लेखा समितिमा सांसदको गुनासो

‘वाइड बडी छानबिनले हाम्रो छवि धमिलियो’

काठमाडौं – संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले वाइड बडी घोटाला सम्बन्धी छानबिन निष्कर्षमा नपुग्दा समितिको छवि धुमिल भएको भन्दै प्रभाविकारी रुपमा अघि बढ्नुपर्ने बताएका छन्।

दुईवटा वाइड बडी खरिद गर्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेर समितिले छानबिनका लागि अख्तियारलाई निर्देशन दिए पनि प्रक्रिया अघि नबढेको र सांसदहरुको मिलोमतोमा भ्रष्टाचार सामसुम पार्न खोजिएको सन्देश आम रुपमा गएको भन्दै गुनासो पोखेका हुन्।

सांसदहरुले वाइड बडीबारे विवादमा तानिएपछि समितिको बैठक नै नराखिएको भन्दै बिहीबार सभापति भरत शाहप्रति आक्रोश पोखे।

वाईड बडी विमान खरिद प्रकरणमा समितिले दिएको निर्देशन कार्यान्वयनबारे अनुगमन नभएको, उपसमितिलाई झुटा विवरण उपलब्ध गराउने नेपाल वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारवाहीको सिफारिस नगरिएको, चिनी लगायत सर्वसाधरणको दैनिक उपभोग्य सामानमा भईरहेको कार्टेलिङमा चासो नदेखाएको भन्दै सदस्यहरुले सभापतिको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन्।

समितिका सदस्य लेखराज भट्टले लेखा समितिप्रति आम जनताको विश्वास रहेकाले त्यसलाई कायम रहने गरी काम गर्नुपर्ने बताए।

‘वाइड बडी छानबिनपछि समितिको छवि धुमिल भएको छ। समितिले दिएका निर्देशन कार्यान्वयन भयो भएन ? हाम्रै साथीहरुबीच पनि कानेखुशी सुरु भएको छ’, भट्टले समितिमा भने, ‘सबै मिलेर खाने भए भन्ने सन्देश जान थालेको छ।’

सांसद प्रेम आलेले समितिको निर्देशन कार्यान्वयन नगर्ने सम्बन्धित मन्त्रालयलाई बोलाई छलफल गर्न माग गरे । समितिलाई झुटा विवरण दिएर बद्नाम गराउने वायु सेवा निगम र पर्यटन मन्त्रालयका कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए।

उनले समितिका काम कारबाही फितलो हुँदै जाने हो भने समितिको अस्तित्वमाथि नै प्रश्न उठ्ने उल्लेख गरे।

ह्दयेश त्रिपाठीले समितिको निष्कर्षलाई कार्यान्वयन गराउन स्पष्ट मापदण्ड बनाउनुपर्ने, समसामयिक विषयमा छलफल गरि आवश्यक निर्देशन गर्नुपर्ने भन्दै सभापतिको ध्यानाकर्षण गराए।

उनले वाइड बडीको प्रतिवेदन समितिबाट पारित भइसकेको भन्ने सूचना बाहिर गएकाले त्यसको जवाफ दिनुपर्ने बताए । त्रिपाठीले भने, ‘समितिको साख गिर्न नदिऔं । सचिवालय पनि चनाखो बन्नुपर्यो । वाइड बडीको विषयले समितिको छवि धुमिल भएको छ।’

त्यस्तै सांसदहरु विरोध खतिवडा, यज्ञबहादुर बोगटी, मैना कुमारी भण्डारी, चन्दा चौधरीले पनि समितिलाई प्रभावकारी रुपमा अघि बढाउन माग गरे।

फाल्गुन ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्