झापा-११ विदेशी टीम दाफिन्ससँग ५-० गोलले पराजित, दाफिन्स सेमिफाइनलमा

बुटवल– बुढासुब्बा गोल्डकपको बिजेता विदेशी टोली दाफिन्स फुटबल क्बल क्यामरुन बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ।
दावेदार मध्ये एक मानिएको पाहुना टोली दाफिन्सले बुधबार भएको तेस्रो क्वाटरफाइनलमा दश खेलाडीमा सिमित हुनुका बावजुद झापा–११ लाई ५–० को फराकिलो अन्तरले हरायो।
बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा दाफिन्सका लागि २६ औं मिनटमा यानिकले पहिलो गोल गरे। गोलरक्षक दिप क्षेत्रीले गम्भिर गल्ती गर्न पुग्दा झापाले पहिलो गोल खान पुगेको थियो। पहिलो हाफसम्म १-० को अग्रता बनाएको दाफिन्सले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।
खेलको ५० औं मिनटमा पिटेंगाले दाफिन्सका लागि दोस्रो गोल गरे। यद्यपि खेलको ५८ औं मिनेटमा औरेल इनामीले दोहारो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि अफ्रिकी टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो। तर पनि एकतर्फी जित निकालेको दाफिन्सका लागि ७३ औं मिनटमा नाईसले तेस्रो गोल गरे।
लगतै ७५ औं मिनटमा डिडेर टिनाले दाफिन्सका लागि चौथो गोल गरे भने ८८ औं मिनेटमा म्यान अफ द म्याच समेत घोषित बीक बीकले पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे।
प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।