राजमार्गका अटो रिक्सा चालकलाई ‘रिफ्लेक्टर ज्याकेट’

अटो रिक्सा चालकलाई ज्याकेट वितरण। तस्बिर–दशरथ घिमिरे/देश सञ्चार

दाङ– पूर्व पश्चिम राजमार्गमा चल्ने अटो रिक्साका चालकले रिफ्लेक्टर जडान भएको ज्याकेट लगाउन थालेका छन्। अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको पहलमा ब्रम्हादेव यातायात प्रालिबाट सञ्चालनमा आएका अटो रिक्साका चालकले ज्याकेट लगाउन थालेका हुन्।

अटो रिक्साका चालकलाई ट्राफिक नियमको पालना गरेर सवारी चलाउन अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख बिष्णुबहादुर केसीले निर्देशन दिए। ‘ओभरट्याक गर्दा अझै लापरबाही भएको देखेको छु’, उनले भने, ‘राजमार्ग संवेदनशिल क्षेत्र हो। तपाईहरुको लापरबाहीले ठुलो सवारी दुर्घटना हुन सक्छ। त्यही भएर सचेत भएर नियम पालना गर्नुहोला।’

अटो रिक्सा चालकलाई ज्याकेट वितरण। तस्बिर–दशरथ घिमिरे/देश सञ्चार।

नियम विपरित चल्ने अटो रिक्सालाई कानुनी कारबाही गरिने उनले चेतावनी दिए। ‘तपाईको सवारीको विलबुकमा जे लेखेको छ। त्यही गर्नुहोला। तीन जना यात्रु बसाल्न लेखेको छ भने तीन जना मात्रै बसाल्नु होला। सामान बोक्न लेखेको छ भने सामान मात्रै बोक्नु होला’ उनले भने–‘नियम विपरित काम गरेको भेटे कारबाही गर्छौं।’

पछिल्लो समय अटो रिक्सा दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेको हो।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्