वीर अस्पतालमा बिरामीकाे लाइन ।
क्यान्सरको भयावह अवस्था

क्यान्सर उपचारमा नेपाली किन बाहिर ?

क्यान्सर रोगको उपचारमा नेपाल सक्षम र सवल भइसकेको दाबी नेपाली चिकित्सकले गर्दै आएका छन्। यो उपचार लक्षित निजी क्षेत्रअन्तर्गत अस्पताल खोल्ने क्रम बढ्दो छ।

निजी क्षेत्रले ८० प्रतिशत क्यान्सरको जाँच र उपचार नेपालमै सम्भव भएको दावी गर्दै आएको छ। केही तथ्य सकरात्मक छन्। रक्त क्यान्सरको उपचारका लागि ‘बोनम्यारो’ प्रत्यारोपणको सेवा सरकारी अस्पतालमै सुरु भएको भएको छ।

र, स्वदेशकै उपचारले क्यान्सर रोगमाथि जित हासिल गर्नेहरु नभेटिएका पनि होइनन्। तर पनि यो रोगको उपचारका लागि भारतदेखि, बैंकक, सिंगापुर र अमेरिका धाउनेहरुको संख्यामा कमी आएको देखिँदैन।

विदेशमा उपचारका क्रममा जीवनभरको कमाई मात्र नभई पूरै जायजेथानै गुमाउनेको संख्यात्मक ग्राफ क्रमशः उकालो लाग्दो छ । एक तथ्याङ्क अनुसार मुलुकमा १० हजार क्यान्सरका बिरामी दर्ता छन्।

त्यति नै संख्याको हाराहारीमा क्यान्सरका बिरामी दर्ताबिहिन अवस्थामा छन् । दर्ता नभएका क्यान्सर रोगीहरुमध्ये अधिकांशले विदेसमा उपचार गराउने गराइरहेको दाबी चिकित्सकहरुको छ।

देशभित्रै उपचार सम्भव हुँदा हुँदै पनि आखिर किन बिरामी विदेश धाउने क्रम जारी त ? अनि विदेशमा उपचारको क्रममा बिरामीको अनुभव कस्तो छ त ? त्यसको केही तस्बिर यहाँ प्रस्तुती गरिएको छ ।

उपचारमा लुकेको पुरञ्जन शाहको कथा

पुरञ्जन शाह

केही दिन अघि भक्तपुरस्थित क्यान्सर अस्पतालमा बिरामीका भिडमा रिर्पोटहरुले भरिएको झोलासहित भेटिए, पुरञ्जन शाह। मनको निराशा उनको हँसिलो अनुहारभित्र लुकेको छ। जीवनबारे भिन्न सपना बुन्दै गरेको ११ कक्षामा अध्ययनरत धादिङ त्रिपुरासुन्दरीका १७ वर्षिय शाह।

करिब तीन वर्षअघि छातीमा सानो गिर्खा महशुस गरेपछि आत्तिदै नेपाल मेडिकल कलेज जोरपाटी आइपुगे उनी। उनलाई भर्ना गरेर एक्सरे, सिटी स्क्यान र एमआरआई गरियो । छातीमा दाग देखियो, त्यो पनि हाडमै टाँसिएको। चिकित्सकले दागको ‘डाइग्नोस’ र उपचार आफ्नो अस्पतालमा संभव नभएको बताए ।

शाहले उपचार कहाँ संभव छ भन्ने स्पष्ट जानकारी समेत पाएनन्। चिकित्सकको जवाफ रुखो लाग्यो उनलाई । त्यसैले धेरै कुरा सोधेनन्।

तर विकल्प खोजी नै रहे । आफन्तको सल्लाहमा उनी बीर अस्पताल पुगे । ‘सिनियर’ चिकित्सकलाई भेट्न मौका पाएनन् । तर ‘जुनियर’ बाट पनि स्पष्ट सल्लाह पाउन सकेनन्। जाँचका लागि समय धेरै लाग्ने भनियो, कुर्न सक्ने अवस्था थिएन ।

दुखाई बढ्दै थियो र त्यही अनुपातमा नकारात्मक सोच पनि हाबी हुँदै थियो। शिक्षण अस्पतालको अवस्था पनि बीर भन्दा भिन्न थिएन। अन्ततः उनको पाइला निजीतर्फ मोडियो। र, बुद्धनगरस्थित ह्याम्स उनको गन्तव्य बन्यो।

त्यहाँ उनको सिटीस्यान गरियो तर, रिर्पोट धमिलो आयो भनियो। ग्रान्डी अस्पताल पुगे । तीन दिनपछि ‘बायोस्पी’ रिर्पोटले त्यो दाग क्यान्सर भएको पुष्टि गर्‍यो। तर चिकित्सकले क्यान्सर भनेर मुख खोलेनन्।

उनीहरुले पुरन्जनलाई कुनै एउटा रोग भने । त्यसपछि उनी हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगे। हरिसिद्धिले ग्राण्डीबाट ‘बायोस्पी’ को ‘स्लाइड’ मगाएर भारत पठायो। सिटी, एक्सरे लगायतका जाँच फेरि ग¥यो। हरिसिद्धि पुगुञ्जेल उनले करिव एक लाख रुपैयाँ खर्च गरेका थिए तर रोगको स्पष्ट जानकारी पाएका थिएनन्।

भारतबाट रिर्पोट आयो । र, किमोथेरापी सुरु गरेपछि बल्ल उनले आफूलाई क्यान्सर भएको पत्तो पाए। सुरुमा तीन ‘साइकल’ लिएपछि गरिएको ‘एक्सरे’मा फोक्सोमा पानी जमेको देखियो ।

चिकित्सकले किमोथेरापीकै ‘साइड ईफेक्ट’ भएको र त्यसको उपचार आफूहरुले गर्ने बताए। उनी किमोथेरापीका बेला के गर्न हुन्छ के गर्न हुन्न भन्नेबारे जानकार थिएनन्। पुरञ्जनले सोधे, ‘एउटा रोग निवारण गर्न आएको म अर्को रोग बोकेर कसरी जाउँ?’ चिकित्सकले उनको फोक्सोबाट पानी निकाले । त्यसको जाँचका लागि २४ हजार तिरे ।

त्यसअघि एक ‘कोर्ष’ किमो र अस्पताल भर्ना शुल्कमै ३ लाख भन्दा बढी बुझाइसकेको उनको दाबी छ। पाँच–पाँच दिनमा रगत जाँच गर्नु पर्ने अर्को बाध्यता थियो उनका सामु । किमोको चौथो साइकल लिँदा पुरञ्जनले चिकित्सकलाई सोधे, ‘पहिले भन्दा धेरै गाह्रो भयो किन?’ चिकित्सकको जवाफ थियो, ‘कमजोरीले हो । तपाईँले सन्तुलित खान र सरसफाईमा विशेष ध्यान दिनुहोस संक्रमणबाट जोगिन ।’

उपचारका लागि पैसा जुटाउनु उनको प्रथामिकता थियो । सन्तुलित खाना, आराम, व्यायम वा सरसफाई त्यसपछिका चिन्ता बने । पाँचौ किमोको तयारी गर्दा उनको रगत ‘काउन्ट’ मा धेरै कमी आयो । करिब तीन हजारको एउटा ‘इन्जेक्सन’ २४ घण्टाको फरकमा लगाए सातादिनसम्म । रगत काउन्ट बढेपछि किमो चढाए । चिकित्सकले भने ‘शल्यक्रिया नगरी तिम्रो घाउ निको भने अब घर जाउ।’

पुर्नजीवन पाएको अनुभव गर्दै उनी गाउँ फर्किए, आफन्त र छिमकी पनि दंग परे । तीन महिनामा ‘फलोअप’ मा पनि आए। तर करिब ९ महिनामा नेपाली सेनामा भर्ति हुन गएका उनी स्वास्थ्य जाँचका क्रममा फालिए, छातीको एक्सरेले फेरि त्यही दाग देखायो । क्यान्सर पुरानै हो या नयाँ ठाउँमा फैलिएको भन्ने निधो पाउन सकेनन् र फेरि जोरपाटी हुँदै हरिसिद्धि पुगेर सिटीस्क्यान दोहोराउनु प¥यो उनलाई। चिकित्सकले भने, ‘क्यान्सर फर्किएको छ ।’

किमो दोहोराइयो तीन पटक। नतिजा राम्रो आएन। चिकित्सकले मुटु र फोक्सोको नजिक क्यान्सर देखिएको र त्यसको शल्यक्रिया जटिल भएको अनि शल्यक्रियाको सफलताको ग्यारेन्टी दिन नसक्ने बताए । ‘म निकै डराएँ,’ पुरञ्जनले सम्झिए, ‘विकल्पमा फेरी चार ‘साइकल’ किमो लिए । दाग घटेन ।’

अन्तत दिल्ली गए उनी केही ऋण आफन्तबाट लिएर । केही खेतबारी धितो पनि राखेर। नेपालका सबै रिपोर्ट हेरिसकेपछि दिल्लीको सर्वोदय अस्पतालका चिकित्सकले उनलाई सबैभन्दा पहिले ‘होल पेट सिटी’ गराए।

र भने,‘ तपाईको छातीमा वंशाणुगत क्यान्सर छ । उपचारका लागि शल्यक्रिया, किमो र रेडियोथेरापी पनि गर्नु पर्छ । उपचारको अनुमानित करिव २५ पर्थ्यो । ९ महिना बस्नु पर्ने भयो उनलाई । उनको बुवाको निदार खुम्चियो, पैसा जुटाउने कुनै माध्यम थिएन । उनको करिव २५ लाख खर्च भइसकेको थियो।

रित्तै नेपाल फर्किए पुरञ्जन। दिल्लीका चिकित्सकले उनको क्यान्सर दोस्रो ‘स्टेज’ मा रहेको र उपचार गरे निको हुने बताएका थिए। त्यसले उनलाई फेरि झस्कायो र विकल्पको रुपमा भक्तपुरस्थित क्यान्सर अस्पताल रोजे ।

तर शल्यक्रिया र किमोको निधो पाउन सकेनन् र रेडियोथेरापीका लागि तीन महिना पर्खनु पर्ने चिकित्सकले बताए। तर तीनै चिकित्सकले बाहिर आफ्नो क्लिनिक भएको र त्यहाँ रेडियोथेरापी डेढ लाखमा केही दिनभित्रै आश्वासन दिए। यो विन्दुमा पुग्दा उनले आफुसँग मुत्युको विकल्प नरहेको ठानेका छन्।

शायद सुरुमै भक्तपुर क्यान्सर अस्पतालकै चिकित्सकहरुले बाँकी जाँच र उपचार कहाँ गराउने भन्ने स्पष्ट जानकारी दिएको भए उनको शरीर र आर्थिक अवस्था यति जीर्ण हुने थिएन।

चिकित्सकले उचित ठाउँमा रिफर नगर्ने प्रवृति


आफु विज्ञ नभए पनि सबै रोगको उपचार गर्न सक्छु भन्ने प्रवृति केही नेपाली चिकित्सकहरुमा छ। आफूले नसक्ने रोगको उपचारका लागि बिरामीलाई अन्य चिकित्सक वा अस्पताल मा पठाउने प्रवृति चिकित्सकहरुमा छुट्टै छैन ।

पुरञ्जनले पहिलो पटकनै त्यो समस्या भोगे । र उनी एक्ला छैनन् त्यस्तो समूहमा ‘क्यान्सरबाट ग्रस्त धेरै बिरामी १० ठाउँमा धाएर अन्तिम अवस्थामा मात्रै सम्बन्धीत विशेषज्ञकहाँ आइपुग्छन् तर धेरै ढिलो । सरकारीबाट निजी अस्पतालमा ‘रिफर’ गर्ने प्रवृति धेरै छ । तर निजीबाट जतिसुकै राम्रो र उपयुक्त भएपनि सरकारी अस्पतालमा ‘रिफर’ गर्ने चलन छै न। अक्सरी बिरामीको मुखबाट सुनिन्छ,‘ पैसा सकिएपछि सरकारी अस्पताल पठाइयो मलाई ।’

पुरञ्जनको गुनासो छ, ‘म गाउँको मान्छे । कुन डाक्टरलाई कहाँ भेट्ने थाहा थिएन । सिधै क्यान्सरको डाक्टरकहाँ जाउ भनिदिएको भए मेरो बाँच्ने रहर पूरा हुन्थ्यो कि।’

सरकारी अस्पालका एक क्यान्सर रोग विशेषज्ञ भन्छन्,‘ बिरामी धेरै ठाउँमा धाएर पैसा पनि सकेर अनि रोग पनि जटिल बनाएर मात्रै हामीकहाँ आपुगेका हुन्छन् । त्यो बेला हामीले सहयोग गर्ने संभावना कम मात्रै हुन्छ।

सरकारी संयन्त्र सबैभन्दा कमजोर


बिरामीको भोगेबाट एउटा निष्कर्ष निकाल्न सकिन्छः सरकारी अस्पालको कमजोर र सुस्त सेवा मुख्य कारक बिदेसिनुमा। त्यसो त क्यान्सर रोग लागेपछि आर्थिक हैसियत बलियो हुनेपनि एकपटक सरकारी अस्पताल पुग्ने गर्छन। र, तुरुन्तै विदेस हानिन्छन् । तर विपन्नहरुले भने धाउँदा धाउँदा प्राण नै त्याग गर्नु पर्ने स्थिति निम्तिन्छ।

क्यान्सरको उपचार सरकारी तहमा वीर र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मात्रै हुन्छ । चिकित्सकका अनुसार क्यान्सर उपचारका लागि शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी तीनवटै उपचार विधि महत्वपूर्ण मानिन्छन्।

तर यी तीनैवटा उपचार निजीमा अत्यन्तै मंहगो छ । यस्तै सामुदायिक भए पनि सरकारी अस्पतालको तुलनामा भक्तपुर क्यान्सर अस्पतालको उपचार महँगो छ । पालो पाउन कम्तिमा तिन महिना पर्खनु पर्ने अत्यास लाग्दो अवस्था छ ।

वीरले ४० रुपैयाँको ओपीडी टिकेटमा जाँचेर पाँच हजारमा रेडियोथेरापी दिँदै आएको थियो कुनै बेला बिरामीलाई । त्यो सेवा ठप्प भएपछि त्यहाँका प्राय चिकित्सकले बिरामीलाई भक्तपुर या भरतपुर पठाउँदै आएका छन् । जहाँ लामो प्रतिक्षा सूचि हुने गर्छ ।

लामो प्रतिपक्षाको विकल्पका रुपमा मुलुकका निजी अस्पताल या दिल्ली उनीहरुको विकल्प हुने गर्छ । स्वाभाविकरुपमा अन्तत नजिकको तीर्थ हेलाँहको बन्ने गर्छ।

मुख्य दोषी वीर


वीर अस्पतालले सबैभन्दा पहिले क्यान्सरको उपचार थालेको थियो । तर अस्पतालभित्रको राजनीति र कमिसनको चक्करले यहाँको उपचार सबैभन्दा कमजोर छ। अस्पतालले जिन, क्रोमोजम लगायतका ‘डाइग्नोष्टिक टेस्ट’ लागि बिरामी बाहिर पठाउँछ, कतिपय ‘स्याम्पल’ पनि ।

शल्यक्रियाका लागि छुट्टै सर्जन र विभाग छैनन्। किमोका लागि बिरामीले प्रतीक्षा गर्नु पर्छ। रेडियोथेरापी सेवा ठप्प भएको तीन वर्ष बित्यो। पुरानो रेडियोथेरापी मेसिनको साटो नयाँ किन्ने प्रक्रिया थालिएको झण्डै पाँच वर्षसम्म पनि निश्चित हुन सकेको छैन।

अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतकाअनुसार नयाँ रेडियोथेरापी मेसिन ल्याउने र बिग्रिएको कोबाल्ट ६० रेडियोथेरापी मेसिनलाई लैजाने सम्झौता सम्बन्धीत कम्पनी ‘एकुरे’ सँग भए पनि कार्यान्वयन हुन सकेन।

फलतः करोडौको लागतमा तीन वर्ष खर्चिएर आएको नयाँ मेसिन राख्ने ठाउँ छैन। उक्त मेसिन खरिदका बेला अस्पतालका केही चिकित्सकबाटै समेत चलखेल भएपछि खरिद प्रक्रिया लम्बिएको थियो।

उक्त मेसिनलाई हाल अस्पतालको बाहिर सुरक्षाको घेरामा राखिएको छ। मेसिन सञ्चालनमा आएमा भए रेडियोथेरापीको एउटा ‘कोर्ष’ पूरा गरेको पाँच हजार रुपैयाँमा उपलब्ध हुन सक्छ। रेडियोथेरापीका लागि विरामीहरुले भक्तपुरमा ३५ हजार देखि चालिस हजार र निजी अस्पतालमा साढे दुई लाखसम्म तिर्नुपर्ने बाध्यता अहिले छ।

वीरमा उक्त सेवा नहुँदा भक्तपुरमा बिरामी चाप पनि बढ्दो छ। त्यसैले उनीहरुले निजीमा एक पटकका लागि डेढ लाख रुपैयाँ खर्च गरे भोलिपल्टै रेडियोथेरापी गर्न पाउने शर्त अघि सार्ने गरेका छन् । पुरन्जनसँग पनि त्यस्तै विकल्प छ । तर उनी अर्को निर्णयमा पुग्न सकेका छैनन्।

कमसेकम रेडियोथेरापी सेपा निःशुल्क उपलब्ध गराउनु पर्ने कति विज्ञहरुको धारणा छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डा. विष्णुदत्त पौडेल भन्छन्, ‘सरकारी सेवा चुस्त र स्तरीय नबनाएसम्म उपचारका लागि बिरामी बाहिर गए भन्नुलाई आश्चर्य मान्नु पर्दैन। गइरहेका छन् र जानेछन् ।’

स्वास्थ्य मन्त्रालयको क्यान्सर कोषका सदस्य समेत रहेका डा. पौडेलले वीर अस्पताल सबै क्यान्सरको निदान र उपचार गर्न सक्षम रहेको भन्दै तत्कालै सरकारी स्रोतबाटै ‘बृहत क्यान्सर उपचार केन्द्र’ बनाउन सकिने प्रस्ताव प्रधानमन्त्री केपी ओली समक्ष आफूले राखेको बताए ।

सरकारले सूर्तीजन्य उत्पादनमा लगाएको करबाट क्यान्सर कोषमा वर्षेनी करोडौँ रुपैयाँ जम्मा हुँदै आएको छ । तर, त्यो कोषलाई प्रभावकारी रुपमा परिचालन गर्ने सम्बन्धमा सरकारले कुनै प्रष्ट कार्ययोजना ल्याउन सकेको छैन ।

कोषको केही रकम अनुदानमा खर्च हुने गरेको छ । तर सरकार गम्भीर र सकारात्मक भएमा त्यही आम्दानीबाटै उक्त केन्द्र सन्चालन गर्न सकिने वरिष्ठ चिकित्सकहरुले दाबी गर्दै आएका छन् ।

खरिदको जालोमा पेटक्यान मेसिन

वीर अस्पतालका न्यूक्लिअर मेडिसिन विशेषज्ञ डा. सागर महर्जन

क्यान्सर उपचारका लागि नेपाली विदेश जानुमा ‘पेट स्क्यान’ नहुनु अर्को कारण हो । एकातिर सरकारले आफै पेटस्क्यान सेवा दिन नसक्ने र अर्कोतर्फ निजीले सुुरु गरेको उक्त सेवा अत्यन्त मँहगो हुँदा बिरामीले सस्तो विकल्पका रुपमा विदेसको उपचार छनौट गर्ने गरेका छन् ।

चिकित्सका अनुसार पेटस्क्यानले क्यान्सरको उपचार कति प्रभावकारी भइरहेको छ भन्ने पत्ता लगाउँछ र त्यसका आधारमा चिकित्सक तथा बिरामी उपचार प्रक्रियालाई अघि बढाउँछन् । पुरन्जनको क्यान्सर एघार पटकसम्म केमो दिँदा पनि घटेको वा बढेको निधोमा पुग्न चिकित्सक नसक्नुका पछाडि शायद समयमा पेटस्क्यान नहुनु पनि कारण थियो ।

पुरन्जनलाई निजी क्षेत्रले सन्चालन गरेको पेटस्क्यान गर्न नसुझाइएको होइन । तर, सस्तो विकल्पको खोजीमा उनी भारत हानिए । त्यहाँ पुग्नासाथ सुरुमै पेटस्क्यान गराए । र, क्यान्सरका सबै उपचार शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापी गर्नुपर्ने निष्कर्ष त्यहाँका चिकित्सकले सुनाए ।

पुरन्जनजस्तै नेपालमा पेटस्क्यान सेवा महँगो ठानेर विदेश जानेहरुको संख्या बर्सेनि बढ्दो छ । यता कमिसन र अकमर्णयताका कारण पेटस्क्यान खरिद रोकिएको छ।

यस्तो छ, पेटस्क्यान खरिदको गोलचक्कर


२०७० सालमा राष्ट्रपति रामवरण यादवले ७३ लाख सरकारी रकम लिएर जापान पुगी आफ्ना्े ‘पेटस्क्यान’ गरे। त्यसको विरोध थामिनसक्नु भएपछि सरकार आफैले ‘पेटस्क्यान’ र त्यसका लागि चाहिने औषधि उत्पादन गर्ने मेसिन (मिनीसाइक्लोट्रोन) खरिद गर्ने घोषणा गर्‍यो बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि ।


अस्पतालले पनि तत्कालै अर्थात २०७० साल पुस १० गते विज्ञहरुसहितको छलफल डाक्यो र २९ गते ४० करोड ५० लाखमा ती दुई मेसिन खरिद र सञ्चालनका लागि बंकर निर्माण गर्न सकिने निर्णयसहितको प्रतिवेदन मन्त्रालयलाई बुझायो।

मेसिन खरिदका लागि मन्त्रालयका विशेषज्ञ डा. पदमबहादुर चन्दको संयोजकत्वमा एक उपसमिति पनि बन्यो। मन्त्रालयले आर्थिक वर्ष २०७१–७२ देखि लगातार तीन वर्ष उक्त मेसिन खरिदका लागि बजेट छुट्यायो । ‘ग्लोबल टेन्डर’ भयो । तर अस्पतालको सञ्चालक समितिले टेन्डर स्वीकृत गर्नु अगावै तत्कालीन स्वाथ्यमन्त्री खगराज अधिकारीले उक्त प्रक्रिया अघि नबढाउन निर्देशन दिएका थिए।

त्यसपछि टेन्डर प्रक्रियामा सहभागि सर्वोच्चमा पुगे। अघिल्लो वर्ष मुद्दाको फैसला पनि भयो । बजेट छुट्याउने क्रम जारी नै थियो तर चालु आर्थिक वर्षमा स्वाथ्य मन्त्रालयले अस्पतालले मेसिन खरिद गर्न नसकेको भन्दै त्यसमा हस्तक्षप गरि बजेट दिन छोड्यो।

बजेटमा मन्त्रालयको अनुगमन मूल्याकंन तथा योजना सुदृढीकरण कार्यक्रमअन्तर्गत पेटस्क्यान मेसिन खरिद गर्ने तथा तिनकुनेमा आधुनिक स्वास्थ्य प्रयोगशाला र मिर्गौला उपचार केन्द्र स्थापना शीर्षकमा ४३ करोड रुपैयाँ बिनियोजन गर्ने नयाँ निर्णय लियो। स्वास्थ्य सचिव डा. पुष्पा चौधरी पेटस्क्यान र त्यसका लागि चाहिने औषधि उत्पादन गर्ने मेसिन खरिदका लागि गृहकार्यमा मन्त्रालय लागेको दाबी गर्छिन्।

निजीको आफ्नै दाबी


राजधानीमा सञ्चालित दुई निजी संस्था कुण्डलीनी र सौर्य डाईग्नोसिसले पेटस्क्यान मेसिन केही वर्षदेखि सन्चालनमा ल्याएका छन । एकपटक उक्त सेवा लिँदा बिरामीहरुले करिब ५५ हजार तिर्नुपर्छ । यहाँ त्यो रकम मंहगो भएको भन्दै बिरामी दिल्ली धाउँछन् ।

वीर अस्पतालका न्यूक्लिअर मेडिसिन विशेषज्ञ डा. सागर महर्जन अनुसार नेपालमा सुरु भएको पेटस्क्यान सेवामा प्रयोग गरिने औषधि साइक्लोटेन मेसिनबाट उत्पादन गरिन्छ । यो उत्पादन भएलगत्तै विकिरण निस्कन थाल्छ । जुन करिब दुई घन्टामा आधा हुन्छ । त्यसकारण उक्त औषधि भारतबाट ल्याउँदा निकै महँगो पर्छ । त्यसकारण नेपालमा पेटस्क्यान सेवा महँगो पर्न गएको महर्जनको तर्क छ । उनले कुण्डलीनीमा ‘पार्ट टाइम’ ‘पेटेस्क्यान’ चलाउँदै आएका छन्।

पेटस्क्यानका लागि आवश्यक औषधी नेपालमै उत्पादन गर्न सकिने र त्यो सरकारले गर्न सके निजी क्षेत्रले समेत सस्तोमा पेट स्क्यान सेवा दिन सक्ने महर्जनको सुझाव छ ।

महर्जन भन्छन, ‘सरकारले आफैले पेटस्क्यान र औषधि उत्पादन गर्ने मिनी साइक्लोट्रोन मेसिन खरिद गरेरर औषधी निजीलाई वितरण गर्न सक्यो भने सेवा सस्तो हुनेछ र त्यसका लागि बिरामीहरु विदेसीनु पर्दैन ।’ पेटस्क्यान प्रदेशका अस्पतालमा स्थापना गरी केन्द्रिय अस्पतालले सहजै वितरण गर्न सक्ने उनी बताउँछन् । त्यसका लागि जनशक्ति पनि नेपालमै भएको उनको दाबी छ ।

हरिसिद्धिमा पनि करिब ८० प्रतिशत उपचार संभव भएको त्यहाँका चिकित्सकले दाबी गर्छन्। हरिसिद्धि अध्यक्ष डा. सुदिप श्रेष्ठले भने आफूहरु भारतमा भन्दा सस्तो मूल्यमा सबै उपचार सेवा प्रदान गरेको बताउँछन् ।

उनी भन्छन्,‘ मेसिनलाई चाहिने सबै कुरा भारतबाट ल्याएर पनि हामीले संसारकै सस्तो मूल्यमा सेवा दिइरहेका छौँ । नेपालका बिरामीले सरकारी सहुलियतमा पाउने सेवा तुलना गर्दा मात्र हामीकहाँ आउँदा उहाँहरुलाई मंहगो लाग्ने हो । भारतमा सस्तो भनेर जानेहरुले त्यो भोगिसक्नु भएको छ ।’

उच्चपदस्थहरुले बसालेको गलत नजिर


विशिष्ट व्यक्तिहरुले उपचारका लागि सरकारबाट सहुलियत पाउँछन् । सरकारले पैसा दिने भएपछि ठूलै देश, ठूलै सहर र ठुलै अस्पताल पुगेर उपचार गराउने उनीहरुको मानसिकता छ। त्यतिमात्र होइन कतिपय पूर्वमन्त्री र सांसदहरुले सरकारी खर्च लिएर विदेश नै उपचार गरेका छन् ।

यो प्रवृत्तिका कारण आम सर्वसाधारणमा नेपालमा क्यान्सर लगायतका गम्भीर रोगको उपचार छैन भन्ने सन्देश प्रवाह भएको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको रगतको क्यान्सर उपचार गर्न नेपालनै सक्षम थियो । तर उनले पनि सरकारी रकममा भारत पुगेर उपचार गराइन् ।

डा. पौडेल भन्छन्, ‘धेरै प्रकारका क्यान्सरको उपचार नेपालमै हुन्छ । हामी तपाईको उपचार गर्न सक्षम छौ भन्दाभन्दै पनि बिरामीहरु सहुलियत पाइएको छ एकपटक बाहिर गएर आउँन त भन्दै जानुहुन्छ । हामीले रोक्न मिल्दैन।’ समाजमा विशिष्ट छवी बनाएका व्यक्तिहरुले पनि नेपालको स्वास्थ्य सेवाप्रति अविश्वास गर्ने प्रवृत्तिले सामान्य नागरिकलाई पनि विदेश जान प्रेरित गर्ने गरेको उनको भनाई छ ।

आफ्नो नाम नभन्ने सर्तमा एक चिकित्सक भन्छन्,‘ नेताहरु सबै बाहिर जान खोज्छन् उपचारका लागि । नेपालको सरकारी स्वास्थ्य सेवा बलियो बनाउने भाषण मात्रै हो उनीहरुको ।’

कमिसनको चक्करमा डाक्टर


नेपालमै उपचार संभव भएका क्यान्सरका बिरामीलाई कतिपय चिकित्सक र अस्पतालले कमिसनका लागि बाहिर भारत पठाउने गरेका छन्। यसबारेमा खासगरी केही निजी चिकित्सक र अस्पतालले भारतका विभिन्न अस्पतालसँगको सहकार्यमा कमिसनका लागि नेपालबाट बिरामी पठाउने गरेका छन् ।

त्यसको मारमा क्यान्सरका बिरामी धेरै परेका छन्। एकजना वरिष्ठ चिकित्सक भन्छन्, ‘कमिसनको कुरा गर्यो भने भुईचालो आउँछ । त्यसैले म यसबारे बोल्नै चाहन्न ।’ तर चिकित्सकले कमिसनका लागि आफूलाई भारत पठाएको भन्ने पत्तो भने बिरामीले पाउने गरेको छैनन्। नत भारतमा आफू उपचारका नाममा ‘लुटिएको’ नै थाहा पाउँछन् ।

नेपालकै अस्पताल र चिकित्सकले कमिसनका लागि भारतका विभिन्न अस्पताल पठाउने गरेको गुनासो बढेपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले परराष्ट्रमन्त्रालयलाई काठमाडौँमा रहेका भारतीय अस्पतालका सम्पर्क कार्यलय र त्यस्तो सिफारिस गर्ने निजी क्षेत्रका चिकित्सकमाथि अनुसन्धान गर्न तथा आवश्यक कारवाही गर्न पत्राचार गरेको थियो।

एक लाखको निःशुल्क सेवामा विभेद


सरकारले केही वर्षयता क्यान्सरको उपचारका लागि विपन्नलाई एक लाख बराबरको उपचार सेवा निःशुल्क प्रदान गर्दै आएको छ । तर, त्यही सेवा लिन पनि विपन्नलाई हम्मेहम्मे पर्छ । कतिपयलाई जानकारी समेत छैन ।

त्यसमाथि केही चिकित्सकले अस्पतालभित्रको सामान्य एक्सरे लगायतको सेवा मात्रै निःशुल्कमा पार्ने र केमोथेरापीका लागि आवश्यक पर्ने औषधि बाहिर किन्न पठाएर कमिसन खाने गरेको गुनासो समेत हुँदै आएको छ । यही अविश्वासले पनि बिरामीहरु विदेशिने गरेको स्वयं चिकित्सकहरु समेत स्वीर्काछन् ।

करिब तीन वर्षअघि स्वास्थ्यमन्त्री गगन थापाका पालामा सरकारले ल्याएको निःशुल्क सेवालाई प्रभावकारी बनाउन लामो अध्ययनपछि बनाइएको एउटा प्रोटोकलमा क्यान्सरको चरण र बिरामीको उमेर हेरेर सरकारले निःशुल्क सेवा उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । यो प्रस्ताव कार्यान्वयन भएको भए पुरञ्जनजस्ता बिरामी पर्यटकीय रोगी बन्नु पर्थेन ।

प्रोर्टोकल निर्माणमा सहभागि वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाई भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका बिरामी हुन्छन् । तर उनीहरुको उपचार सम्भव भएका क्यान्सरको उपचार गर्न सक्षम नहुँदा पनि समस्या भएको छ । त्यसमा सरकारले सहयोग गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।’

एकातर्फ सरकारको निःशुल्क सेवा प्रभावकारी हुन सकेको छैन भने अर्कोतर्फ रोग नियन्त्रणका लागि ल्याइएको कानुनको कार्यान्वयन पनि फितलो छ । सरकारले क्यान्सर लगायतका रोग नियन्त्रणका लागि सूर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धी ऐन ल्याएको थियो ।

तर त्यो ऐन स्वास्थ्य मन्त्रालय वा वीर अस्पतालको ढोकै अगाडि समेत कार्यान्वयन हुन सकेको छैन । मन्त्रालय र अस्पतालकै दैलोमा सूर्तिजन्य पदार्थको निर्वाधरुपमा हुँदै आएको कारोवारले राज्यको कानुन कार्यान्वयनको पक्ष कति निष्प्रभावी छ भन्ने पुष्टि हुन्छ ।

सामाजिक मनोविज्ञानको असर

मेडिकल अंकोलोजिष्ट डा. रोशन प्रजापती

क्यान्सर रोगीहरु उपचारका लागि विदेसिनुमा सामाजिक मनोविज्ञान पनि त्यत्तिकै दोषी देखिन्छ । एक साता अघि आफ्नी ५४ वर्षीय आमा डोमी शेर्पालाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल पुर्‍याइएकी सोलुखुम्बु खोरियाकी पेमा शर्मालाई अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रोशन प्रजापती भन्दै थिए, ‘तपाईँको आमालाई विदेश लग्न पर्दैन । यहाँ जे उपचार गरिन्छ त्यहाँ पनि त्यही हो अब । क्यान्सर चौथो स्टेजमा पुगिसकेको छ ।’

चिकित्सकका अनुसार डोमीको पेटमा देखिएको क्यान्सर कलेजोसम्म फैलिसकेको र त्यसले आन्द्रामा अवरोध पुगेर वान्ता हुने समस्या देखिएको छ । तर, पेमाको जवाफ थियो, ‘आमालाई एक पटक त जसरी पनि दिल्ली पुर्याउनु पर्छ हैन भने आफन्त र छिमेकीले कुरा काट्छन्।’

डा. प्रजापति भन्छन्, ‘सामाजिक मनोविज्ञानले गर्दा बाहिर लग्नै नपर्ने कतिपय बिरामीलाई अनाहकमा पैसा खर्च गरेर आफन्तले लगेका छन् । क्यान्सर अन्तिम चरणमा भए पनि मानिसलाई आफ्नो मान्छे बचाउने चाहना हुनु स्वभाविक पनि हो । तर निको नहुने क्यान्सरका लागि जहाँ लगेपनि उही अवस्था हो भन्ने बुझाउन गाह्रो छ ।’ कतिपय बिरामी सन्तुष्टीका लागि मात्रै पनि लाखाँै रुपैयाँ खर्च गर्न बाध्य छ ।

शेर्पाले बाध्यता पोख्दै भनिन्, ‘बाहिर नलग्दा पछुतो होला भनेर आफन्तले नै दबाब दिइरहेका छन्, जबकी यहाँको डाक्टरले स्पष्ट भनिसक्नु भयो यो क्यान्सरको उपचार जहाँ गए पनि एउटै हो अब । तर हामी बाध्य भएर आमालाई दिल्ली लग्दैछौँ । आमा पनि बाहिर जान चाहनुहुन्छ।’

शेर्पाले आमालाई लगेर त्यहाँका चिकित्सकलाई देखाउन मात्रै करिब ३ लाख खर्च हुने अनुमान गरेकी छन् ।