बल र व्याटसँग रमाउँदै छात्रा, बाँकेको गर्विलो इतिहास दोहोरिएला?

क्रिकेटको प्रशिक्षण लिँदै स्कूले छात्राहरु। तस्बिरहरु–कुमार श्रेष्ठ/देश सञ्चार

नेपालगञ्ज– २०६१ माघदेखि फागुन पहिलो सातासम्म बाँकेका विभिन्न स्कुलहरुमा छात्राहरुलाई क्रिकेट तालिम दिइयो। केहीलाई स्कुलमै त केहिलाई नजिकैको मैदानमा दिएको ‘तीन दिने तालिम’ले छात्राहरुले क्रिकेट खेल्न शुरु गरे।

नेपालमा छात्राले बल र व्याट छोएको यो पहिलो पटक थियो। एलबी क्षेत्री अध्यक्ष रहेको तत्कालिन क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ५ ले छात्रालाई पहिलो पटक बल र व्याट समात्ने अवसर दिएको थियो। फाल्गुन १५ देखि २२ गतेसम्म कोहलपुर र नेपालगञ्ज केन्द्रमा पहिलो पटक २९ विद्यालयका छात्राले क्रिकेट प्रतियोगितामा भाग लिएका थिए।

तीन दिने तालिमबाट बल र व्याट समाउन सिकेका बाँकेका सात जना छात्रा नेपालको पहिलो राष्ट्रिय टीममा परे। नेरी थापा पहिलो कप्तान बनिन्।

पहिलो पुस्ताका खेलाडी सीता रानामगर अहिले नेपाली राष्ट्रिय टीमको उपकप्तान छिन्। नेपालमै पहिलो पटक बल र व्याट छुने शौभाग्य पाएका केशरी चौधरी, ममता थापा, मनीषा रावल, विनु बुढामगर र तृष्णा सिंहले लामो समय राष्ट्रिय टीमबाट नेपालको प्रतिनिधित्व गरे।

यो बाँकेको महिला क्रिकेटको गर्विलो इतिहास हो। दुर्गाबहादुर थापा यो इतिहासका साक्षी मध्येका एक हुन्। सुरुमा उनी नेरी थापाका प्रशिक्षक थिए। थापा अहिले बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष छन्। पहिलो पुस्ताका दुई खेलाडी (नेरी र सीता) ले राष्ट्रिय टीममा बाँकेको प्रतिनिधित्व गरिरहँदा उनीहरु पछि के होला? अरु क्रिकेट प्रेमीलाई जस्तै थापालाई पनि चिन्ता लाग्नु स्वभाविकै हो।

अहिले २०६१ सालको जस्तो अवस्था छैन। त्यतिबेला पो बाँकेबाट छात्रा क्रिकेट शुरु भएको थियो र राष्ट्रिय टीमको आधा हिस्सा नै ओगटेका थिए। समय धेरै अगाडि बढिसकेको छ। हरेक जिल्लाबाट उत्कृष्ट खेलाडी निस्किरहेका छन्। यस्तो अवस्थामा राष्ट्रिय टीममा पर्ने खेलाडी उत्पादन गर्नु चुनौतीपूर्ण रहेको छ।

अध्यक्ष थापाले चुनौतीहरुसँग लडेर बाँकेमा फेरि एउटा सशक्त टीम बनाउन कम्मर कसेका छन्। यतिबेला नेपालगञ्जका तीन ठाउँमा छात्रालाई क्रिकेट तालिम दिने काम भइरहेको छ। मंगलप्रसाद मावि, वाटरपार्क र मुक्तिपुरको ज्वालाफिल्डमा किशोरीहरु बल र व्याटसँग खेलिरहेका छन्। बाँकेको गर्विलो इतिहास पढेका छात्राहरु उत्साहित हुँदै बल र व्याट समातेर मैदानमा ‘लडीबुडी’ गरिरहेका छन्।

थापाका अनुसार, तीन ठाउँमा गरेर सय जना छात्राले क्रिकेटको पाँच दिने आधारभूत तालिम लिइरहेका छन्। कोहलपुरको तेह्रविगाहमा यसप्रकारको तीन दिने आधारभूत तालिम भइसकेको छ। त्यहाँ पनि सय जना किशोरी उपस्थित भए। यसपछि खजुरामा यसप्रकारको आधारभूत तालिम दिने तयारी छ।

पाँच दिने तालिम समापनसँगै नेपालगञ्जका किशोरीहरु उपमेयर कपमा सहभागि हुनेछन्। संघले १४ वटा विद्यालयलाई सहभागी गराएर उपमेयर कप क्रिकेट गर्ने तयारी गरिसकेको छ। संघका अध्यक्ष थापाले उपमेयर कप खेलेपछि त्यहाँबाट ५० जना उत्कृष्ट खेलाडी छनौट गर्ने बताए।

कोहलपुरबाट पनि ५० जना खेलाडी तयार गरिदै छ। खजुरामा तालिम दिइसकेपछि त्यहाँबाट एउटा टीम बनाउने संघकोे रणनीति छ। नेपालगञ्ज र कोहलपुरमा २/२ र खजुरामा एउटा टीम तयार गरेपछि उनीहरुका बीचमा जिल्लामा प्रतिस्पर्धा गराइने छ।

यहि पाँच वटा टीमबाट बाँकेको एउटा सशक्त टीम तयार हुने थापाले बताए। टेनिस बलले क्रिकेट प्रशिक्षण लिएका छात्रालाई तत्कालै लेदरको बलले अभ्यास गराइने छ।

कुनै पनि खेलको विकास र बिस्तार गर्ने हो भने स्कूल स्तरमै प्रवेश गर्नु पर्छ। दोस्रो पुस्ताका खेलाडी उत्पादन नभइरहेको बाँकेमा यसप्रकारको रणनीतिले फेरि सशक्त टीम बन्ने आशा गरिएको छ। नेपाली क्रिकेटका पूर्वकप्तान एलबी क्षेत्रीले अहिले संघले भनेको जसरी छुट्टाछुट्टै टीम बनाएर आपसमा प्रतिस्पर्धा गराई जिल्लामा सशक्त टीम बनाउन सके त्यसले राष्ट्रिय टीममा प्रतिनिधित्व गर्न सक्ने आशा व्यक्त गरे।

नयाँ भिजनका साथ अगाडि आएका थापाले फेरि बाँकेमा एउटा सशक्त महिला क्रिकेट टीम तयार पारेर राष्ट्रिय टीममा प्रतिनिधित्व गराउन सक्लान्? उनको यो अभियानलाई सबैले चासोका साथ नियालिरहेका छन्।

फाल्गुन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्