कृषिबाट समृद्धि खोज्दै झापाको हल्दीबारी गाउँपालिका

हल्दीबारी– विगतका स्थानीय निकायलाई समायोजन गरेर स्थानीय तह अथवा सरकार बनाएको लामो समय भइसकेको छ। धेरै स्थानीय तहले काम गर्न सकेनन् भनेर गुनासाहरु आइरहेका छन्।

जनताको चाहना अनुरुप काम गर्न नसकेको भन्ने गुनासा सञ्चार माध्यमका मुख्य सामाग्री बन्दै गएका छन्। तर झापाको हल्दीबारी गाउँपालिकाले फरक ढंगले काम गर्दै जनताका चाहना तथा बलियो स्थानीय तहको जग बसाल्नका लागि काम गरिरहेको छ।

गाउँपालिकाको गाउँ सभा

समृद्धि जादु गरेर आउँदैन भन्ने कुरा झापाको हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई राम्ररी थाह छ। त्यसैले उनीहरु आफ्नो गाउँपालिकाको समृद्धि कसरी हुनसक्छ भनेर त्यस्को जग बसाउने क्रममा छन्।

उक्त गाउँपालिकाको निर्वाचनमा फरक फरक राजनीतिक पृष्ठभूमिबाट जनप्रतिनिधिहरु निर्वाचित भए पनि विकासको काममा कुनै तिक्तता नभएको त्यहाँ कार्यरत कर्मचारी बताउँछन्। विगत केही महिनादेखि समृद्धिको खाका कोर्दै अहिले त्यस्को कार्यान्वयनमा उक्त गाउँपालिका लागिसकेको छ।

हल्दीबारी गाउँ कार्यपालिकाको कार्यालय

गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन राप्रपाबाट निर्वाचित हुन् भने उपाध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन्। तर विकासका काममा त्यहाँ कुनै राजनीतिक वैमनस्यता नभएको पदाधिकारीहरु नै बताउँछन्।

प्रहरीलाई आवश्यक उपकरण सहयोगदेखि प्रत्येक सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा उक्त गाउँपालिकाले काम गरिरहेको छ। सामुदायिक विद्यालयका शिक्षकले पूर्ण समय कक्षामा बिताउँछन् कि बिताउँदैनन् भन्ने कुराको निगरानी गर्न विद्युतीय हाजिरीको व्यवस्था गरिसकेको छ।

गाउँपालिका क्षेत्रमा सिँचाईका लागि गाडिएको डिप बोरिङ

त्यसका अतिरिक्त कृषिलाई समृद्धिको मुख्य आधार बनाएको उक्त गाउँपालिका कार्यालयले आफ्नै कृषि तथा पशु प्राविधिक उत्पादन गर्न १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे भन्छन्, ‘हामीले समृद्धि हासिल गर्नका लागि बनाएका खाका अब कार्यान्वयनमा लगेका छौं।’ ‘हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ हल्दाबारी गाउँपालिकाको समृद्धिको मूल नारा रहेको छ।

 

गाउँपालिका क्षेत्रमा माछा पोखरी खनिँदै

बालबालिकालाई समेट्नेगरी ‘समृद्धिका पालक हल्दीबारीका बालक’, राजश्व संकलनका लागि ‘मैले तिरेको कर गाउँपालिकाको भर’, किसानलाई समेट्नेगरि ‘किसानको खुशी पशुपालन र कृषि’, पर्यटनलाई समेट्नेगरि ‘फेरि पनि घुम्न जाउँ हल्दीबारी गाउँ’ र ‘पूर्वको पर्यटकीय स्थल हल्दीबारी र जलथल’, महिलाका लागि ‘हल्दीबारीका महिला विकासमा पहिला’, साहित्यका लागि ‘साहित्यिक मन कृषि र पर्यटन’, माछा पालनका लागि ‘हल्दीबारीको बाचा झापाभरि माछा’ लगायत नारा तय गरेर चालु आर्थिक वर्षका कार्यक्रमहरु कार्यान्वयन लगिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए।

गाउँपालिकाले कृषि उत्पादन बढाउन सहकारी संस्थाहरुसंगको लागत साझेदारीमा खरिद गरेका ७ वटा ट्र्याक्टर सहकारी संस्थाहरुलाई हस्तान्तरण गरिसकेको छ।

एकजना ल्याव टेक्निसियन र एकजना ल्याव असिस्टेन्ट नियुक्त गरी जलथल स्वास्थ्य चौकीमा प्रयोगशाला ल्यावको स्थापना गरिएको छ। उक्त ल्याव स्थापना भएपछि रगत तथा दिसा पिसाब जाँचका लागि घन्टौं बिताएर विर्तामोड जानुपर्ने अवस्था हटेको छ। उक्त चौकीमा २ जना कर्मचारी नियुक्त गरेर बर्थिङ सेन्टरको शुरुवात पनि उक्त गाउँपालिकाले गरिसकेको छ।

गाउँपालिका र सहकारीहरुको लागत साझेदारीमा खरिद गरिएको ट्र्याक्टर

सामुदायिक विद्यालयका लागि ११ जना घुम्ती कम्प्युटर शिक्षक, ५ जना घुम्ती खेल प्रशिक्षक र ३ जना घुम्ती योग शिक्षकको व्यवस्था गरि गाउँपालिका कार्यालयले सामुदायिक विद्यालयहरुलाई जिम्मा लगाएको छ।

किसान अहिले माछा पोखरी खन्दैछन्। झापामा माछाको आपूर्ति बढाउनका लागि गाउँपालिकाले बसाइदिएको जगमा उनीहरु सामेल भइ माछा उत्पादनमा लागेका छन्। सोही माछा उत्पादन अभियानका लागि अहिले किसानले ३० विघा भन्दा जमिनमा माछा पोखरी खनिसकेको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए। उनले भने, ‘५० प्रतिशतको साझेदारी कार्यक्रममा किसान अत्यन्तै उत्साहित छन्। यो कार्यक्रम जम्मा ६० लाख रुपैयाँ बराबरको हो।’

माछा उत्पादनका लागि गाउँपालिकाले किसानलाई प्रति कठ्ठा १० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

खेत सिँचाई सुविधाका लागि एक सय ७५ थान डिप बोरिङ राख्ने योजनामा अहिले धमाधम डिप बोरिङ राख्ने काम भइरहेको छ। जस्को लागत ९० लाख रुपैयाँ रहेको छ। यसमा पनि गाउँपालिका र जनताको ५०–५० प्रतिशत लागत साझेदारी रहेको छ।

हल्दीबारी गाउँपालिका साविक हल्दीबारी, जलथल तथा गोल्धाप गाविसहरु मिलेर बनेको हो।

तस्बिरहरु– उमाकान्त खनाल/देश सञ्चार

फाल्गुन १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्