एमबाप्पे पुगे नयाँ उचाईमा

नेइमार र एडिन्सन काभानी बिहीन पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा शानदार जित दर्ता गरेको छ । लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टेपिलरलाई ५–१ ले हराएको हो ।

पिएसजीको जितमा कुर्जावा, एन्जल डी मारिया, एनकुन्कु र केलिएन एमबाप्पेले गोल गरे । यसतै मोन्टपिलरका डा सिल्भाले आत्मघाती गोल गरे । मोन्टपिलरका लागि मोल्लेटले एक गोल फर्काए ।

१३ औँ मिनेटमा कुर्जावाले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । ३१ औँ मिनेटमा मोल्लेटले मोन्टपिलरका लागि बराबरी गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै फेरि पिएसजीलाई अग्रता दिलाए ।

दोस्रो हाफमा थप तीन गोल भयो । ७३ औँ एनकुन्कुले गोल गरे । ७८ औँ मिनेटमा डा सिल्भाले आत्मघाती गोल गरेका हुन् । ७९ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीको ५–१ को जित निश्चित गरे ।

एमबाप्पेले यो सिजन लिगमा २० गोल गरेका छन् । उनले लिग वानमा १९ खेलमा २० गोल गरेका हुन् । उनले आफ्नो खेल जीवनमा लिगमा २० गोलको आँकडा पूरा गरेको यो पहिलो पटक हो ।

समग्रमा यो सिजन २५ गोल गरेका उनले बुधबार राति ७९ औँ मिनेटमा गरेको गोल उनले लिगमा एक सिजनमा गरेको पहिलो २० औँ गोल बन्यो । एमबाप्पेले गएको सिजन पिएसजीका लागि लिगमा १३ गोल गरेका थिए । त्यसअघि उनले सन् २०१६–१७ को सिजनमा मोनाकोका लागि १५ लिग गोल गरेका थिए ।

बुधबार रातिको जितपछि पिएसजीले दोस्रो स्थानको लिलेसँगको अंक दूरी १५ बनाएको छ । पिएसजीको २४ खेलबाट ६५ अंक भएको छ । दोस्रो स्थानको लिलेको २५ खेलबाट ५० अंक छ ।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्