पलेँटीमा गायिका मीना निरौला पोख्रेल र संगीतकार आभास ।
पलेँटी शृङ्खला-नेपाली संगीतमा नारी

मेलवादेवी हुँदै मेलवादेवीसम्म

नेपाली संगीतमा औपचारिक रुपमा नारी स्वर गुञ्जिन थालेको ८ दशक भन्दा बढी भयो। विस १९९१ मा मेलावादेवीले गीत रेकर्ड गरेपछि औपचारिक रुपमा नारी स्वर नेपाली संगीतले पायो । र इतिहास सुरु भयो ।

८४ वर्षको सरस्वती पुत्रीका स्वर लहरीको इतिहासमा धेरै यस्ता नाम छन्, जो अनन्तः कालसम्म जीवित रहने छन् आफ्ना सिर्जनाहरु मार्फत ।

नेपाली महिला गायनको इतिहास सुरु गरेकी मेलादेवी शुक्रराज शास्त्रीको रचनामा रहेको, ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो, एक मात्रै धर्म साधान, नारी घरको द्वार हो’ बोलको गीत गाइन् र देश निकाला भइन् । उनले लगाएको गुनको साटो, लखेटिनु पर्‍यो ।

मेलवादेवीले सुरु गरेको नेपाली संगीतमा नारी आवाजको यात्रा कोइली देवी, तारादेवी, अरुणा लामा, गौरी केसी, मीरा राणा, दिलमाया खाती, डेजी बराइली, दाबा ग्याल्मो, शान्ति ठटाल हुँदै अहिलेको पुस्तासम्म आइपुगेको छ ।

नेपाली संगीतमा ‘देवीहरु’ को कर्मको स्मरण विशेष रुपमा भइरहेको छ, नेपालयको ‘पलेँटी शृङ्खला’ मार्फत ।

शुक्रबार बेलुका घाम ओरालो लाग्दै थियो, साँझ पर्ने तरखरमा थियो । अनामनगरको नेपालयको प्राङ्गणमा भने संगीतको इतिहासमाथिको सम्मानका साक्षी बन्न आउनेहरुको लहर बढ्दो थियो।

केही बेरको गफगाफपछि आगन्तुक भित्र पसे । भूइँमा ओछ्याइएका चकटीमा पलेँटी कसेर बस्न थाले । अगाडि कलाकार तयारी अवस्थामा थिए । बजाउँदै गरेका वाध्यवादकको बिचमा थिए–संगीतकार आभास र गायिका मीना निरौला पोख्रेल ।

संगीतमा नारी स्वरको योगदानको साक्षी बन्न पुगेकाहरु पलेँटीमा बसेपछि सुरु भयो–८४ वर्ष लामो इतिहासलाई सम्झने र सम्मान गर्ने पवित्र यात्रा ।

नेपालयले केही समयको विश्रामपछि फेरि सुरु गरेको पलेँटी यात्रा केही नयाँ स्वरुपमा आएको शुत्रधार आभासले बताए । केही फेरिएको स्वरुपको पहिलो शृङ्खलामा नेपाली संगीतमा नारी सहभागितालाई सम्झने र सम्मान गर्ने मेसो मिलाइएको हो ।

नारी आवाजको इतिहासमाथिको सम्मानको यात्रामा शुत्रधार आभास थिए र दशर्क दीर्घामा रहेका संगीतानुरागीलाई विगतको स्मृति ताजा बनाउने माध्यम थिइन् गायिका मीना ।

मीनाले मेलवादेवीले गाएको गीत ‘न घरलाई घर कहिन्छ’ गाएर सुरु भएको स्मृति र इतिहासको यात्रा मेलवादेवीले नै गाएको ‘सवारी मेरो रेलैमा’ आएर टुंगियो ।

पलेँटीका शुत्रधार आभासले बिचमा नेपाली संगीतमा योगदान दिएका नारी पात्रसँग जोडिएका आफ्ना स्मृतिका कथा–उपकथा भन्दै यात्रा अघि लगे । मीनाले गाउँदै गइन् । कहिले वारी, कहिले पारीका देवीहरुका गीतमा जोड्दै लगे ।

झण्डै दुई घण्टाको यात्रामा कोइलीदेवीको ‘सम्झिरहन्छु’, तारादेवीको ‘फूलको थुंगा’, अरुणा लामाको ‘सबैले भन्थे’ र ‘उडी जाउँ भने म पन्छी होइन’, शान्ति ठटालको ‘सम्हालेर राख’सहितको गीत प्रस्तुत भए ।

यस्तै डेजी बराइलीको ‘एउटा खुल्ला किताब हुँ म’, दावा ग्याल्मोको ‘शहर भित्र के को हल्ला’, गौरी केसीको ‘रानी तलाउ किनारा’, तारा थापाको ‘तारी नदेऊ हे माझी दाइ’, मीरा राणाको ‘मखमली चोलो’, हिरादेवी वाइबाको ‘फरिया ल्याइदिएछन् बोल’ का गीत मीनाले आफ्नो स्वरमा गाइन् र आभासले गायिका र गीतसँग जोडिएका केही भित्रि कथा र केही आफ्ना स्मृति भन्दै गए ।

सुनिता सुब्बाको ‘चिरबिर गर्ने’, लता मंगेशकरको ‘आकाशका नौलाख तारा’, उषा मंगेशकरको ‘माइतीघर’पछि मीना निरौलाले आफ्नो जीवनको महत्वपूर्ण मनिपूरी गीत ‘नोखिदरा’ गाइन् । नोखिदरा गाउनु अघि आभासले त्यसको अर्थ भनिदिए । नोखिदरामा स्वरलहरीमा अडिएका दर्शकसँग मेलवादेवीको ‘सवारी मेरो रेलैमा’ मा गएर मीना र आभासले वाध्यवादकसहित बिदा मागे ।

आफ्नो मनिपुरी गीतसहित १७ वटा गीत गाएकी गायिका मीनाले विशाल इतिहास बोकका मुर्धन्य अग्रजका गीतहरु आफू मार्फत प्रस्तुत गर्न पाउनु ठूलो भाग्यको रहेको बताइन् ।

‘तारी नदेउ हे माझी दाइ’ बोलको गीतका रचनाकार वरिष्ठ गीतकार नगेन्द्र थापाले नेपाली संगीतलाई नारी सहभागिताले पूर्ण बनाएको र सम्भावना राम्रो बन्दै गएको बताएका छन् ।

पलेँटीले आफ्नो नयाँ यात्राको थालनी नेपाली संगीतका ‘आमा’ हरुको सम्झनाबाट गरेको छ । नेपाली संगीतमा नारीहरुको सम्झनाको यात्रा शनिबार र आइतबार पनि जारी रहन्छ ।