नख्खु बम बिस्फोट

सडकपारी गाडि पार्क गरेर एनसेल मुख्यालयतिर पुग्दा गुरुङलाई बमले भेटिहाल्यो

सिमप्रसाद गुरुङको फेसबुकबाट।

काठमाडौँ– आधा रातमा धनकुमारी गुरुङ मोबाइलमा घण्टी बज्दा उनी झस्किइन्। कान्छो दाइको घरको नम्बर उनले चिनिनन्। आजभन्दा अगाडि कहिल्यै रातमा नबजेको फोन बज्दा आत्तिनु स्वाभाविक थियो।

उनको कान्छो दाइको कान्छी छोरीले खबर सुनाइन्, ‘ड्याडीलाई अस्पताल भर्ना गरिएको छ।’

‘किन?’

‘बम पड्केर घाइते हुनुभएको छ।’

धनकुमारी झस्किइन् तर दाइको छोरीलाई सान्त्वना दिँदै भनिन्, ‘नआत्तिनू सब ठीक हुन्छ।’

१२ बजेर ४८ मिनेट जाँदा धनकुमारीको फोन बजेको थियो, त्यसपछि बसको टिकट अनि काठमाडौँ जाने व्यवस्था मिलाउँदा मिलाउँदै तीन बज्यो।

धनकुमारी गुरुङ, सिमप्रसाद गुरुङकी बहिनी। तस्बिरहरु: देशसञ्चार

पोखरामा बस्ने बहिनी आफ्नो परिवारको अरु सदस्य सहित पोखरा लेखनाथ भन्ने ठाउँबाट काठमाडौँ आइन्। उनी मेडिसिटी हस्पिटल नख्खु आइपुग्दा ८ बजिसकेको थियो। लेखनाथबाट हिड्ने बेलामा ४८ वर्षे धनकुमारीलाई छोराले छ्वास्स सुनाए, ‘मामा रहेनन् रे।’

देशसञ्चारसँग कुरा गर्दै धनकुमारीले भनिन्, ‘सपना जस्तै भयो।’

उनका आँखाको कुनाबाट आँशु बगिरहेका थिए। बेलाबेलामा आफैले ओढेको पच्छ्यौरीले आँशु पुछ्दै थिइन्। शुक्रबार बेलुका साढे सात बजे नख्खुमा भएको बम बिस्फोटमा ज्यान गुमाउने सिंहप्रसाद गुरुङ उनका कान्छा दाजु थिए।

के भएको थियो शुक्रबार साँझ?

नख्खुको एनसेल कार्यलयको गेटमा प्रेसरकुकर बम पड्किदा नख्खु बस्ने लम्जुङका सिमप्रसाद गुरुङसँगै प्रतीक्षा खड्का घाइते भएका थिए। तीनजना मध्ये गम्भीर घाइते भएका गुरुङलाई अल्का अस्पताल, जावलाखेलमा लगिएको थियो। उनको दाहिने खुट्टाको गोलीगाँठो भन्दा तलको भाग नै थिएन। देब्रे खुट्टा कम्मरसँग जोडिएको भागमा ठूलो चोट लागेको थियो। रगत धेरै बगेको थियो।

उनलाई तत्काल ग्वार्कोको बिएण्बी अस्पताल लगिएको प्रहरीले जनाएको छ। बिएण्डबी अस्पतालमा उनको हड्डीको उपचारका लागि लगिएको थियो।

घाइते गुरुङको मुटुमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा लगिएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।

डा. अनिल आचार्य।

गुरुङको अपचारमा संलग्न नेपाल मेडिसिटी अस्पतालका कार्डियो भास्कुलर थेरापिक सर्जन डा. अनिल आचार्यका अनुसार ‘गुरुङलाई इमर्जेन्सीमा राखेर उपचार गरिएको हो। अस्पताल ल्याउँदा उनी होसमा थिएनन्, उनको ब्लड प्रेसर थिएन। उहाँको दाहिने खुट्टा घुँडामुनि चुँडिन लागेको थियो, देब्रे खुट्टाको मुख्य रक्तनलीमा चोट लागेर रगत धेरै नै बगेको थियो। हामीले ५ पल्ट सिपिआर गरेर मुटुको धड्कन फर्काउन खोज्यौँ। अपरेसन थिएटरमा लैजानुअगाडि नै उहाँको निधन भयो।’

को हुन् सिमप्रसाद गुरुङ?

बम बिस्फोटमा ज्यान गुमाउने गुरुङ अवकाशप्राप्त पूर्व सिंगापुर प्रहरी हुन्। उनको स्थायी घर लमजुङ हो। अहिले उनी नख्खुमा बस्दै आएका थिए। ४ दाजुभाइमा कान्छा गुरुङका छ जना दिदीबहिनी छन्। बिस्फोटनपछि उनका परिवार नख्खु आइपुगेका छन्।

सिमप्रसाद गुरुङको फेसबुकबाट

उनी नख्खुमा आफ्नो श्रीमती अनि छोरा र छोरीसँग बस्थे । उनको जेठी छोरी अहिले अष्ट्रेलियामा पढ्दै छिन्।

घटनास्थल

नख्खुको दुर्घटनास्थलमा शनिबार सुरक्षाकर्मी तैनाथ थिए। एनसेल कार्यालयको गेटसँगैको भित्ताका प्लास्टर बमका छर्राले उप्किएको थियो। सडकमा सानो खाल्डो परेको थियो। खम्बामा जोडिएका टेलिफोन, इन्टरनेटका तारहरु चुँडिएका थिए।

एनसेल कार्यालयको पारीपट्टिका ४ ओटा घर अनि वारिका केही घरका सिसा फुटेका थिए।

शनिबार गुरुङ आफ्नो गाउँघरको दाजुभाइसँग पिकनिक जाने योजनामा थिए। शुक्रबार साँझ साथीभाइसँग छुट्टिएका गुरुङ नख्खुमा एनसेल अफिसको पारिपट्टि गाडि पार्क गरेर बाटो काटेका थिए। पारि पुग्ने बित्तिकै दुर्घटना भयो र उनी आज यो संसारमा रहेनन्।

बम बिस्फोट भएको पारिपट्टि मोबाइल पसलका राजकुमार राई मोबाइलमा सिसा राख्दै थिए। ‘ड्वाङग आवाज आएपछि उनले ग्यासको सिलिण्डर पड्केको भन्ठाने। धुँवा धुलो बेस्सरी उडिरहेको भएर उनले एकछिन के भयो ठम्याउनै सकिन,’ राईले भने, ‘धुलो उड्न कम भएपछि मैले मानिस घाइते भएको देखेँ।’ उनले भ्यानमा घाइते हाल्दै गरेको देखेका थिए। बिस्फोटनपछि उनको मोबाइल पसलको सिसाको र्‍याक फुटेको छ।

नख्खुका मोबाइल पसलका राजकुमार राई।

दुर्घटना स्थलमा भएका दमन बोगटीले घाइते गुरुङलाई सहयोग माग्दै गरेको देखेका थिए। बिस्फोट भएको १० मिनेटपछि मात्र उनलाई अस्पताल लगिएको उनले बताए।

घटनाको छानबिन गर्न माग

ज्यान गुमाउने गुरुङ सिंगापुर पेन्सनिस्ट एसोसियसन्सका सदस्य हुन्। उनको मृत्यु कसले गराएको छानबिन हुनुपर्ने माग राख्दै एसोसियसनले पाँच टोली सदस्य सहित समिति गठन गरेको छ। समितिको नेतृत्व भोगेन्द्र गुरुङले गर्दैछन्।

सिमप्रसादको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा लगिएको छ। तर हत्यारा चाँडै पत्ता नलगाए एनसेल कार्यालय अगाडि लाश राखेर आन्दोलन गर्ने घोषणा उनीहरुले गरेका छन्। एनसेल लक्षित बिस्फोटनमा सर्वसाधारणले ज्यान गुमाउनुको जिम्मा एनसेल वा सरकारले लिनुपर्ने उनीहरुको माग थियो।

गृहमन्त्री रामबहादुर थापाले अस्पताल भ्रमण गर्दै बिरामीको उपचार मृतकको क्षतिपूर्ति सरकारले व्यहोर्ने घोषणा गरेका छन्। बिस्फोटनमा घाइते भएका बिरामीलाई भेट्न गृहमन्त्रीसँगै सांसद पम्फा भूषाल, सांसद देव गुरुङ, प्रहरी प्रमुख सर्वेन्द्र खनाल अनि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन अस्पताल पुगेका थिए।

साथीसँग केही समय ‘भोलि भेट्ने’ भन्दै छुट्टिएका गुरुङको निधन सबैलाई ‘सपना जस्तै’ भयो।

 

फाल्गुन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्