

फाल्गुन ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्