नमूना गाउँकाे जीवनस्तर उकास्‍न कागती खेती र बाख्रापालन

दाङको हर्दवालाई नमुना गाउँ बनाउन छलफल। तस्बिर– दशरथ घिमिरे/देश सञ्चार।

दाङ– राजमार्ग खि उत्तरतर्फ बल्ल तल्ल मोटरबाटो पुग्दैछ। गाउँको खोलामा पानी त छ तर खेतबारीमा सिँचाईको सुविधा छैन। यहि विकटताको बिचमा पनि हर्दवा गाउँ हराभरा हुन खोज्दैछ। ७२ घरधुरी रहेको हर्दवामा केहि वर्षदेखि कागती खेति गरिदैँआएको छ।

अम्मर कबर (नविन) को बारीभरि कागती छ। सल्यानबाट बिरुवा ल्याएर उनले कागती खेती शुरु गरेका हुन्। अहिले गाउँका ११ घरधुरीले ६ विगाह जमिनमा कागति खेती गरेका छन्।

यस्तै जंगल नजिक भएकाले यहाँको अधिकांश घरमा बाख्रापालन पनि गरिएको छ। कागती र बाख्रापालनमा नमुना बन्न खोजेको यो गाउँका किसानलाई प्रदेश सरकारले सहयोग गरेको छ।

प्रदेश सांसद रेवतीरमण शर्माले हर्दवा गाउँलाई स्मार्ट कृषि गाउँको लागि सिफारिस गरेर छनौटमा परेपछि स्थनीय बासिन्दा उत्साहित भएका छन्। ‘हामीले घरखर्च चलाउन मात्रै खेती गरेका थियौं। तालिम पनि छैन। अरुले गरेको देखेर शुरु गरेको काम हो। अब हाम्रो गाउँमा स्मार्ट कृषि कार्यक्रम लागु भएपछि अब केही हुन्छ भन्ने आशा पलाएको छ’ स्थानीय हरिप्रसाद नेपालीले भने, ‘पाँच कट्ठा जग्गामा कागती हुर्कदै छ। अब तालिम पाएमा झनै राम्रो हुन्छ भन्ने आशा छ।’

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत स्मार्ट कृषि गाउँको लागि बजेट पठाएको छ। एउटा गाउँको लागि ५० लाख बजेट छ। दाङ जिल्लामा ६ गाउँ स्मार्ट कृषि गाउँको रुपमा छनोटमा परेका छन्।

शुक्रबार भएको भेलालाई सम्बोधन गर्दै प्रदेश सांसद रेवतीरमण शर्माले हर्दवाबासीको जीवनस्तर माथी उठाउन स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरिएको र यसबाट भरपुर लाभ लिन अनुरोध गरे। ‘मेरो प्राथमिकता ठगिएका बस्तीमा विकास पुर्‍याउने हो। त्यसै अनुसार हर्दवा गाउँ छनोटमा प¥यो। यहाँका जनताको अहिलेको अवस्था र कायर्मक्र लागु भएर सम्पन्न हुने बेला यहाँको जीवनस्तर उठेको हुनुपर्छ’, उनले भने ‘हामी आर्थिक बाटोमा छौँ। त्यसको आधार भनेकै व्यवसायिक खेती प्रणाली हो।’

यस्तै हर्दवामा सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन गर्न समिति गठन भएको छ। स्थानीय अगुवा अम्मर कवर (नविन) को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा देवीका ओली, सचिवमा युवराज कवर र सदस्यहरुमा गंगाकुमार घर्ती, साउनी योगी, बसुन्धरा चौधरी, भुपबहादुर रेउले रहेका छन्।

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्