लोकनृत्य प्रतियोगितामा मकालु बोर्डिङको ह्याट्रिक

सुनसरी–भानुकला केन्द्र विराटनगरद्वारा आयोजित प्रदेश नम्बर एकस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुलले ह्याट्रिक गरेको छ।

वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७५ औं जन्मजयन्तीको अवसरमा शनिबार बिराटनगरको वीरेन्द्रसभा गृहमा आयोजित प्रतियोगितामा मकालु स्कुलले सहभागि अन्य जिल्लाका विद्यालयलाई पराजित गर्दै यसपटक समेत उपाधि हात पारेको हो। माउण्ट मकालुले यसअघि लगातार दुईपटक उपाधि जितिसकेको छ।

त्यसैगरि, झापाको धुलाबारीस्थित होलीबेल सेकेण्डरी स्कुल द्वितीय भएको छ भने विराटनगरको मोडर्न एरा इङ्लिस स्कुल तृतीय स्थानमा सिमीत भएको छ। अनुशासनतर्फको उपाधि लर्डबुद्ध बोर्डिङ स्कुलले जितेको छ भने उत्कृष्ट प्रस्तुतिको उपाधि विकेभिएम बोर्डिङले जित्न सफल भयो।

मौलिकतातर्फ मोरङको खोर्सानेस्थित सिद्धार्थ बोर्डिङ र उत्कृष्ट भेषभुषाको पुरस्कार विराटनगरस्थित विद्या भूमि सेकेण्डरी बोर्डिङ स्कुलले प्राप्त गरेको छ। प्रतियोगितामा प्रदेश नम्बर एकका डेढ दर्जनभन्दा बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए।

विजेता विद्यालयहरूलाई राष्ट्रियसभाका सांसद खेम नेपाली, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक संस्थाकी अध्यक्ष माया पौडेललगायतले शिल्डसहित प्रमाणपत्र प्रदान गरेका थिए। भानुकला केन्द्रले विगत १३ वर्षदेखि प्रत्येकवर्ष जातीय लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ।

 

फाल्गुन ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्