विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु– विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ नागेश्वर गल्लीमा आज छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार्थ बरामद गरेको हो। मदिरा बनाउन राखिएको १५ हजार ६०० लिटर कच्चा पदार्थ र तयारी अवस्थामा रहेको अवैध तथा विषादीयुक्त एक हजार ५०० लिटर मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

प्रहरीले छापाको क्रममा मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ राखेको ७८ वटा २०० लिटरका ड्रम र ४० वटा ४० लिटरका ड्रमसमेत बरामद गरेको छ।

यसअघि पटकपटक छापा मारेर अवैध मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र मदिरा नष्ट गर्दै आएको बौद्ध वृत्तले पुनः भट्टी सञ्चालनमा आएको सूचनापछि छापा मारेको हो। प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीसहित राखेर बरामद मदिरा नष्ट गरेको थियो।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्